
रुपन्देहीको डिंगर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनका विषयमा गठित स्वतन्त्र लेखापरीक्षकले प्रतिवेदन बुझाएका छन्। समितिले २८ दिन लगाएर प्रतिवेदन तयार पारेको थियो। तिलोत्तमास्थित सहकारीको करोडौँ रकम हिनामिना गरेर अध्यक्ष र सचिव फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताहरूले लेखापरीक्षक योगचन्द्र बाँस्तोलाको नेतृत्वमा स्वतन्त्र लेखापरीक्षण गर्न समिति गठन गरेको थियो।
सोही समितिले २८ दिनपछि ४०३ पृष्ठको प्रतिवेदन तयार गरी समितिका कोषाध्यक्ष र बचतकर्ताहरुद्वारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरिएको हो।उक्त सहकारीको दुग्ध कारोबारबाहेकको सम्पूर्ण हरहिसाब अध्ययन गरी प्रतिवेदनमा समावेश गरेको लेखापरीक्षक योगचन्द्र बाँस्तोलाले बताए । प्रतिवेदन चार सय पृष्ठ र केही अनुसूचीमा उल्लेख गरेको बाँस्तोलाले बताए।
प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी दर्ता रजिस्ट्रारको कार्यालयमा बुझाइने छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले बताए। प्रतिवेदनमा सहकारीको १२ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ। करिब २५ करोड रुपैयाँ नियमविपरीत लगानी गरेको देखिएको उल्लेख छ। सहकारी सञ्चालनको १४ वर्षको अवधिमा अध्यक्ष र सचिवले करिब ८० करोड रुपैयाँ गैरकानुनी ढंगले चलाएको प्रतिवेदनमा उल्लेख रहेको समितिका एक सदस्यले बताए। गत असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौँ रकम अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाही र आफ्नो बचत फिर्ताको माग गर्दै आएका छन् ।
उक्त सहकारीका व्यवस्थापक वसन्त पराजुली प्रहरी नियन्त्रणमा छन्। बचतकर्ता र अन्य सञ्चालकहरूले अध्यक्ष फरार भएकाले अध्यक्षकी श्रीमतीले अध्यक्षलाई सम्पर्कमा ल्याउनुपर्ने कि हिनामिना भएबराबरको रकम अध्यक्षको जायजेथाबाट तिर्नुपर्ने बताउँदै आएका छन्। पीडितहरूले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्। असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको बताए।