Skip This
नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २६ सोमबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाइमा मोबिलिटी एक्स्पो आज सकिँदै

पाँच दिनमा करिब ९१ हजारले गरे अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार ११:२९:oo

काठमाडौंको भृकुटीमण्डपमा आयोजित सवारीसाधनको एक्स्पो ‘नाइमा मोबिलिटी’ आज सोमबार सकिँदै छ । पाँच दिनदेखि जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले सोमबार औपचारिक कार्यक्रमसहित बिट मार्दै छ ।

गत बुधबारदेखि भृकृटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’ आइतबारसम्म आयोजना हुने तय गरिएको थियो । तर, मोबिलिटी एक्स्पोमा अपेक्षा गरेभन्दा बढी दर्शक आएपछि प्रदर्शनी अवधि एक दिन थपिएको थियो । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले अवलोकनकर्ताको उपस्थिति बढेपछि एक्स्पो अवधि एक दिन थपेर सोमबारसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २६ साउनमा एक्स्पो सकिँदै छ । 

एक्स्पोको पाँचौँ दिनसम्म अवलोकनकर्ताको भिड बाक्लो देखिएको छ । विभिन्न किसिमका सवारीसाधन अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको आयोजकले जनाएको छ । आइतबार २२ हजार अवलोकनकर्ता एक्स्पोमा सहभागी भएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार पाँच सय, तेस्रो दिन १९ हजार पाँच सय र शनिबार २१ हजार पाँच सय अवलोकनकर्ताले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् । ४८ वटा स्टल रहेको एक्स्पोमा २१ वटा कार ब्रान्ड, १८ वटा दुईपांग्रे ब्रान्ड र आठवटा व्यावसायिक सवारी ब्रान्ड सहभागी छन् ।  एक्स्पोमा सवारीसाधनको बुकिङ तथा खरिदमा विभिन्न खालका छुट तथा सुविधाका योजना राखिएका छन् । प्रदर्शनीको टिकट खल्ती बाई आइएमईमा उपलब्ध छ । प्रदर्शनी अवलोकन गर्न चाहने विद्यार्थीलाई एक सय र सर्वसाधारणलाई दुई सय रुपैयाँ टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ ।