मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
रेशम बहादुर खड्का जाजरकोट
२o८२ श्रावण १३ मंगलबार o९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भेरी नदीमा जलसतह बढ्दै : नदीतटीय बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८२ श्रावण १३ मंगलबार o९:o२:oo

जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापनअनुसार ठुलोभेरी नदीको जलसतह उच्च हुँदै गएको छ। जलसतह खतराको तहआसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारी गर्दै नदीकिनार र तटीय क्षेत्रवरपर रहेका नागरिक, किसान, गाईवस्तुपालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो। ‘नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनु अत्यावश्यक छ,’ सूचनामा भनिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको सहयोगमा प्राप्त पछिल्लो तथ्यांकअनुसार जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए । यसकारण घरनजिकै नदीकिनारमा गतिविधि नगर्न, गाईवस्तु चराउन नदीकिनार नजान र जोखिमयुक्त स्थानमा नबस्न कार्यालयले अपिल गरेको छ।

जाजरकोट जिल्लाको तल्लो बगरदेखि छेडा बजारसम्मका सम्पूर्ण प्रहरी युनिटहरूलाई तयारी अवस्थामा राखिएको प्रजिअ मंग्रातीले बताए। भेरी नदीको आसपासमा रहेका बस्तीहरू र भेरी करिडोर क्षेत्रमा प्रहरीमार्फत सचेतना कार्यक्रमहरूसमेत सञ्चालन गरिएको उनको भनाइ छ। प्रशासनले स्थानीय बासिन्दालाई आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्नसमेत अनुरोध गरेको छ। साथै, उद्धार तथा राहतका लागि आवश्यक तयारीहरू मिलाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए।

नदीआसपासमा रहेको बस्तीहरू विशेषगरी भेरी नगरपालिका, नलगाड क्षेत्रका केही बस्तीहरूमा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए ।