
अवैध सुनचाँदी कारोबारसँगै संलग्न व्यक्तिहरूको नियन्त्रणका लागि ‘अपरेसन एल्लो मेटल’ अभियान चलाएको प्रहरीले कास्कीमा एकपछि अर्को सफलता हात पारेको छ । केही दिनअघि एक करोड ३० लाख ४१ हजार रुपैयाँ मूल्यबराबरका अवैध सुनका गरगहनासहित नेपाली र भारतीय गरी दुईजनालाई पक्राउ गरेको प्रहरीले शुक्रबार ठुलो मात्रामा सुन र चाँदीसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले शनिबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरूबाट ५४९ तोला ४० लाल अर्थात् ६.४ किलो अवैध सुन र ४४४ तोला ७३.९ लाल चाँदी बरामद गरेको जानकारी दिए । शुक्रबारको मूल्यअनुसार सुन प्रतितोला एक लाख ९९ हजार नौ सयको दरले हिसाब गर्दा १० करोड ९८ लाख २५ हजार ६० रुपैयाँ र चाँदी प्रतितोला दुई हजार ३१५ रुयैयाँका दरले १० लाख २९ हजार ५७३ रुपैयाँ गरी ११ करोड आठ लाख ५४ हजार ६३३ रुपैयाँ हुन आउने ओलियाले बताए । उनीहरूका साथबाट पाँच लाख १४ हजार ६६५ रुपैयाँसमेत बरामद भएको छ ।
पोखरा महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ९ मा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्रहरीलाई केही समयअघिदेखि प्राप्त भएकोमा शुक्रबार ‘अपरेसन एल्लो मेटल’ अभियानअन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा १२ टोली खटिई सबैलाई एकै समयमा पक्राउ गरेको ओलियाको भनाइ छ ।
पक्राउ पर्नेमा पश्चिम बंगाल मेदनापुरका गोविन्दा दिन्डा, कोलकाताका तापस सामन्त, दीपक सामन्त, असित वर, मनिकलाल आदक, महाराष्ट्रका राजेन्द्र रामचन्द्र जगताप, पश्चिम बंगाल हुग्लीका सन्दीप ढाव, सोमनाथ पाल, कोककाताका उज्ज्वल भोमिक, महाराष्ट्र पुनेका सुनिता पवार र प्रोभास माझी छन् ।
गोविन्द दिन्डाबाट सुन २१० तोला ८९ लाल, प्रोभास माझीबाट ८८ तोला ३१ लाल सुन, असित वरबाट सुन ८६ तोला ८७.१ लाल, दीपक सामन्तबाट सुन ३८ तोला पाँच लाल, तापस सामन्तबाट सुन २४ तोला १५ लाल, सजय ढावबाट सुन १३ तोला ५८ लाल, राजेन्द्र रामचन्द्र जगतापबाट सुन ११ तोला २०.६ लाल, मनिकलाल आदकबाट सुन १३ तोला १७ लाल, सन्दीप ढावबाट सुन तीन तोला आठ लाल, सोमनाथ पालबाट सुन १२ तोला १२.७ लाल, उज्ज्वल भोमिकबाट सुन पाँच तोला ४६.९ लाल र सुनिता पवारबाट सुन दुई तोला ५० लाल प्रहरीले बरामद गरेको हो ।