
सन् १९३० को दशकमा फासीवाद फैलिएझैँ आज दक्षिणपन्थी लोकप्रियतावाद विश्वभर फैलिँदै छ । यसले हरेक देशमा स्थानीय संस्कृति र इतिहासअनुसार फरक रूप लिइरहेको छ । जसरी पोर्चुगलको क्याथोलिक फासीवाद जर्मनीको नाजीवादभन्दा फरक थियो, त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिपरस्त मागा अभियान फ्रान्सकी मरिन ले पेनको नेसनल र्याली वा स्विडेन डेमोक्य्राट्सभन्दा भिन्न छ ।
जापानमा अहिले उदीयमान दक्षिणपन्थी लोकप्रियता सन् २०२० मा स्थापना भएको सान्सेइतो पार्टीमार्फत अभिव्यक्त हुँदै छ । हालै सम्पन्न माथिल्लो सदनको निर्वाचनमा यस पार्टीले ‘जापानी पहिला’ भन्ने अप्रत्यासित नारालाई प्रमुख मुद्दा बनायो । पार्टीका केटौले संस्थापक कमिया सोहेईले कुनैवेला ‘जापानलाई यहुदी पुँजीको हातमा बेच्नेछैन’ भनेका थिए र लैंगिक समानतालाई साम्यवादका रूपमा चित्रित गरेका थिए । त्यसैगरी, अर्का सदस्य मत्सुदा मानाबुले कोभिड–१९ खोपलाई ‘हत्याको हतियार’को संज्ञा दिएका छन् । सान्सेइतो पार्टी हालैको निर्वाचनमा प्रमुख विजेतामध्ये एक बन्यो, यसले दुई सय ४८ सदस्यीय माथिल्लो सदनमा १४ सिट जित्यो र आफ्नो कुल सिट संख्या १५ मा पुर्यायो । संख्या धेरै नभए पनि यो उपस्थिति अर्थात् सम्भावित उग्र–दक्षिणपन्थी रुझानले जापानका मूलधारका पुरातनपन्थी पार्टीलाई सन्त्रस्त बनाएको छ । र, सत्तारुढ लिबरल डेमोक्य्राटिक पार्टीले निर्वाचनमा माथिल्लो सदनमा बहुमत गुमाएको छ ।
खोप, आप्रवासन, विविधता, लैंगिकता र राष्ट्रियताजस्ता विषयमा समानता देखिए पनि जापानी लोकप्रियतावाद अन्य देशका उग्र–दक्षिणपन्थी पार्टी र जापानकै पुराना चरम दक्षिणपन्थी विचारधाराभन्दा केही भिन्न छ । विगतका जापानी उग्र–दक्षिणपन्थी दशकौँदेखि अर्धसैन्य पोसाकमा युवा चढेका ट्रकमार्फत युद्धकालीन देशभक्तिपूर्ण गीत बजाउँदै सहरमा गुञ्जाउँथे । उनीहरू जापानको साम्राज्यवादी विगतप्रति रुमानी मोह राख्थे र जापानको योद्धा–आत्मा गुमेको दोष अमेरिका, जापानी वामपन्थी र कम्युनिस्ट चीनलाई दिन्थे । यसबाहेक एसियामा जापानले लडेको युद्धलाई पूर्णत: सम्मानजनक ठान्दै त्यसप्रतिको अपराधबोध अस्वीकार गर्थे ।
यी सीमान्तकृत तर चर्को स्वर उठाउने अतिवादीका कतिपय ऐतिहासिक दृष्टिकोणले मूलधारका पुरातनपन्थी पार्टीमा समेत स्थान बनाउन थालेका छन् । यसमा युद्धपछिको शान्तिवादी संविधानप्रतिको असन्तोष मुख्य कारण हो । अमेरिकी अधिकारीले बनाएको सो संविधानले जापानलाई विदेशमा सैन्य शक्ति प्रयोग गर्न रोक लगाएको छ । अर्कातर्फ सन् १९४५ मा रुसले जापानबाट कब्जा गरेका पश्चिमी प्रशान्तका केही साना टापु बहसका विषय बनेका छन् । कमिया स्वयं पनि दोस्रो विश्वयुद्धमा जापानले गल्ती नगरेको स्विकार्छन् । तर, यसबाहेक ‘जापानिज फस्र्ट’ भनिने राष्ट्रवादीलाई सबैभन्दा उत्तेजित बनाउने विषय भनेको जापानमा बढ्दो संख्यामा देखिएको विदेशीको उपस्थिति हो, जसमा आप्रवासी, श्रमिक र पर्यटक पर्छन् । प्राय: अन्य देशका तुलनामा जापान परम्परागत रूपमा विदेशीको न्यून उपस्थिति भएको मुलुक थियो । यहाँको अधिकांश विदेशी जनसंख्या जनजाति कोरियन थिए, जसले जापानी भाषा मात्र बोल्थे । शरण चाहनेलाई प्राय: अस्वीकार गरिन्थ्यो । सन् १९८० को दशकमा आएका इरान–इराक युद्धपछि जापान आएका इरानी आप्रवासीजस्ता अधिकांश श्रमिक पनि पछि फर्किसकेका थिए ।
यद्यपि, यो अवस्था परिवर्तन हुन थालेको छ । अहिले जापानमा करिब ३८ लाख विदेशी छन् र सन् २०२५ को पहिलो ६ महिनामा मात्र दुई करोडभन्दा बढी पर्यटकले सस्तो येनको फाइदा उठाएका छन् । यस्ता तथ्यांक फैलाइएजस्तो अत्यधिक पनि होइनन्, अर्थात् जापानको जनसंख्याको केवल तीन प्रतिशत मात्र विदेशी छन्, जबकि फ्रान्समा यो संख्या १० प्रतिशत छ । इटलीले सन् २०२४ मा ६ करोड ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । जापान सरकारले आर्थिक वृद्धि हुँदै गएको समाजमा आम्दानी बढाउन र श्रमशक्तिको अभाव पूर्ति गर्न पर्यटन र आप्रवासनलाई प्रोत्साहन गर्दै आयो । तर, यसको परिणामले धेरै जापानीलाई निराश बनायो । र, यस्तो अवस्थामा सान्सेइतो मुद्रास्फीति, महँगी, स्थिर तलब र चामल अभावजस्ता समस्याका लागि विदेशीलाई दोष दिँदै समर्थन बढाउन सफल भयो ।
जापानमा धेरैजसो नयाँ विदेशी बासिन्दा र पर्यटक चिनियाँ छन् । यो पनि विगतको तुलनामा ठुलो परिवर्तन हो । १९औँ शताब्दीको सुरुदेखि जापानी दक्षिणपन्थी राष्ट्रवाद मूलत: पश्चिमविरोधी थियो । दोस्रो विश्वयुद्धअघि जापानी संस्कृति पश्चिमा भौतिकवादले दूषित पारिरहेको भन्दै अमेरिकालाई दोष दिइन्थ्यो र एसियामा जापानी वर्चस्व रोक्ने शक्ति पनि अमेरिकी नै हो भनिन्थ्यो । युद्धपछिको युगमा यस्ता राष्ट्रवादीका लागि सबैभन्दा ठुलो समस्या जापानको ‘शान्ति संविधान’ नै थियो । बिस्तारै प्रभावशाली बन्दै गएको चीनले आज जापानीलाई चिन्तित बनाइरहेको छ । धेरै जापानीले चिनियाँ पर्यटकको रुखो व्यवहार, स्थानीय संस्कृतिप्रतिको असावधानी र धन प्रदर्शनलाई मन पराउँदैनन् । आर्थिक कठिनाइ भोगिरहेका जापानीलाई त यस्तो तामझाम झनै बिझाउँछ । पहिले गरिब ठानिने चिनियाँ आप्रवासी अहिले जापानमा महँगा सम्पत्ति खरिद गर्दै छन् ।
चीनलाई शान्तिपूर्ण शक्ति मानिन्थ्यो भने जापान चिनियाँ आप्रवासीलाई सहन सक्थ्यो । तर, सैन्य विस्तार र क्षेत्रीय वर्चस्व फिर्ता ल्याउने चीनको चाहनाले जापानीमा डर बढाएको छ । विडम्बना दोस्रो विश्वयुद्धपछिको अमेरिकी प्रभाव र जापानी संविधान निर्माण चीनजस्ता शक्तिबाट सुरक्षा दिनकै लागि थियो । तर, ट्रम्प नेतृत्वको अमेरिकाले अब भरपर्दो सुरक्षाको प्रत्याभूति गर्न सक्दैन । चीनले ताइबानमा आक्रमण गर्यो र जापानवरपरको समुद्री मार्गमा कब्जा जमायो भने जापानले आणविक हतियार विकास गर्न सक्नेछ । यसबाट जापानी राजनीति थप दक्षिणपन्थतर्फ मोडिने सम्भावना छ, जुन न जापानीले चाहन्छन्, न चिनियाँले नै ।
(बरुमा लेखक एवं वरिष्ठ पत्रकार हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट