मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १६ शुक्रबार २१:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल-चीनबिचको आपसी सम्बन्ध जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार २१:४४:oo

प्रधानमन्त्री केपी ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबिचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् ।

नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले  बितेका दशकमा नेपाल-चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी  सम्बन्धको आधार रहेको स्पष्ट गरे । 

‘नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्त्व दिन्छौँ । यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो । यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ ।’

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताए । उनले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनः पुष्टि भई बेल्ट एन्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा संकल्पलाई मजबुत बनाएको जनाए ।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पन्याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रबलीकरणजस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताए । 

‘नेपालले हाम्रा सीमामा रहेका हिमालय र नाजुक पर्यावरणीय प्रणालीको संरक्षणमा चीनसँगको सहकार्यलाई उच्च प्राथमिकता दिन्छ । यसै वर्ष सम्पन्न पहिलो सगरमाथा संवाद यस दिशातर्फको सार्थक कदम थियो । हालै ल्हेन्दे खोलामा आएको बाढीले सीमाका दुवै छेउमा व्यापक क्षति पुर्‍यायो।यसले विपत् पूर्वतयारी, प्रारम्भिक सूचना प्रणाली र दिगो हिमाली विकासमा संयुक्त प्रयासको आवश्यकता झनै बलियो बनाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल चीनले राष्ट्रिय पुनरोदय र आधुनिकतामा हासिल गरेको अद्वितीय उपलब्धिहरूको उच्च सम्मान गर्दछ। करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गर्नु, नवप्रवर्तन र दिगो विकासमा अग्रणी बन्नु र अन्तर्राष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्नु- यी सबै विश्वका लागि प्रेरणादायी छन्। यी उपलब्धिहरूले चीनलाई मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वलाई स्थायित्व र प्रगतिमा योगदान दिएका छन् । हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ ।’