मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १३ मंगलबार २२:२o:oo
Read Time : < 1 मिनेट
समाचार

१० हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित एक भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार २२:२o:oo

बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित नहर किनाराबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति मोटरसाइकलको लेगार्डमा लागुऔषध बोकी नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगन्ज पर्साबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ करिब ७ः३० बजे सिम्रौनगढको पावरहाउस चोकदेखि पूर्वतर्फ करिब ५०० मिटरको दूरीमा पर्ने नहरनजिकैबाट मोटरसाइकलमा सवार एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो ।

प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर बिआर ०५ बी के ७०३५ को मोटरसाइकलको पछाडिपट्टि बाँधिएको बोरा खोल्दा ट्रामाडोल लेखिएको एक हजार ०३८ पत्ता जम्मा १० हजार ३८० क्याप्सुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । 

पक्राउ परेका व्यक्ति भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना थाना क्षेत्र, ग्राम पञ्चायत अगर्वा वडा नम्बर ६ को कोडीगावा टोलनिवासी ५० वर्षीय मन्जन साह भनिने उपेन्द्र साह रहेका छन्।

प्रहरीका अनुसार ट्रामाडोल एक किसिमको शक्तिशाली पीडानाशक औषधि हो, जसलाई नेपाल सरकारले लागुऔषध ऐनअन्तर्गत प्रतिबन्धित सूचीमा राखेको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले पक्राउ परेका व्यक्ति र बरामद मोटरसाइकलसहित लागुऔषधलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार यस घटनाले सीमा क्षेत्रमा हुँदै आएको लागुऔषध तस्करीमाथि थप निगरानी आवश्यक भएको पुष्टि गरेको छ।

यसअघि पनि बाराको विभिन्न नाका र सडकमार्ग हुँदै लागुऔषध तस्करी भइरहेको अवस्थामा प्रहरीले पटक-पटक ठूलो परिणाममा औषधि बरामद गर्दै आएको छ।