मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ श्रावण ११ आइतबार १o:११:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेस्रो देशबाट ल्याएर भारत निकासी हुने खानेतेलले उचाल्यो निर्यात : मूल्य अभिवृद्धि बढी हुने १५ वस्तुको निर्यात ६२% सम्मले घट्यो

निर्यात ८१% ले बढेर पौने तीन खर्ब पुगेपछि सरकारको हर्षबढाइँ, तर मुख्य वस्तुकै निर्यात घटेको विषय ओझेलमा

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १o:११:oo

गत आर्थिक वर्ष ०८१/८२ मा नेपालको निर्यातले ऐतिहासिक रेकर्ड कायम राख्दा धेरै मूल्य अभिवृद्धि हुने नेपालका मुख्य वस्तुहरूको निर्यात भने घटेको देखिएको छ । उक्त आवमा नेपालले हालसम्मकै सबैभन्दा बढी दुई खर्ब ७७ अर्बबराबरको निर्यात गरेको छ । तर, सो निर्यातमा नेपाली कच्चा पदार्थ, कृषि, सिप र कलामा आधारित मुख्य वस्तुहरूको हिस्सा कम भएका कारण त्यसबाट नेपाललाई उल्लेखनीय लाभ नहुने देखिन्छ । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा नेपालको निर्यात ८१.८ प्रतिशतले बढेर पौने तीन खर्ब पुगेको छ । त्यसमा ४४ प्रतिशत हिस्सा भने सोयाबिन, सूर्यमुखी र पाम आयलको छ । तेस्रो देशबाट आयात भई तुलनात्मक रूपमा कम मूल्य अभिवृद्धि भएर भारत निकासी हुने यस्ता वस्तुको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । तर, उच्च मूल्य अभिवृद्धि हुने नेपालका कृषि, हस्तकला तथा खानीजन्य वस्तुको निर्यात भने ६२ प्रतिशतसम्मले घटेको छ । यसले नेपालको निर्यात वृद्धि भए पनि त्यसबाट मनग्य लाभ भने नभएको जानकारहरू बताउँछन् । 

यस अवधिमा अदुवा, अलैँची, अम्रिसो–कुचो, जुस, हस्तकला, आइरन स्टिल, सिमेन्ट क्लिंकर, रेडिमेड गार्मेन्ट, आयुर्वेदिक औषधि, प्लाइउडलगायत नेपाली कच्चा पदार्थमा आधारित र बढी मूल्य अभिवृद्धि हुने १५ वस्तुको निर्यात घटेको छ । नेपालको कुल निर्यात ८१ प्रतिशतले बढ्दा यी १५ वस्तुको निर्यात औसतमा २१.३१ प्रतिशतले घटेको छ । त्यस्तै, नेपालको प्रमुख निर्यातजन्य वस्तुहरू गलैँचा, पस्मिना, फेल्ट, तामाका उत्पादन, चाँदीका गरगहनालगायत वस्तुको निर्यात वृद्धिदर पनि १० प्रतिशतभन्दा न्यून छ । यसरी मूल्य अभिवृद्धि दर बढी हुने वस्तुको निर्यात घटेका कारण कुल निर्यात ऐतिहासिक रूपमा बढ्दासमेत त्यसबाट नेपाललाई उल्लेखनीय लाभ नभएको नेपाल उद्योग वाण्ज्यि महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ बताउँछन् । 

‘निर्यातले ऐतिहासिक रेकर्ड बनाएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो । तर, अहिलेको निर्यात वृद्धिले विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान बढाएको देखिन्न,’ उनले भने, ‘अहिलेको निर्यात वृद्धि अस्थायी देखिन्छ, खासगरी आयातमा आधारित केही वस्तुको निर्यात वृद्धि उच्च छ, जसमा मूल्य अभिवृद्धि कम हुने भएकाले जति निर्यात बढाए पनि त्यसबाट उच्च लाभ हुँदैन ।’ राज्य र निजी क्षेत्रले नेपाली कच्चा पदार्थ, कृषि तथा वन पैदावर र मौलिक सिप तथा कलामा आधारित वस्तुको निर्यातमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । 

निर्यात ८१ प्रतिशतले बढेर पौने तीन खर्ब पुगेपछि सरकारले हर्षबढाइँ गरिरहेको छ, तर मुख्य वस्तुकै निर्यात घटेको विषय ओझेलमा परेको छ । त्यस्तै, आयात १३.३ प्रतिशतले बढेर १८ खर्ब चार अर्ब १२ करोड पुगेको तथा व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब २७ अर्ब नौ करोड पुगेको विषय पनि छायामा परेको छ । ‘निर्यात ऐतिहासिक बनेको विषय अहिले हर्षबढाइँ छ, तर मुख्य वस्तुको निर्यात घटेको, आयात र व्यापार घाटामा कमी नआएको विषय ओझेलमा परेको छ,’ वाणिज्य मन्त्रालयकै एक उच्च अधिकारीले भने, ‘हामी अस्थायी खुसीमा रमाइरहेका छौँ, जुन ठिक होइन ।’ 

नेपालमा इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत देशबाट कच्चा पाम आयल आयात हुन्छ । सूर्यमुखीको कच्चा तेल अर्जेन्टिना, रोमिनिया, युक्रेन, इटाली, मलेसियालगायत देशबाट आउँछ । सोयाबिन भने ब्राजिल, अर्जेन्टिना, पाराग्वे, थाइल्यान्ड, इटालीलगायत देशबाट आउँछ । ती देशबाट आयात भएका कच्चा तेललाई रिफाइन गरेर भारतमा निर्यात गर्ने गरिएको छ । 

खानेतेल : डेढ खर्बको आयात, सवा एक खर्बको निर्यात
गएको आवमा नेपालले खानेतेलको निर्यातमा गरेको आम्दानी तीनै वस्तुको कच्चा तेल आयातमा भएको खर्चभन्दा न्यून छ । अर्थात्, सोयाबिन, सूर्यमुखी र पाम आयल निर्यातबाट आर्जन गरेको भन्दा ती वस्तुको कच्चा तेल आयातमा नेपालले १९ अर्ब २६ करोड दुई लाख रुपैयाँले बढी रकम खर्चिएको छ । उक्त आवमा नेपालले एक खर्ब ४० अर्ब ७९ करोड २२ लाखको कच्चा तेल आयात गर्दा एक खर्ब २१ अर्ब ५३ करोड २० लाखको तयारी खानेतेल निर्यात गरेको हो । 

अहिलेको निर्यात वृद्धिले विदेशी मुद्रा आर्जन बढाएको छैन : नरेशलाल श्रेष्ठ, सभापति, निर्यात प्रवर्द्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ
निर्यातले ऐतिहासिक रेकर्ड बनाएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो । तर, अहिलेको निर्यात वृद्धिले विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान बढाएको देखिन्न ।

खासगरी आयातमा आधारित केही वस्तुको निर्यात वृद्धि उच्च छ, जसमा मूल्य अभिवृद्धि कम हुने भएकाले जति निर्यात बढाए पनि त्यसबाट उच्च लाभ हुँदैन । अहिलेको निर्यात वृद्धि अस्थायी देखिन्छ, विगतका नजिरलाई हेर्दा पनि कुनै वेला त्यस्ता वस्तुको निर्यात घट्न–रोकिन सक्छ ।

जे भए पनि निर्यात बढ्नु राम्रै हो, त्यसको पनि प्रवर्द्धन गर्नुपर्छ । तर, सरकार र निजी क्षेत्रले मूल्य अभिवृद्धि बढी हुने, स्वदेशी कच्चा पदार्थ, कृषि तथा नेपाली परम्परागत कला र सिपमा आधारित वस्तुको निर्यातमा विशेष ध्यान दिन आवश्यक छ ।