मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o६:५५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्मला पन्तको बलात्कारपछि हत्याको सात वर्ष : सबैले दिए वचन, कसैले दिएन न्याय

५ गृहमन्त्री, ६ आइजिपी र ६ छानबिन समिति

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o६:५५:oo

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुगेको छ । तर, दोषी अझै कानुनी कठघराबाहिरै छन् । पछिल्लो सात वर्षमा पाँच गृहमन्त्री फेरिए भने ६ जना प्रहरी महानिरीक्षक बदलिए । तर, न्यायको पर्खाइमा उभिएको निर्मलाको परिवार आस मार्दै छ । 

भीमदत्त नगरपालिका– २, उल्टाखामकी निर्मलाको ११ साउन ०७५ मा उखुबारीमा शव फेला परेको थियो । त्यसको अघिल्लो दिन उनी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै हिँडेकी थिइन् । हत्याको ८४ महिनासम्म रहस्य खुलेको छैन । यसबिचमा कञ्चनपुरमा १० एसपी परिर्वतन भए । 

उतिवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानमा निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीप विष्टलाई अभियुक्त देखाइएको थियो । प्रहरीले किटानका साथ निर्मलाका हत्यारा दिलीप नै हुन् भनेर ४ भदौ ०७५ मा सार्वजनिक नै गरेको थियो । 

तर, दिलीप हत्याका अभियुक्त हुनै सक्दैन भनेर केही अधिकारकर्मीसहित कांग्रेस नेता–कार्यकर्ताले महेन्द्रनगरमा आन्दोलन चर्काए । निर्मलाको न्यायका लागि भन्दै भएको आन्दोलनमा बालक सन्नी खुनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए । 

घटना हुँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए । त्यसपछि क्रमश: बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्री छन् । सरकारबाहिर हुँदा ‘न्यायका लागि संघर्ष’ भन्ने निर्मलाकै गृहनगरका कांग्रेस नेता रमेश लेखक अहिले गृहमन्त्री छन् । निर्मलाको आमा ‘कहिले आउला न्याय ?’ भनेर बाटो कुर्दै छिन् । सरकारबाहिर हुँदा न्यायको कुरा गर्ने लेखकले अहिले गृहमन्त्री हुँदा केही नगरेको स्थानीयको गुनासो छ । 

यसबिचमा निर्मला हत्याकाण्ड हुँदा उतिवेला तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए । त्यसपछि क्रमश: ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा (क्षेत्री), धीरजप्रताप सिंह, वसन्तबहादुर कुँवर हुँदै हाल दीपक थापा आइजिपी छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांकअनुसार निर्मला हत्याकाण्ड हुँदा तत्कालीन प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरज केसी थिए । त्यसपछि क्रमश: तारणीप्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कँडेल, मोहनकुमार आचार्य, अशोक सिंह, निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहरा, रवीन्द्र केसी, गणेश चन्द, हाल डम्बर विश्वकर्मा डिआइजी छन् । 

निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा तत्कालीन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमश: तत्कालीन एसपीहरू कुँवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमाप्रसाद चतुर्वेदी, श्यामसिंह चौधरी, कमल थापा, चक्रराज जोशी र हाल जिल्लाका प्रहरी प्रमुख (एसपी) खडकबहादुर खत्री रहेका छन् । 

महिला अधिकारकर्मी एवं उतिवेला निर्मलाको न्यायका लागि सशक्त आन्दोलनमा होमिएकी शारदा चन्दले सात वर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दु:खद भएको बताइन् । ‘अहिले हाम्रो जिल्लाले गृहमन्त्री पाएको छ, त्यसैले निर्मलाले न्याय पाउने आस लिएको छु,’ चन्दले भनिन् । 

अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताइन् । ‘गृहनगरबाटै गृहमन्त्री भएको एक वर्ष भयो । उहाँबाट न्यायको अपेक्षा छ, तर एक वर्षसम्म पनि केही भएको छैन,’ उनले भनिन् । वास्तविक हत्यारा पक्राउ गरेर कारबाही हुनुपर्ने उनको माग छ । 

महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताइन् । ‘आजसम्म हत्यारा पत्ता लागेन, अब त गृहनगरकै गृहमन्त्री भएका छन्, अब पत्ता लाग्ने आशा छ,’ उनले भनिन् । 

निर्मला हत्याकाण्डका दोषी सार्वजनिकको माग अघि सारेर संघर्ष गर्दै आएको दबाबमूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले हत्यारा थाहा हुँदाहुँदै पनि सरकारले सार्वजनिक नगरेको बताइन् । ‘अहिले आफ्नै जिल्लाका गृहमन्त्री छन् । निर्मलाले न्याय पाउने आशा छ । अहिले न्याय नपाए कहिल्यै नपाउने हुन सक्छ,’ उनले भनिन् । 

निर्मलाको न्यायका लागि भन्दै आन्दोलनमा होमिएका घाइते सुरेन्द्र देउवाले आफूले अहिलेसम्म राहत नपाएको दु:खेसो पोखे । ‘निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएँ, घाइते छु, तर उपचार खर्च पनि पाइनँ,’ उनले भने । 

नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले सात वर्ष बितिसक्दा पनि निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक नहुनु दु:खद विषय भएको बताइन् । उनले अहिलेका गृहमन्त्री रमेश लेखक निर्मलाकै निर्वाचन क्षेत्रका भएकाले अन्य गृहमन्त्रीभन्दा लेखकप्रति ठुलो अपेक्षा रहेको बताइन् । ‘अहिलेका गृहमन्त्रीज्यूलाई हत्याकाण्डबारे पूरै थाहा छ । अब उहाँले निर्मलाको हत्यारा सार्वजनिक गर्ने आशा छ,’ उनले भनिन् । उनले निर्मलाको स्मृतिमा दीप प्रज्वलन र प्रशासनमार्फत पुन: सरकारको ध्यानाकर्षण गराउने बताइन् । 

निर्मलाका आमा दुर्गादेवीका तीन छोरीमध्ये निर्मला माइली हुन् । जेठीको एक वर्षअघि विवाह भयो । कान्छी दुर्गादेवीसँगै छिन् । निर्मलाकी आमा भीमदत्त– २, उल्टाखाममा बस्दै आएकी छिन् । उनी हाल भीमदत्त नगरपालिका– २ वडा कार्यालयमा सहयोगीका रूपमा कार्यरत छिन् । दोस्रो विवाह गरेपछि निर्मलाका बाबु यज्ञराज पन्त कान्छी श्रीमतीसँगै भीमदत्त– १, भाँसीमा बस्दै आएका छन् ।

समितिमाथि समिति, तर शून्य प्रगति
घटनाको अनुसन्धानका लागि ६ समिति गठन हुँदासमेत उपलब्धि शून्य छ । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले ७ भदौ ०७५ मा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठीको सरुवा गर्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले डिआइजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरे । 

एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा पनि अर्को समिति गठन गरियो । त्यसपछि एआइजी धीरु बस्न्यातको नेतृत्वको समिति बनाइयो । मैनाली र बस्न्यातको समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाही सिफारिस गर्नुबाहेक घटनाबारे यथार्थ पत्ता लगाउन सकेन ।

डिएनएविज्ञ जीवन रिजालको संयोजकत्वमा पनि समिति बनाइयो । यो समितिले भने डिएनएलाई मात्रै आधार नमान्न र अनुसन्धानको दायरा फराकिलो गर्न सुझाव दिएको थियो । डिएनएबाहेक अन्य प्रमाणबाट कसुर पुष्टि हुने अवस्था देखिएमा प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउने बाटो रिजालको समितिले खोलिदिएको थियो ।

तत्कालीन डीआइजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन भयो । डिआइजी केसी नेतृत्वको समितिले एआइजी बस्न्यातको नेतृत्वको समितिले बनाएको प्रतिवेदन खारेज गरिदियो । निर्मला हत्याकाण्ड भएपछि भीमदत्त नगरपालिका स्थानीय सरकार, सुप प्रदेश सरकार र संघीय सरकारले क्रमश: तीन, पाँच र १० लाख रुपैयाँ पन्त परिवारलाई राहत दिएका थिए । घटनाको अनुसन्धानका लागि हालसम्म झन्डै ३३ लाखभन्दा बढी खर्च भएका छ ।

कञ्चनपुरका प्रहरी प्रमुख खडकबहादुर खत्रीले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी खत्रीले हालसम्म ६५६ जनाभन्दा धेरैमाथि अनुसन्धान भएको बताए । ‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘केहीमाथि अहिले अनुसन्धान जारी छ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको थियो । ‘अहिले पनि सिआइबी र जिल्ला प्रहरीको टोलीले निरन्तर अनुसन्धान अघि बढाएकै छ,’ उनले भने, ‘तार्किक निष्र्कषमा नपुगुन्जेलसम्म अनुसन्धान जारी रहन्छ ।’ 

प्रहरीको पुरानै भाका : अनुसन्धान जारी छ

कञ्चनपुरका प्रहरी प्रमुख खडकबहादुर खत्रीले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । एसपी खत्रीले हालसम्म ६५६ जनाभन्दा धेरैमाथि अनुसन्धान भएको बताए । ‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘केहीमाथि अहिले अनुसन्धान जारी छ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको थियो । ‘अहिले पनि सिआइबी र जिल्ला प्रहरीको टोलीले निरन्तर अनुसन्धान अघि बढाएकै छ,’ उनले भने, ‘तार्किक निष्कर्षमा नपुगुन्जेलसम्म अनुसन्धान जारी रहन्छ ।’