
तीनपटक फिफा विश्वकप जितिसकेको उत्तर कोरियासँग नेपालले आइतबार एएफसी यू–२० महिला एसिया कप छनोटमा प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’को खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथान रंगशालामा हुनेछ । यो खेलको विजेता टोली समूहको शीर्ष स्थानमा रहँदै अर्काे वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान पक्का गर्नेछ ।
यमप्रसाद गुरुङको प्रशिक्षणमा रहेको नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । नेपालले पछिल्लो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो । पहिलो खेलमा भने भुटानसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो । बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाल उत्तर कोरियालाई हराउन सके मात्रै थाइल्यान्डको टिकट काट्नेछ । यदि हारले भने नेपालको दोस्रो स्थानमा रहँदै थाइल्यान्ड पुग्ने योजना विफल बन्ने पक्का छ ।
समूह ‘ए’मा समान दुई खेलबाट उत्तर कोरियाले दुबै खेल जितेको छ । टोली ६ अंकसहित शीर्ष स्थानमा छ । अपराजित रहेको नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । एक अंक जोडेको भुटान र विनाअंक पुछारमा रहेको साउदी अरेबियाको सम्भावना सकिसकेको छ ।
नेपालका प्रशिक्षक गुरुङ उत्तर कोरियाविरुद्ध काउन्टर अट्याक रणनीतिका साथ मैदान उत्रने बताउँछन् । ‘उत्तर कोरिया निकै बलियो छ । हामी रक्षात्मक खेल्नेछौँ,’ गुरुङले भने, ‘हामी काउन्टर अट्याकमा ध्यान दिन्छौँ ।’ नेपाल दुवै खेलमा कमजोर मानिएका टोलीविरुद्ध स्वाभाविक लयमा देखिएन । त्यसैले पनि उत्तर कोरियाविरुद्ध प्रशिक्षक गुरुङ चिन्तित छन् । साफ यू–२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका पूर्णिमा राई र मीना देउवा पनि चल्न सकेनन् । मिडफिल्डरले स्वाभाविक खेल खेल्न सकेका छैनन् । लगातार कमजोर प्रदर्शनपछि समूहको उत्कृष्ट दुईमा रहँदै फाइनल चरणमा पुग्ने नेपालको सम्भावना निकै कमजोर बनेको थियो ।
प्रशिक्षक गुरुङले भनेझै उत्तर कोरियाले प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएको छ । पहिलो खेलमा साउदी अरेबियाविरुद्ध १५–० को जित निकाल्यो । दोस्रो खेलमा यही लय कायम राख्दै भुटानलाई १०–० ले हराएको हो । दुई खेलमा २५ गोल गर्दा हालसम्म कुनै गोल व्यहोरेको छैन ।
उत्तर कोरियाका लागि हो क्योङ, पाक ओके इ र काङ रु मिले ह्याट्रिक गोल गरिसकेका छन् । यता, फिफा वरीयतामा हेर्ने हो भने पनि नेपाल निकै कमजोर देखिन्छ । उत्तर कोरिया विश्वकै दसौँ स्थानमा छ । नेपाल १३ स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेको हो ।
पछिल्लो समय फिफाको अन्य प्रतिस्पर्धामा सहभागी नभएको उत्तर कोरिया यू–२० एसियन कपमा सहभागी भएको हो । साबिक विजेता उत्तर कोरिया योपटक पनि उपाधि जित्ने रणनीतिका साथ भुटान आएको हो ।