
स्वामी दयानन्द सरस्वती समाजका कुरीति हटाउने अभियानका अभियन्ता थिए । उनी उतिखेरै सामाजिक भेदभाव मान्दैनथे । उनलाई कुन जात ठुलो, कुन जात सानो भन्ने चासो थिएन । उनी सबैलाई समान दृष्टिले हेर्ने गर्थे । उनका एक शिष्य नाई थिए । एकपटक तिनै शिष्यले स्वामी दयानन्दका लागि आफ्नोे घरबाट खाना लिएर आए । आफ्ना ती शिष्यले ल्याएको त्यो खाना स्वामी दयानन्दले बडो स्वाद मानेर खाए ।
उनका अर्का एकजना शिष्यले यो सब घटना हेरिरहेका थिए । उनलाई त्यसरी स्वामीजीले नाईको हातको खाना खाएको मन परेको थिएन । खानपिनपछि ती नाई शिष्य गइसकेपछि उनले स्वामी दयानन्दसँग गुनासो गरे । उनले भने, ‘स्वामीजी, तपाईले यो के गर्नुभएको ? तपाईंलाई कुन जात ठुलो, कुन जात सानो भन्ने पनि ज्ञान छैन ? कुन जातले छोएको खान हुन्छ र कुन जातले छोएको खान हुँदैन भन्ने पनि तपाईंले भेउ पाउनुभएको छैन ? हेर्नुस् त आज तपाईंले एउटा नाईको रोटी खानुभयो ।’
आफ्ना शिष्यका यस्ता अबुझ कुरा सुनेर स्वामी दयानन्द जोडजोडले हाँस्न थाले । त्यो देखेर ती शिष्यले भने, ‘स्वामीजी, क्षमा गर्नुस् । यदि मबाट कुनै धृष्टता भएको भए । तर, मैले त्यस्तो गलत केही बोलेको जस्तो त लाग्दैन ।’ स्वामी दयानन्दले भने, ‘वत्स, रोटी त गहुँको थियो, नाईको होइन । अनि गहुँको रोटी खान किन नहुने ?’ दयानन्दको जवाफ सुनेर ती शिष्य निरुत्तर भए ।