Skip This
कोशी प्रदेश सभाका ३२ महिना : दुई सांसद बोल्दै बोलेनन्, चारजना एकचोटि मात्र बोले
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Thursday, 07 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २० मंगलबार १o:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोशी प्रदेश सभाका ३२ महिना : दुई सांसद बोल्दै बोलेनन्, चारजना एकचोटि मात्र बोले

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १o:१९:oo

११ पुस ०७९ मा सुरु भएको कोशी प्रदेश सभाको दोस्रो कार्यकालको ३२ महिनामा यतिवेला सातौँ अधिवेशन सञ्चालन भइरहेको छ । १८ साउनसम्म सभाको १२१ बैठक सम्पन्न भइसकेका छन् । तर, जनताका लागि आवाज उठाउन निर्वाचित भएर आएका ९३ सांसदमध्ये दुईजना सांसद एकपटक पनि बोलेका छैनन् ।

३२ महिनाको अवधिमा कोशी प्रदेश सभामा एकपटक पनि नबोल्ने सांसदमा एमालेका नम्बरलाल धिमाल र कांग्रेसकी लीलाकुमारी राई छन् । शून्य समय, विशेष समय, सैद्धान्तिक र अन्य छलफलमा दुवैजना एकपटक पनि बोलेका छैनन् ।

प्रदेश सभामा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा सुधारका सुझावसहित प्रदेशका मुख्य समस्याबारे सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । अधिवेशनभरि एकपल्ट मात्र बोले सांसदमा मोरङ ५ (१) बाट निर्वाचित कांग्रेस सांसद अमृतकुमार अर्याल, मोरङ ६ (१)बाट निर्वाचित माओवादी सांसद जीवन आचार्य, मोरङ ३ (२)बाट निर्वाचित एमाले सांसद ज्ञानेन्द्र सुवेदी र मोरङ ३(१) बाट निर्वाचित कांग्रेस सांसद मानबहादुर लिम्बू छन् ।

झापाका कांग्रेस सांसद मोहन महर्जन, पूर्वसभामुखसमेत रहेका बाबुराम गौतम र सुनसरी १(२)का एमाले सांसद विजयकुमार राई तीनपटक बोलेका छन् । सोलुखुम्बुकी कांग्रेस समानुपातिक सांसद डोल्मा तामाङ ११ पटक, संखुवासभा १ (१)का माओपादी सांसद राजेन्द्र कार्की चारपटक सुनसरीकी कांग्रेस सांसद ममता तामाङ मगर चारपटक र मोरङकी एमाले सांसद नुरसदी बेगम चारपटक बोलेका छन् ।

प्रदेश सभाको अभिलेखअनुसार सोलुखुम्बु १(१)  बाट निर्वाचित माओवादी सांसद गोम्बु शेर्पा सबैभन्दा बढी ४६ पटक बोलेका छन् । तेह्रथुम १ (१) बाट निर्वाचित एमाले सांसद किशोरचन्द्र दुलाल ३६ पटक, मोरङबाट समानुपातिक कांग्रेस सांसद शोभा चेम्जोङ ३३ पटक, सुनसरीकी समानुपातिक एमाले सांसद मीना श्रेष्ठ २६ पटक, सुनसरी २ (२)बाट निर्वाचित एमाले सांसद रामप्रसाद महतो २५ पटक, तेह्रथुमबाट समानुपातिक एमाले सांसद कमला दर्नाल २४ पटक र झापा ४(१) बाट निर्वाचित सांसद राधाकृष्ण खनालले २४ पटक बोलेका छन् ।

कोशी प्रदेश सभामा रहेका ९३ जना सांसदमध्ये सांसदहरूले ५२४ पटक शून्य समयमा सामाजिक, प्रशासनिक तथा आर्थिक सवालमा पनि सांसदहरूले आफ्नो धारणा राख्दै जनहितका विषय उठाएका छन् । कोशी प्रदेश सभाको अवधिमा सांसदहरूले शून्य समयमा ५२४ पटक, विधेयकको सैद्धान्तिक छलफलमा ४३० पटक, विशेष समयमा ९३ पटक, दलको तर्फबाट ५७ र अन्य छलफलमा ३२ पटक गरी जम्मा ३२ महिनाको ९६० दिनमा ११ सय ३६ पटक बोलेका छन् ।

सामाजिक विकास मन्त्रालयको कानुनी परामर्शदाता रहिसकेका अधिवक्ता कोषराज न्यौपानेले सांसद भएपछि एकपल्ट पनि नबोल्नु र बोले पनि एक–दुईपटक मात्र बोल्नु नागरिकहरूको अधिकारका पक्षमा मौन बस्नुजस्तै भएको बताए । ‘लोकतान्त्रिक अभ्यासमा जनप्रतिनिधिले संसदमा नबोल्नु जनतासामु प्रत्यक्ष जवाफदेहिताको कमी मानिन्छ, यसैले जति धेरै प्रभावकारी रूपमा सांसदरूले संसद्को बैठकमा बोलेर सहभागिता जनाउँछन्, उति नै संसद् जनउत्तरदायी बन्छ र समस्या समाधान गर्न सरकार पनि बाध्य हुन्छ,’ उनले भने । 

मुख्यमन्त्री हिक्मतकुमार कार्की दुईपटक, पूर्वमुख्यमन्त्री केदार कार्की १० पटक र पूर्वमुख्यमन्त्री उद्धव थापा आठपटक बोलेका छन् । माओवादी नेता इन्द्र आङ्बो १९ पटक, एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई १६ पटक, राप्रपा नेता भक्तिप्रसाद सिटौला १७ पटक, जसपा नेता सिर्जना लिम्बू सातपटक बोलेका छन् ।