मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
Invalid date format १२:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कागतीले बजार नपाउँदा किसान निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o१:oo

तनहुँको देवघाट गाउँपालिका– २ का कृषक मनीष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लागेका उनले आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गरे ।

मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए  ।  मल्लले भने, ‘बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।’

स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनको भनाइ छ । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौं पुग्नुपरेको उनको भनाइ छ ।

‘उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु,’ उनले भने, ‘गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्दैनथ्यो । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।’


उनले पाँच सयभन्दा बढी कागतीका बोट लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको उनको भनाइ छ । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्‍याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ ।