मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनसुनको ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेश प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ । 

गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको आजसम्मको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो । 

जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ थियो । 

उनका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपतका समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन् भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ । 


‘असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको बाढीले ठुलो धनजनको क्षति गरेको छ । वर्षा नै नभई रातको समयमा अकस्मात् बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन् । बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अंग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ,’ प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका– ८ इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइँ र बालीनाली लगाउनुपर्ने वेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख छ । 

पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेश प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने संघीय सरकारले यही साउन ७ गते विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  

यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेशकेन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ । 

तीनै तहका सरकार र विभिन्न संघसंस्थाहरूको सहकार्यमा दीर्घकालीन समाधानका लागि पिउनेपानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।