
भोटेकोशीको सहायक नदी ल्हेन्देमा गएराति फेरि हिमबाढी आउँदा स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध भएको छ। यसअघि २४ असार रातिको बाढीले रसुवागढी र केरुङ सीमानाका जोड्ने मितेरी पुल बगाउनुका साथै सडक अवरुद्ध र मानवीय क्षति पनि भएको थियो।
मंगलबार रातिको बाढीले अघिल्लोपटकको जस्तो क्षति नगरे पनि सडक अवरुद्ध हुनुका साथै जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। ‘हिजो पानी परेको थिएन, अस्ति भने ठुलो पानी परेको थियो। चिनियाँ पक्षसँग कुरा गर्दा पानीका कारण बाढी आएको हुन सक्ने बताएका छन्, यकिन कारण खुल्न सकेको छैन,’ पौडेलले भने, ‘अघिल्लोपटक बाढीले खोला थुनिँदा ठुलो क्षति भएको थियो। यसपटक थुनिन पाएन, तर बाढी ठुलै थियो।’
प्रशासनका अनुसार अस्थायी रूपमा सञ्चालनमा रहेको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोस्टनजिक गरी आठवटा ठाउँमा करिब ५४० मिटर क्षति भएर पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, स्याफ्रुबेँसी–दोभान सडकखण्डअन्तर्गत लाङटाङ जलविद्युत् आयोजना प्लान्टनजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको छ भने गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित भन्सार यार्डमा थप कटान भएको छ। यार्डको दक्षिणतर्फ रहेको सानो घर र सँगै रहेको धर्मकाँटासमेत बाढीले बगाएको छ।
त्यस्तै, टिमुरेस्थित भन्सार यार्डको पारिपट्टि रसुवागढी जलविद्युत् आयोजनाको आवास क्याम्पको वर्कसप बाढीको बालुवामा पुरिएको छ भने दुईवटा फोर्ड पिकअप गाडी बगाएको छ।
भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका– १ र उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशूली नदीमा अवस्थित पक्की पुलको दुवैतर्फको प्रोटेक्सन ग्याबिन/वाल बाढीका कारण भत्किएको छ। दुवै पुल जोखिमको अवस्थामा छन्।
गोसाइँकुण्ड गाउँपालिका– ५, रुंगा पुलनजिकै काठले बनेको जस्ताको छानो भएको चारवटा टहरा पनि बाढीले बगाएको छ। अघिल्लो बाढीबाट प्रभावित त्रिशूली– ३ ए जलविद्युत् आयोजना र त्रिशूली– ३ बी आयोजनाको हब स्टेसनमा थप क्षति भएको छ।