
अमेरिकाले भारतले मस्कोबाट तेल किनेर युक्रेन युद्धलाई सहयोग गरेको आरोप लगाएको छ । एक शीर्ष अमेरिकी अधिकारीले भारतले मस्कोबाट तेल खरिद गरेर युक्रेनमा रुसी युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका हुन् । ट्रम्प प्रशासनले रुसबाट ऊर्जा आयात कटौती गर्न नयाँदिल्लीमाथि दबाब बढाइरहेका वेला अमेरिकाले यस्तो आरोप लगाएको हो । ‘ट्रम्पले स्पष्ट रूपमा भनेको कुरा के हो भने भारतले रुसबाट तेल खरिद गरेर यो युद्धलाई आर्थिक सहयोग जारी राख्नु स्वीकार्य छैन,’ ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ र ट्रम्पका सबैभन्दा प्रभावशाली सहयोगीमध्ये एक स्टिफन मिलरले फक्स न्युजसँगको एक अन्तर्वार्तामा भने ।
भारत चीनपछि रुसी तेलको दोस्रो ठुलो खरिदकर्ता हो र यसको ३० प्रतिशतभन्दा बढी इन्धन मस्कोबाट प्राप्त हुन्छ । नयाँदिल्लीको तेल खरिदका कारण पश्चिमा प्रतिबन्धबिच क्रेमलिनलाई राजस्व संकलनमा सहयोग पुगेको छ । सन् २०२२ मा युक्रेन युद्ध सुरु हुनुअघि नयाँदिल्लीले आफ्नो तेलको एक प्रतिशत मात्र रुसबाट आयात गरेको थियो । मिलरको आलोचना ट्रम्प प्रशासनको अहिलेसम्मकै सबैभन्दा कडा आलोचनामध्ये एक हो । अमेरिकाले शुक्रबार रुसबाट सैन्य उपकरण र ऊर्जा खरिद गरेका कारण भारतीय उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । ट्रम्प प्रशासनले भारतले रुसबाट हतियार र तेल खरिद जारी राखेमा थप जरिवाना लगाउने धम्की पनि दिएको थियो ।
‘रुसी तेल खरिदमा भारत मूलत: चीनसँग जोडिएको थाहा पाउँदा मानिसहरू छक्क पर्नेछन् । त्यो एउटा अचम्मको तथ्य हो,’ मिलरले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ट्रम्पको सम्बन्ध सुमधुर रहेको बताए । गत साता ट्रम्पले एसियाको दोस्रो ठुलो अर्थतन्त्रमा कर घोषणा गरेको दिन भारतसँगको ‘मित्रता’लाई पनि जोड दिएको उनको भनाइ छ ।
अमेरिकाको बढ्दो दबाबबिच भारतले रुसबाट तेल खरिदलाई निरन्तरता दिएको छ । रुसी तेलको छुट थप बढेसँगै इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी), भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड (बिपिसिएल) र हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल)जस्ता भारतीय सरकारको स्वामित्वमा रहेका रिफाइनरले रुसी तेलको खरिद जारी राखेका छन् ।
पछिल्लो केही दिनमा भारतीय रिफाइनरले पहिलेभन्दा धेरै छुटमा रुसी तेलले भरिएका दुई कार्गो जहाज खरिद गरेको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । भारतले तत्काल रुसी तेल खरिद नघटाउने संकेत दिएको छ । ‘अहिले रुसी तेल खरिद कम गर्ने वा रोक्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । विश्वव्यापी रूपमै तेलको मूल्य घटेकाले पछिल्लो समय रुसी तेल आपूर्ति घटेको भए पनि रुसबाट तेल आयात पूरै रोक्ने सम्भावना अहिले देखिँदैन,’ भारतीय समाचार संस्था मिन्टले लेखेको छ ।
अहिले भारतले रुसी तेलमा पाइरहेको छुट सन् २०२२ को सुरुवाती दिनमा पाएको छुटका तुलनामा धेरै कम हो । सन् २०२२ मा सबैभन्दा धेरै छुट पाएको समयमा भारतले रुसी तेलमा प्रतिब्यारेल लगभग ३० डलरसम्म छुट पाएको थियो ।