
मेरो बाल्यकाल ताप्लेजुङको मैवाखोलामा बित्यो । परिवारको मुख्य कर्म खेती–किसानी थियो । बुबाआमाले खेतीपाती र घरगोठ समाल्नुहुन्थ्यो । बुबाआमासँगै गाईगोठ र घरको काम गर्थेँ । मेरो बाल्यकालको दैनिकी गाईगोठ, घाँस–दाउराबाट सुरु हुन्थ्यो । घरपरिवार चलाउन हिमाली भेगको दु:ख उस्तै हुन्थ्यो । म काम खोज्ने सिलसिलामा काठमाडौं आएँ ।
तर, सन् २००५ तिरको कुरा हो । विदेशी टोलीसहित भरियाको रूपमा जाँदा मकालु हिमाल गएको थिएँ । तर, दुर्भाग्य आरोण गर्न सकिए । मसँग पर्याप्त तालिम थिएन । म शरीरिक रूपमा निकै बलियो थिएँ । हिमालको अनुभव थिएन । त्यसवेला मैले हिमाललाई नजिकबाट देख्न पाएँ । त्यसपछि हिमालप्रति मेरो आकर्षण बढ्यो ।
हिमालको फेदमा जाँदा चक्लेटको खोल देख्थेँ । प्लास्टिक, चक्लेट बिस्कुटको खोल हिमालको फेदमा देख्दा किन यसरी फ्याँकेको होला भन्ने लाग्थ्यो । म भरियाकै रूपमा सगरमाथा पनि जान थालेँ । हिमालप्रति जिज्ञासा बढ्दै गयो ।
हिमालमा फोहोर देख्दा सफा गर्नुपर्छ भन्ने लाग्यो । सगरमाथा बेस क्याम्पमा आसपास झन् धेरै फोहोर देखिन्थ्यो । मलाई फोहोर नउठाई हिँड्न मन लागेन । भारीसँगै फोहोर उठाएर बोक्न थालेँ । मलाई फोहोर संकलन गर्दा पागल पनि भन्थे ।
सन् २००७ तिरको कुरा हो । आरोहणका क्रममा सगरमाथा बेस क्याम्पमा प्लास्टिकको थुप्रो देखेँ । त्यो प्लास्टिकले हिमालमा कति असर गर्छ होला भन्ने लाग्यो । यो घटना मनमा गडिरह्यो र सन् २०१० मा सगरमाथा आधार शिविरवरपर फाहोर संकलन गर्ने योजना बनाएँ । त्यसअघि मैले ‘मेरा पिक’, ‘आइल्यान्ड पिक’लगायत हिमाल आरोहण गरिसकेको थिएँ । ती हिमाल पनि फोहोर संकलन र अध्ययन गर्न चढेको थिएँ । त्यतिवेला सगरमाथाको शिरमा फोहोर कति होला भन्ने मनमा कुरा खेल्थ्यो । यही कारण सन् २०१९ मा सगरमाथाको ‘डेथ जोन’भन्दा माथिबाट सरसफाइ गर्ने योजना बनाएँ । डेथ जोन आफैँमा जोखिमपूर्ण क्षेत्र हो । यसलाई सगरमाथा आरोहण बाटोको ‘मृत्यु क्षेत्र’ भनेर पनि चिनिन्छ । त्यहाँ झन् कति फोहोर थुप्रिएको होला भन्ने सोच जाग्यो । त्यसवेला १८ सय केजी फोहोर संकलन गर्र्यौैँ । ‘डेड बडी’ पनि संकलन गरेका थियौँ । सफाइ निकै गाह्रो थियो । खुम्बु आइसफलमा हराएका शवको टुक्रा बेस क्याम्पमा समेत भेटेका थियौँ ।
त्यसपछि हिमाल सरसफाइलाई अभियानलाई झन् सशक्त बनाउन मन लाग्यो । सगरमाथासँगै कञ्चनजंघा, मकालुलगायत हिमाल सफाइ अभियान चलाएँ । अधिकांश हिमालको फोहोर संकलन गरेर सचेतना अभियान चलाएँ । हिमाल सफाइ अभियान चलाउने व्यक्ति म नै पहिलो हुँ । त्यतिवेला एक्लो अभियन्ता थिएँ ।
हिमाल सफा गर्नु सजिलो थिएन । पछि विभिन्न संघसंस्थालाई जोडेर पनि सफाइ अभियान चलाएँ । त्यसवेला हिमाल सफा राख्नुपर्छ भन्ने मान्छेमा चेतना नै थिएन । हुन त हिमाल आरोहण अध्ययनमा नगएको भए ममा पनि यस्तो सोच आउँदैनथ्यो होला । हिमालबारे धेरै कुरा सिक्न पाएँ । मेरो अभियानलाई सञ्चार माध्यम र सर्वसाधारणले खासै चासो नदिए पनि निरन्तर लागिरहेँ । चुपचाप आफ्नै सपनाको बाटोमा हिँडिरहेँ । पछि राज्यको आँखा खुल्यो र यो अभियान थप विस्तार भयो ।
जलवायु परिवर्तनको जोखिममा नेपालको सूची शीर्ष स्थानमा पर्छ । यसमा नेपालको योगदान कम भए पनि पीडा व्यहोर्नेमा अग्रस्थानमा छौँ । त्यसैले विश्वलाई झक्झकाउनैपर्छ भन्ने सोच आयो । हिमाल सफा अभियान बोकेर सगरमाथाचाहिँ अरोहण गरेरै छोड्छु भन्ने सोच बनाएँ । हिमालको फेदमा प्लास्टिकजन्य फोहोर थुप्रिएको देख्दा एकदमै चिन्ता लाग्थ्यो । एक्लैले सफा गर्न नसके पनि कम्तीमा जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । अर्काे प्रकृति बचाउनुपर्छ भनेर संसारलाई सुनाउनु पनि थियो । साथै, नयाँ पुस्तालाई प्रकृति बचाउन उत्तरदायी बनाउनुपर्छ भन्ने महसुस भयो ।
...अनि छोरालाई पनि हिमाल सफा गर्न लगेँ
सधैँ एक्लैले हिमाल सफा गर्ने अभियान चलाउन सक्दिनँ होला जस्तो लागेर चार वर्षअघिदेखि छोरालाई पनि साथै लैजाने गरेको छु । नयाँ पुस्तालाई पनि हिमाल आरोहण र सरसफाइमा जोड्दा पुस्तान्तरण हुन्छ भन्ने आशा छ । त्यसैले १७ वर्षीय छोरा (सोनाम शेर्पा)लाई अभियानमा जोडेँ ।
सन् २०२१ मा ‘हिउँ रहे पानी, पानी रहे जीवन’ र प्रकृति बचाऊ, जलवायु न्यूनीकरण भन्ने नारासहित सगरमाथा आरोहणकोे तयारी गर्यौँ । जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर सातै महादेशको हिमाल आरोहण योजना बनाएँ । जसबाट संसारभर सन्देश दिन सकिन्छ भन्ने लाग्यो । सगरमाथा आरोहणमार्फत हामीले त्यो अभियान सुरु गर्यौँ । लामो समयको प्रयासपछि १० जेठ ०७८ मा छोरा सोनाम शेर्पासँगै सगरमाथाको सफल आरोहण गरेँ ।
मैले रेकर्ड बनाउने इच्छाले कहिल्यै हिमाल आरोहण गरिनँ । मूल उद्देश्य नै फोहोर सफा गर्ने र जनचेता फैलाउने थियो । सगरमाथा आरोहण पनि अभियानकै एक हिस्सा हो । मैले सातवटै हिमाल चढ्ने योजना बनाउँदा अरू कसैले आँट गरेका थिएनन् । अहिले पनि यो अभियानमा निरन्तर लागिरहेको छु । केही समयअघि मात्रै अफ्रिका महादेशका हिमाल आरोहण गरेँ । हिमाल आरोहण आफैँमा जोखिम छ । मेरो जीवन प्रकृतिलाई समर्पण गरिसकेँ । ‘प्राण’ रहुन्जेल प्रकृति जोगाउने ‘प्रण’ गरिरहन्छु । अझै धेरै गर्न बाँकी छ ।