
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)बाट दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । केन्द्रीय कार्यालय मूलपानीमा बिहीबार बसेको क्यान कार्यसमिति बैठकले एनपिएलको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगिता सकिएको सात महिनापछि आर्थिक कारोबार सार्वजनिक भएको हो । एनपिएलको आर्थिक विवरण सार्वजनिक नगरेको भन्दै क्यानको आलोचना हुँदै आएको छ ।
एनपिएलको आर्थिक विवरण सार्वजनिक गर्न १० घण्टा बैठक चल्यो । मूलपानीमा बिहीबार राति ८ बजे सकिएको बैठकले एउटा मात्र एजेन्डामाथि निर्णय गरेको क्यानले जनाएको छ । त्यो एजेन्डा एनपिएलकै आय–व्यय थियो । लगभग एक महिना त्रिवि क्रिकेट मैदानमा चलेको एनपिएलबाट क्यानले २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
क्यानले पहिलो संस्करण विश्व क्रिकेटमा पुर्याउन र यसको ब्रान्डिङ गर्न समग्रमा प्रतियोगितामा २० करोड १५ लाख रुपैयाँ खर्च भएको प्रवक्ता छुम्बी लामाले बताएका छन् । आम्दानी र खर्चको अन्तर सात करोड ५३ लाख रुपैयाँ रहेको छ । यसको ५० प्रतिशत हिस्सा चार करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ । सेयरिङपछि बाँकी तीन करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएपछि क्यानले पहिलो एनपिएलबाट दुई करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको हो ।
एनपिएलको पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको छ ।
बैठकमा एक दर्जन एजेन्डाको सूची समावेश थियो । तर, दिनभर बसेको बैठकमा एनपिएलबारे छलफल भएको प्रवक्ता लामाले बताए । क्यानका अनुसार आगामी संस्करणका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ ।
एनपिएलको अनियमिततामाथि छानबिन जारी
एनपिएलको आय–व्यय सार्वजनिक भए पनि क्यानको अनियमितताको विषयमा छानबिन जारी छ । पहिलो सिजनको एनपिएलमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत ७ मंसिर र १२ फागुन ०८१ मा उजुरी परेको थियो । आयोगले उजुरीको व्यहोरा मन्त्रालयमा पठाउँदै आन्तरिक अनुसन्धान गर्न भनेको थियो । त्यसपछि खेलकुदमन्त्री तेजुलाल चौधरीले गत १२ जेठमा रञ्जना प्रधानको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेका थिए ।
कार्यदलले अनुसन्धानमा सहयोग गर्नका लागि तीनपटक क्यानलाई पत्र पठाएको छ । तर, क्यानले एनपिएलको छानबिनमा सहयोग नगरेको निष्कर्ष निकाल्दै कार्यदलले २७ असारमा मन्त्री चौधरीलाई प्रतिवेदन बुझायो ।
कार्यदलको प्रतिवेदनमा एनपिएलको अनियमितताको सम्बन्धमा थप छानबिन आवश्यक रहेको उल्लेख छ । अख्तियारमा परेको उजुरीमा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर गरेको तथा विज्ञापन नियमन गर्ने ऐन उल्लंघन गरेको मुख्य आरोप लगाइएको छ ।
दोस्रो संस्करण तयारी सुरु
बैठकमा क्यानका सचिव तथा एनपिएल आयोजना समिति संयोजक पारस खड्काले एनपिएलका आय विवरण प्रस्तुत गरेका थिए । ‘साथीहरूले प्रतियोगिताको विषय र हिसाबकिताबबारे प्रश्न राख्नु ठिक हो । प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरेका छौँ,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘अब बाँकी एजेन्डाका विषयमा अर्काे बैठकबाट छलफल हुनेछ ।’ क्यानले दोस्रो संस्करणको तयारी सुरु गरिसकेको छ । २४ साउनमा हुने मिनी अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराइसकेका छन् ।
क्यानले एक अनिवार्य मार्कीसहित ६ खेलाडी रिटेन गर्न पाउने मापदण्ड बनाएको छ । पहिलो संस्करणमा सहभागी आठै फ्रेन्चाइज टोलीले ५६ खेलाडी रिटेन गरेका छन् । मिनी अक्सनका लागि क्यानले १२ देखि २२ जुलाईसम्म खेलाडी दर्ता खुलाएको थियो । दोस्रो सिजनमा सहभागी आठ टोलीले पाँचदेखि ६ खेलाडी आबद्ध गर्नेछन् ।
महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने महत्वपूर्ण जिम्मेवारी नेपाललाई दिएको छ । सन् २०२६ को १२ जनवरीदेखि २ फेब्रुअरीसम्म छनोट खेल हुनेछ । नेपालले आयोजना गरेकामध्ये अहिलेसम्मकै ठुलो प्रतियोगिता आइसिसी ग्लोबल छनोट हुनेछ ।
मूलपानीको तल्लो र माथिल्लो क्रिकेट मैदानमा ग्लोबल छनोटका खेल हुनेछन् । आइसिसीले छनोट खेलको तालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ । ग्लोबल छनोटमा सहभागीमध्ये चार राष्ट्रले सन् २०२६ को १२ जुनदेखि ५ जुलाईसम्म इंग्ल्यान्डमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालमा हुने ग्लोबल छनोटमा १० टोलीको सहभागिता रहनेछ । ग्लोबल छनोटमा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को टी–२० विश्वकप खेलेका कारण स्थान बनाएका थिए ।
यी दुई राष्ट्रबाहेक नेपाल, थाइल्यान्ड र अमेरिकाले पनि छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । नेपाल र थाइल्यान्डले एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट स्थान सुरक्षित गरेका हुन् । अमेरिकाले अमेरिकी क्षेत्रको छनोटबाट अन्तिम चरणको स्थान बनाएको हो । अब ग्लोबल छनोटमा पाँच राष्ट्र छनोट हुन बाँकी छ । नेपालमा आयोजना हुने अन्तिम चरणको प्रतियोगिताका लागि अफ्रिका र युरोपबाट समान दुई राष्ट्र आउनेछन् ।