
पश्चिमा डिजिटल उपकरण सञ्चारका साधन मात्र नभई गुप्तचर युद्धका व्यापक डिजिटल हतियार बनेका छन्
केही वर्षयता विश्वका सरकारले युक्रेन र मध्यपूर्वमा भइरहेका द्वन्द्वतर्फ गम्भीर चासो व्यक्त गर्दै आएका छन् । यी क्षेत्रमा हामी भविष्यको युद्ध कस्तो देखिनेछ भन्ने झल्को देखिरहेका छौँ, अर्थात् हतियार मात्र नभई प्रविधि र रणनीतिक चालका हिसाबले पनि भविष्य दर्साइरहेको छ । हालै अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणले ड्रोन प्रयोग र अतिक्रमणका नयाँ रणनीति मात्र नभई कमजोरी पनि देखायो । १२ दिनसम्म चलेको सो द्वन्द्वका क्रममा इरान र खाडी क्षेत्रका जहाजले पटक–पटक जिपिएस संकेत अवरोधको सामना गरे ।
यो अवस्थाले स्वाभाविक रूपमा इरानी अधिकारीलाई चिन्तित बनायो । द्वन्द्व सकिएलगत्तै वैकल्पिक उपाय खोजिन थालियो । जुलाईको मध्यतिर इरानी सञ्चार उपमन्त्री एहसान चितसाजले ‘कतिपय अवस्थामा आन्तरिक प्रणालीबाटै जिपिएस प्रणालीमा अवरोध सिर्जना भइरहेको छ, त्यसले हामीलाई ‘बाइडु’ जस्ता विकल्पतर्फ लाग्न बाध्य बनाएको हो’ भनेर बताएका छन् । उनले यातायात, कृषि र इन्टरनेटमा जिपिएसको सट्टा चिनियाँ बाइडु प्रणाली ल्याउने योजना बनाएको जानकारी दिएका थिए ।
चीनको उपग्रह नेभिगेसन प्रणाली अपनाउने इरानको निर्णय केवल रणनीतिक चाल मात्रै होइन, गम्भीर परिणाम निम्त्याउने कदम पनि हो । यो एक व्यापक विश्व पुनर्संरचनाको संकेत हो । दशकौँदेखि पश्चिम, विशेषत: अमेरिकाले कम्प्युटर प्रणाली, इन्टरनेट, टेलिकम्युनिकेसन र उपग्रह सञ्जालजस्ता प्रविधि पूर्वाधारमा प्रभुत्व जमाउँदै आएको छ । यसका कारण धेरै देश यस्ता प्रणालीमा निर्भर छन्, जुन उनीहरूले आफ्नै बलमा प्रतिस्पर्धा गर्न सक्दैनन् । यस्तो निर्भरता सजिलै कमजोरी बन्न सक्छ । सन् २०१३ यता विभिन्न मुखवीर र पत्रकारिताका छानबिनले देखाएको छ कि पश्चिमी प्रविधिले कसरी अनधिकृत निगरानी र डेटा संकलनलाई सम्भव बनाएका छन् । यसले धेरै देशलाई गम्भीर रूपमा चिन्तित बनाएको छ ।
इरानले बाइडु प्रयोग गर्नुले प्रविधिमा सहजता र रणनीतिक आत्मरक्षाबिचको संवेदनशील सन्तुलन खोजिरहेका अन्य देशको अमेरिकी नियन्त्रित पूर्वाधारमा आँखा चिम्लेर गरिने निर्भरता अब छिटै अन्त्यतर्फ उन्मुख हुँदै छ भन्ने स्पष्ट देखिँदै छ । अब राष्ट्रहरूले आफ्नो सैन्य क्षमता र महत्वपूर्ण डिजिटल सार्वभौमिकता आफूले विश्वास नगर्ने शक्तिराष्ट्रका भूउपग्रहमा सुम्पन सक्दैनन् । यही चासोका कारण विभिन्न राष्ट्रिय वा क्षेत्रीय उपग्रह नेभिगेसन प्रणाली, अर्थात् युरोपको ग्यालिलियोदेखि रुसको ग्लोनाससम्म बनाएको छ । यी भूउपग्रहले विश्वव्यापी पोजिसनिङ बजारमा आफ्नो हिस्सा खोजिरहेका छन् र सार्वभौम नियन्त्रण प्रत्याभूतिको आश्वासन दिइरहेका छन् ।
जिपिएसकै कारण अमेरिकी–इजरायली आक्रमणका क्रममा इजरायली सेनाले इरानी सुरक्षात्मक तथा सैन्य निकायका थुप्रै आणविक वैज्ञानिक र वरिष्ठ कमान्डरको हत्या गरेको थियो । इजरायलले यी वरिष्ठ अधिकारीको स्थान सटिक रूपमा पहिचान गरेको तथ्यले टेलिकम्युनिकेसन प्रणालीमा अतिक्रमण गरी फोनमार्फत निगरानी गरिएको हुन सक्छ भन्ने आशंका इरानमा फैलिएको थियो । द्वन्द्व जारी रहेकै वेला सूचना इजरायलतर्फ पुर्याइएको आशंकामा १७ जुनमा इरानी अधिकारीले आफ्ना नागरिकलाई ह्वाट्सएप प्रयोग नगर्न र फोनबाट अनस्टल गर्न आह्वान गरेको थियो । वरिष्ठ अधिकारीको हत्या र यो आह्वानबिच प्रत्यक्ष सम्बन्ध थियो कि थिएन भन्ने स्पष्ट छैन, तर एप अमेरिकाको मेटा कम्पनीको भएकाले इरानी अविश्वास अस्वाभाविक भने होइन ।
साइबर सुरक्षाविज्ञले सो एपको सुरक्षाप्रति सधैँ सन्देह राख्दै आएका छन् । हालैका सञ्चार रिपोर्टअनुसार इजरायलले गाजामा प्यालेस्टिनीलाई निसाना बनाउन प्रयोग गरिरहेको एआई सफ्टवेयरमा सामाजिक सञ्जालबाट संकलित तथ्य दिइन्छ । अमेरिकी प्रतिनिधिसभाले पनि इरानमाथि आधिकारिक उपकरणमा ह्वाट्सएप प्रतिबन्ध गर्ने प्रस्ताव अघि सारेको थियो ।
इरान र विश्वका अन्य देशका लागि अब पश्चिमा उपकरण केवल सञ्चारका साधन मात्र नभई एक व्यापक डिजिटल गुप्तचर युद्धका हतियार बनेका छन् । तेहरानले पहिले नै आफ्नै इन्ट्रानेट प्रणाली, अर्थात् राष्ट्रिय सूचना सञ्जालको विकास गरिरहेको छ, जसले इन्टरनेट प्रयोगमा राज्यको नियन्त्रण बढाउनेछ । आगामी दिनमा इरानले यो प्रक्रियालाई अझ विस्तार गर्नेछ र सम्भवत: चीनको ग्रेट फायरवालको अनुकरण गर्ने कोसिस गर्नेछ ।
पश्चिमा प्रभुत्वयुक्त पूर्वाधारसँगको सम्बन्ध तोड्ने प्रयासअन्तर्गत तेहरान आफैँलाई एक बढ्दो प्रभाव क्षेत्रसँग स्पष्ट रूपमा जोडिरहेको छ, जसले पश्चिमी प्रभुत्वलाई ठुलो चुनौती दिइरहेको छ । यो साझेदारी केवल लेनदेनका रूपमा सीमित छैन, चीन इरानलाई वास्तविक डिजिटल तथा रणनीतिक स्वतन्त्रताका लागि आवश्यक उपकरण प्रदान गर्दै छ । यसको व्यापक पृष्ठभूमि चीनको विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) हो । उसो त बिआरआईलाई पूर्वाधार र व्यापार परियोजनाका रूपमा चित्रण गरिन्छ, तर यो सडक र बन्दरगाहमा मात्रै सीमित छैन । यो एक वैकल्पिक विश्व व्यवस्थाको महत्वाकांक्षी खाका हो । रणनीतिक रूपमा महत्वपूर्ण ठाउँमा अवस्थित र प्रमुख ऊर्जा आपूर्तिकर्ता रहेको इरान बिआरआईको महत्वपूर्ण साझेदार बन्दै गएको छ ।
आज हामी एक नयाँ प्रविधि गुटको उदय देखिरहेका छौँ, जसले डिजिटल पूर्वाधारलाई साझा राजनीतिक विरोधसँग जोड्छ । पश्चिमका दोहोरो मापदण्ड, प्रतिबन्ध र डिजिटल वर्चस्वबाट थाकेका देश बेइजिङको प्रभावमा सान्त्वना मात्र नभई कूटनीतिक लाभ पनि देख्न थालेका छन् । यो तीव्र रूपान्तरणले नयाँ ‘प्रविधि शीतयुद्ध’को संकेत गर्छ । अब देशले नेभिगेसन, सञ्चार र भुक्तानी प्रणालीजस्ता पूर्वाधार प्रविधिको गुणस्तरभन्दा बढी राजनीतिक निष्ठा र सुरक्षाका आधारमा छनोट गर्नेछन् । जति धेरै देशले यस्तो बाटो अँगाल्नेछन्, पश्चिमको प्रविधिमा रहेको अग्रता क्रमश: घट्दै जानेछ र विश्व शक्ति सन्तुलन फेरिन सक्छ ।
(अल–अज्जबी राजनीतिक विश्लेषक एवं पत्रकार हुन्)
अलजजिराबाट