मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
दिल्लीको सोमबजारस्थित महाराणाप्रताप पार्कमा समूह–समूहमा तास खेल्दै
राजु स्याङ्तान काठमाडाैं
Invalid date format ११:४o:oo
Read Time : > 8 मिनेट
फिचर प्रिन्ट संस्करण

दिल्लीका दृश्यहरू

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४o:oo
  • दिल्लीमा सबथोक छ, तर सबथोक लापता छ । बोल्दैबोल्दै मान्छे लापता हुन्छ, हिँड्दाहिँड्दै बाटै लापता हुन्छ ।

दिल्लीको गल्लीमा ‘म त ढलेँ ढलेँ ढलेँ...’
सोमबजारको गल्लीमा हिँडिरहँदा अचानक एउटा गीत कानमा ठोकिन्छ, ‘म त ढलेँ ढलेँ ढलेँ ढलेँ....।’ ढल्नै लागेपछि समाउनुु मानवताको परिचय दिनु हो । अनायासै पाइला टक्क रोकिन्छन् । गीत बजेतिर मुुन्टो घुम्छ । ‘वाइवाइ पसल’ नाम गरेको दोकानमा पुुगेर आँखा ठोक्किन्छ । पसलमा मुुसुुमुुसुु हाँसेर बसिरहेको हुुन्छ, एकजना बुढो मान्छे । उसले विनम्र स्वरमा भन्छ, ‘कता हिँड्नुभएको ?’ परदेशमा यति मधुुर स्वर, त्यसमाथि नेपाली गीत अरू के चाहियो ? संगीतले तानेको पाइला त्यसैत्यसै बुढो मान्छेतिर अघि बढ्छ ।

च्यापुुमा सेतै फुलेको दारी, चाउरिएका गाला, खुइलिएको टाउको बोकेर बसिरहेको त्यो बुढो मान्छे हेर्दा लाग्छ, पक्कै मधेशतिरको नेपाली हो । वीरगन्जको कुुनै व्यापारी पनि हुन सक्छ । अर्को गीत सुुरु हुुन्छ, ‘रुकुम मैकोट, रुकुम मैकोट...।’

‘तपाईं नेपाली हो ?’ सुुरुमा पुुग्ने हरनेपालीको यही प्रश्न हुन्छ । म पनि यही सोध्न पुग्छु । मृदु मुस्कानमा उसले भन्छ, ‘म नेपाली होइन । तर, असनमा मेरो ठुलो पसल छ । काठमाडौं आउने–जाने गर्छु ।’ यता बातचित बढिरहन्छ । उता पृष्ठभूमिमा गुञ्जिरहेको नेपाली संगीतले वातावरणलाई रोमाञ्चक बनाउँछ । उसले भन्छ, ‘रासनदेखि एसीवाला कोठासम्म सबै व्यवस्था छ । चाहिए भन्नुस् ।’ अन्तिममा दोकानदारप्रति कृतज्ञ भई वाइवाइ, अन्डा, बिस्कुुटलगायत किनेर नेपाली बिदा हुुन्छ । बिदा हुुँदै गर्दा के लाग्छ कुुन्नि, दोकानदारलाई नमस्ते गर्छ । दोकानदारले मन्द मुस्कानमा नमस्ते फर्काउँदै पैसा खल्तीमा हाल्छ । दोकानदार बाटोतिर कोही नेपाली हिँडिरहेको छ कि भन्दै चियाउँछ र गीत बजाउँछ– कता हिँडेको बिजुली बालेर, हट भएर... ।

जटिल रोगको निदान खोज्दै सोमबजार पुुगेका नेपालीलाई सबै दोकान चाहार्दै हिँड्ने न फुुर्सद छ, न जाँगर । कतिलाई भाषाकै समस्या पर्छ । हरेक दिन कोही न कोही नेपालीलाई गीतले तानेर बुढो दोकानदारको अघि उभ्याउँछ । सरसामान किनेर नेपाली फर्किन्छ । आउँदा–जाँदा नेपालीले नमस्ते गर्छ, बुढो दोकानदार मुसुक्क हाँस्दै नमस्ते फर्काउँछ ।

एक दिन अर्को नेपालीले देख्छ– बुढो दोकानदारलाई कुनै नेपालीले नमस्ते गरिरहेको छ । उसलाई बोलाएर सोध्छ, ‘अन्डा कतिमा लिनुुभयो ?’ उसले भन्छ, ‘एक क्रेटको ३२० मा ।’ अर्को नेपालीले भन्छ, ‘उ त्यो पसलमा २६० मा दिन्छ ।’ बल्ल थाहा पाउँछ, त्यो गीत थिएन, दोकानदारको ट्रिक थियो । 

सङ्गीतज्ञहरू भन्थे, ‘गीतले लुट्छ ।’ हो रहेछ । हेर्नुस् त कसरी लुटेको ? संगीतको चरम दुरुपयोग योभन्दा अरू के हुन सक्ला ! भुक्तभोगीले दोकानदारको पोल खोलिदिन्छ, ‘त्यो बुढो पहिला सुनौली बोर्डरमा दोकान चलाएर बस्थ्यो रे । त्यहीँ सिकेको रे नेपाली भाषा ।’ त्यसपछि त्यो नेपाली बुढोकोमा जान छोड्छ । फोकटमा नमस्ते गरेकोमा आफैँलाई धिक्कार्छ ।

त्यो बुढो दोकानदारको पनि कम्ता दु:ख छैन । उमेर हेर्दा लाग्छ, ऊ यतिवेला गुलाम अलि, मेहदी हसन, किशोर कुमार र लता मंगेशकरका गीत गजल सुन्दै बस्नुपर्ने हो । अथवा, कुनै कृष्ण भजन, हनुमान चालिसा रट्दै बस्नुपर्ने हो । तर, के गर्नु, मजबुरी छ ।

फेरि अर्को साँझ । सोमबजारको कोलाहलबिच अर्को नेपालीको कानमा ठोकिन्छ, ‘म त ढलेँ ढलेँ ढलेँ....।’

त्यो पोर्क दोकान
बंगुरको मासु खोज्दै सोमबजारको एउटा गल्लीमा पुगेँ । पोर्क दोकानदार रिसाहा मुडमा रहेछ । खुँडा आकारको हतियार थियो, उसको हातमा । पसिना खलखली बगाउँदै झ्यामझ्याम मासु काटिरहेको थियो । अटेरी झिँगाको झुन्ड मासुवरपर भुनभुनाइरहेको थियो । ‘मैं कितनी बार कह चुकी हूँ, नहीँ मिलेगा,’ उसले एकजना दुब्लो मान्छेलाई हर्कादै भन्यो । अचानोको ठिक सामुन्ने उभिएको थियो ऊ । दोकानदार अचानोको पछिल्तिर गद्दाजस्तो अग्लो ठाउँमा बसेको थियो । मासु काट्दा हतियारको टुप्पा ती निरीह देखिने मान्छेको नाक सामुन्ने पुग्थ्यो ।

अगाडि उभिनेलाई नियालेँ । हाडछाला मात्रै छ ज्यानमा । त्यो ज्यानमा कतै छैन देशी सराबको नशा । देखिन्छ सिर्फ गरिबीको अभिछिन्न दशा । कुर्कुच्चातिर प्वाल परेको चप्पल लगाएको छ । फाटेको जाँघे कट्टु कम्बरमा जसोतसो अल्झिएको छ । काँधमा मैलो न मैलो गम्छा छ । कुमतिर सिमेन्टी या बालुवाको धुलोजस्तो केही टाँसिएको छ । उसको उमेर जाँच्न कठिन छ । हेर्दा ५० आसपासको लाग्छ । तर, उसको उमेर गरिबीले चुसेर १० वर्ष बुढो देखाएको पनि हुन सक्छ ।

पोर्क दोकानदारलाई उसले मागेको रहेछ– जम्मा २० रुपैयाँको मासु । मासुको भाउ छ, तीन सय २० रुपैयाँ किलो । २० रुपैयाँको मासु जुरेलीको टाउको जत्रो पनि आउँदैन । तर, ऊ २० रुपैयाँको मासु किन्न विवश छ । सायद ऊ भोकले रन्थनिएको थियो, आँत सुकेर हरहर भएको थियो । मासु खान नपाएको धेरै हप्ता वा महिना भएको थियो । बालबच्चा र श्रीमतीलाई झोल हालेर आज मासु खुवाउँछु भन्ने गुरुयोजनामा थियो । उसको यस्तो पनि योजना हुन सक्छ, ज्यान साह्रै दुख्यो, दर्द कम भएन । आज २० रुपैयाँको मासुसँग देसी दारु दन्काउने हो । तर, उसले २० रुपैयाँको मासु पाएन । सपनाहरू टुटेकै त थिए । यसपटक पनि त्यस्तै भयो । खुँडाजस्तो हतियार चलाउँदै पोर्क दोकानकारले भाग् भन्दै हकार्‍यो । त्यसपछि उसले बस् यति बिन्ती गर्‍यो, ‘दे दो ना साहुजी ।’ निष्ठुरी पोर्क दोकानदारलाई झिँझ्यार लाग्यो । उसको रगत उम्लियो, माथा गरम भयो । र, उसले अन्तिमपटक भाग भन्दै फेरि हकार्‍यो । मजदुरजस्तो देखिने मान्छे गल्लीमा ओझेल पर्‍यो । 

दिल्लीको सोमबजारस्थित महाराणाप्रताप पार्कमा समूह–समूहमा तास खेल्दै

तास सम्मेलन
सोमबजार नजिकै छ, महाराणाप्रताप पार्क । रुख र हरियो दुुबोले ढाकेको पार्कमा बिहान ५ बजेदेखि नै भिड लाग्छ । योगा, ध्यान गर्नेहरू एकातिर, ब्याडमिन्टन खेल्नेहरू अर्काेतिर । कुकुर डुलाउन आउनेदेखि शरीरको बोसो पगाल्न आउनेको भिडले पार्क गुुल्जार बन्छ । मान्छेको हाहाहुहुु बढेपछि चराहरूको चिरबिराहट हराउँछ । दौडिनेहरू आपसमा भन्छन्, ‘राम राम भैया, कैसे हो ?’ उताबाट उत्तर आउँछ, ‘सब् कुुछ ठिक हे भैया ।’ माहोल हेर्दा यस्तो लाग्छ, सबै खुसी छन् । दुुनियाँ सब ठिकठाक छ ।

जब घडीले बिहानको ८ बजाउँछ, अनि सुुरु हुन्छ पार्कको नयाँ स्वरूप । एकजना बुज्रुकले फरमान जारी गर्छ, ‘सबलोग इधर आजाओ ।’ पहिलो दिन जानेहरू अलमल पर्छन् । ती बुुजुु्रकले त्यहीँ पुुगेर झाँको झार्छ र लिएर जान्छ समूहमा । सबैलाई आत्मसपर्मणको शैलीमा हात खडा गराउँछ । त्यसपछि ताली बजाउँदै सुरु हुन्छ गन्ती, राम राम एक, राम राम दो, राम राम तीन...। राम नाम जप्ने क्रम १०८ पटकसम्म चल्छ । गन्ती सकिएपछि भन्न लगाइन्छ, जय श्री राम ।

ज्यान तन्काउन पार्क घुुम्नेहरू कोही बुद्धिस्ट हुन्छन्, कोही मुस्लिम, कोही जैन मार्गी हुन्छन्, कोही नास्तिक । तर, सबैलाई फेरि भन्न लगाइन्छ, ‘जय श्री राम ।’ बिहानको कथा यही सकिन्छ, अब सुरु हुन्छ बेलुुकीको कथा । 

घाम ओरालो लागेपछि पार्कमा जम्मा हुनेको भिड क्रमश: बढ्छ । रुखको शीतल खोज्दै मानिसहरू पाँच–सातजनाको समूहमा विभाजित हुुन्छन् । यस्ता समूह पाँच, १० हुँदै पचासौँ बन्छन् । परबाट हेर्दा लाग्छ, यहाँ कुनै पार्टीको महाधिवेशन जारी छ । र, यहाँ पार्टीको विधान प्रतिवेदनमा समूह छलफल हुँदै छ । तर, कहाँको हुनुु त्यस्तो । नजिक जाँदा देखिन्छ, सबैजना तासमा मस्त छन् । देश दुनियाँ भाडमँे जाओस् । सत्तामा भाजपा उक्लियोस् कि कंग्रेस । नरेन्द्र मोदीले जेसुुकै भनोस्, राहुल गान्धी जहाँसुकै पुगोस् । दुनियाँको सबसे बडा लोकतान्त्रिक मुलुुकमा सबसे बडा तास सम्मेलन राति अबेरसम्म चलिरहन्छ । तास सम्मेलनमा ठुला व्यापारीदेखि रिक्सा चालकसम्म पुग्छन् । तर, सँगै खेल्दैनन् । तासले पनि वर्ग छुट्याउँछ, धनी तासेको टिलिक्क टल्किने नयाँ तास, गरिब तासेको सल्यात्त खुइलिएको थोत्रो तास । तास खेल्दाखेल्दै कसैको माथा गरम हुन्छ । ‘मा....द्, पहेले पैसे निकालो,’ बुुरुक्क उफ्रिँदै कोही कराउँछ । जुुरुक्क उठि पनि हाल्छ । अनि फेरि खेल्न बस्छ ।

तास सम्मेलनमा भाजपाका नेतादेखि माओवादी नेतासम्म पुुग्छन् । तर, संयोग मान्नुपर्छ, सबैभन्दा ठुलो भुँडी माओवादी नेताकै हुुन्छ । उता झारखण्ड, छत्तीसगढतिर माओवादी छापामारको शरीर ढल्दा यता पार्कमा भुँडे माओवादीको हातबाट चिडीको बास्सा ढल्छ । उता मिसन सुन्दरमा भारतले मिसाइल दाग्दा यता एउटा तासे धुुलो टक्टक्याउँदै उठ्छ र भन्छ, ‘हम् नही खेलेंगे ।’

एक बिहान पार्कको नियमित दृश्य पूरै बदलियो । रामनाम गायब, तास सम्मेलन गायब । सबैको अनुहारमा त्रास, उदासी र प्रश्न । पार्कको बिचमा पुलिसले पहेंलो डोरीले सिमाना कोरेको थियो । सिमानाबाहिर सन्त्रस्त आँखाहरूको भिड थामिनसक्नु थियो । डोरीभित्र पल्टिरहेको थियो, हातखुट्टा बाँधेर मारिएको एउटा अजनबीको लास । ऊ को हो ? उसलाई कसले किन हत्या गर्‍यो ? प्रश्नको उत्तर कोहीसँग थिएन । एकजना रिक्सा चालकले भिडबाट छेउमा आएर सुनायो, ‘इधर हर दो महिनेमें एकका मर्डर होता है । कौन था, कहाँ से था, क्यों मारा गया, किसीको कुछ नहीँ पता चलेगा ।’

दिल्लीको रोहिणी सेक्टर ५ को एक गल्ली

लापता 
पार्कमा जान बन्द गरेँ । दिल्लीका गल्ली उस्सै घुमिरहेँ । हरगल्ली भरिभराउ, हरगल्ली अस्तव्यस्त । कतै बच्चा रोइरहेका, कतै मान्छे सुतिरहेका । गर्मीले खलखल्ती पसिना बगाउँदै कोही कट्टु मात्रै लगाएर ढल खनिरहेका । कतै अर्धमृत बोइलर कुखुरा शीघ्र मृत्यु पर्खिरहेका । कतै गाईले गर्‍यामगर्‍याम प्लास्टिक चपाइरहेका । कतै अस्तव्यस्त गल्लीको भित्तामा नेताका जन्मदिनका पोस्टर टाँसिएका । स्थानीय कार्यकर्ताले गुलामी बान्तामिश्रित भद्दा शब्दमा ‘तुम जियो हजारों साल’ लेखेको । यस्तो लाग्यो, मान्छेको के कुरा स्वयं गल्ली नै जुगजुगदेखि हावा र घामको पर्खाइमा तड्पिरहेका छन् ।

हरगल्लीका भित्तामा रातो रंगले लेखिएको छ, नशामुक्ति केन्द्र । यस्तो लाग्यो, पूरै दिल्ली नशामा डुुबेको छ र नशाबाट मुक्त हुने जिम्मा गल्लीका दिवारले लिएका छन् । आखिर केको नशा लागेको छ दिल्लीलाई ? महलमा बस्ने दिल्लीलाई छेउछाउका गरिब देशलाई ठुँगिरहने नशा पो लागेको छ कि ? दलित, महिला, मुस्लिम र आदिवासीलाई दिनदहाडै मार्ने नशा पो लागेको छ कि ? प्रश्नको उत्तर कोहीसँग छैन । प्रश्नहरू स्वयं लापता भएका छन् । त्यसैले त हरपार्कका दिवारमा, हरगल्लीका भित्तामा टाँसिएको छ, लापता, मिसिङ ।

जिबी रोडका गल्लीबाट कति नेपाली मिसिङ भइरहेका होलान्, यसको हिसाब छैन । पहाडगन्जको सडकमा ठेलागाडा ठेल्ने, चाँदनी चोकमा भोकै सुत्ने नेपाली कति लापता भए होलान् केही थाहा छैन । केही महिनाअघि मात्रै पहाडगन्जकै एउटा गल्लीमा अपार्टमेन्ट भत्किएर १० जना मजदुरको मृत्यु भयो । हतपत नाम खोजेँ । धन्न नेपाली परेनछन् । यसरी समाचारमै नआउने गरी कति नेपाली लापता भए होलान् ? 

मुग्लान भासिने नेपालीको लर्को अझै रोकिएको छैन । नेपालका कुनाकुनाबाट यो खुला ग्यास च्याम्बरजस्तो सहरमा नेपाली ओइरिएकै छन् । कति अँध्यारो गल्लीमा जिन्दगीलाई खुद्राखुद्रामा भजाउँदाभजाउँदै सिद्धिएका छन् । उता पहाडमा एक्लो घर मुग्लान गएको मान्छेलाई पर्खिरहन्छ । यता एउटा मान्छे दिल्लीको कुनै अनजान गल्लीमा गुमनाम अस्ताउँछ ।

हिँड्दाहिँड्दै लापता लेखिएको एउटा फोटोमा आँखा ठोकियो । धेरै बेर हेरिरहेँ । सप्तरीका एकजना मजदुर दिल्लीमा रिक्सा चलाउँछु भन्थ्यो । कतै ऊ हराएको सूचना पो हो कि ? पाँच वर्षअघि सानिमाको छोराले भनेको थियो, ‘दाइ, म त रेल चढेर दिल्ली जान्छु । उता ढावामा काम पाइन्छ ।’ त्यसपछि ऊसँग सम्पर्क भएन । यो फोटो कतै उसैको पो हो कि ? तर, मैले भुसुक्कै बिर्सें, नेपालीको फोटोको दिल्लीको दिवारमा टाँसिने हैसियत कहाँ छ र ? 

रोहिणीस्थित अवन्तिका बजारछेउ

तीन करोड ३५ लाख मान्छे खाँदिएको दिल्लीमा सम्भवत: संसारकै सबैभन्दा धेरै मजदुरको जमघट छ । तर, एउटा पनि मजदुरको चीत्कार दिवारमा कुँदिएको देखिन्न । दिवारबाट मजदुरको क्रन्दन गायब छ । कुनै पनि मजदुरले दिल्लीमा हडताल गरेको सुनिन्न । सडकबाट मजदुरको जुलुस लापता छ ।

धार्मिक समूहमा विभक्त भई कोही राम नाम जप्दै छन्, कोही अल्लाहलाई जिन्दगी जिम्मा दिएर हिँडेका छन् । कोही गुम्बामा माला जप्दै बसेका छन् । न्यायालय छ, तर न्याय लापता छ । इन्सान छन्, तर इन्सानियत लापता छ । गुम्बा छ, तर शान्ति लापता छ । पीपल छ, तर शीतलता लापता छ । ४२ डिग्री तातोमा छट्पटिरहेको दिल्लीमा सबथोक छ, तर सबथोक लापता छ । गल्ली घुमिरहँदा लाग्यो, यहाँ गाउँदागाउँदै संगीत लापता हुन्छ, बोल्दैबोल्दै मान्छे लापता हुन्छ, हिँड्दाहिँड्दै बाटै लापता हुन्छ ।

इतिहासकारहरूको दाबी छ– दक्षिण एसियामा करिब पाँच हजार वर्षअघि नगर सभ्यताको सुरुवात मोहनदोजारो र हडप्पाहरूले सुरु गरेका हुन् । त्यहाँदेखि यहाँसम्म आइपुग्दा नगर सभ्यता पूर्णत: मानवताद्वेषी, प्रकृतिद्वेषी भइसकेको छ । गाउँमा पाइला टेक्ने मान्छे नहुने, सहरमा पाइला टेक्ने ठाउँ नहुने । जसले सहर बनाउँछ, उनीहरू सधैँ लापता हुनुपर्ने, जसले सहर सिध्याउँछ उनीहरू सधैँ सहरप्रमुख बन्नुपर्ने । यो कस्तो नगर सभ्यता हो ? यो कस्तो आधुनिकता हो ? मानव सभ्यताले यो कस्तो सहर जन्मायो ? सहरवादीहरू उहिल्यै पूर्णत: असफल भइसकेको किन स्वीकार नगरेको ? यी प्रश्न आफैँ काठमाडौंमा, दिल्लीमा लापता छन् । प्रश्न सोच्नुपर्ने, उत्तर खोज्नुपर्ने मान्छे पनि मिसिङ छन् ।

विकासको नाममा, आधुनिकता र सहरिया हुने नाममा सिमेन्टीका इमारत खडा गरिए, त्यो इमारतभित्र बस्ने मान्छेको मन पनि सिमेन्टीकै बन्दै गयो । यस्तो पनि लाग्छ, एक दिन सहरबाट मान्छे लापता हुनेछ, केवल रहनेछ सिमेन्टीका खम्बाहरू । यो तितो सत्य भनिदिने कसले ? त्यो भन्ने मान्छे नै लापता छ ।

विर्सा मुन्डाहरू लापत्ता छन्, फुलनदेवीहरू लापता छन्, भगतसिंह र अवतारसिंह पाशहरू पनि लापता छन् । गौरी लंकेश र बरबर रावहरू लापता छन् । भेटिएकाहरू सबै नशामा लट्ठ छन् । नशामुक्ति केन्द्र बन्द गरेर मानवता केन्द्र कसले र कहिले बनाउने ? यो चिन्ता, चासो र प्रश्न गर्ने पनि लापता छन् ।

गाईलाई फलिफाप लोकतन्त्र
सबथोक लापता भएको दिल्लीमा गाई भने यत्रतत्र भेटिन्छन् । यति भन्न सकिन्छ, भारतमा लोकतन्त्र सबैभन्दा धेरै गाईलाई फापेको छ । दिल्लीको हरगल्ली, कुना, चोक, बजार गाईको एकछत्र राज छ । ती गाईले कुहिएको फलफूल तरकारी र प्लास्टिकबाहेक अरू केही पाउँदैनन् । तर, प्लास्टिक खाएरै भए पनि एकबारको जुनी कटाउनु नै छ ।

व्यस्त सडकमा ढसमस्स बसेर गाई पनि सोच्दो हो, ‘मनुखेको दुनियाँले के त्यस्तो नियम बनायो, जसले हामीलाई यति अमनचयन मिल्यो । हे मान्छे, अब अरू केही चाहिन्न, सिर्फ मिलाइदेऊ, घाँसे मैदान ।’ त्यसपछि गाई फुँ गर्दै नाकमा बस्न आउने झिँगा धपाउँछ र पुच्छर हल्लाउँदै आकाशतिर हेरेर प्लास्टिक चपाइरहन्छ ।

गाईलाई सडकबाट धपाउने हिम्मत कसको ? बरु सहरलाई ‘सुन्दर’ बनाउन वेलावेला हजारौँ भिखारी धपाउँछ दिल्ली । दलितलाई कुटिकुटी मार्छ दिल्ली, तर बाटो छेकिरहेको गाईलाई एक लपटा पनि लगाउँदैन । सुुकुमवासी बस्तीमा भोकले रुन्छन् मजदुर । उनीहरूका लागि रासन लिएर जाँदैन दिल्ली । तर, घरघरबाट रोटी संकलन गरेर गाईलाई खुवाउँछ दिल्ली ।

सडकमा मस्तमौला सुतिरहेको गाईले पछाडि ट्राफिक जाम गराउँछ । तर, गाईलाई छुने हिम्मत कसको ? पछाडि फसिरहेको छ, कलेज पुगेर विज्ञान पढ्नुपर्ने विद्यार्थी । अफिस पुगेर सलाम ठोक्नुपर्ने कर्मचारी । जाममा फसेको छ, प्राध्यापक, वकिल, विद्यार्थी, किसान, महिला, दलित, आदिवासी । यति मात्रै होइन, जाममा फसेको छ, एउटा विशाल लोकतन्त्र र दक्षिण एसियाली मुलुक पनि ।

अगाडि सुतिरहेको छ, गाई । गाई सुतिरहेको ठिक माथि फरफराइरहेको गेरुवा झन्डा । गाईको पछाडि जाममा फसेको छ समाज, सभ्यता, मानवता । गाईले मस्त चपाइरहेको छ, वर्तमान र भविष्यका सुनौला दिनहरू । 

आफ्ना नेताको जन्मदिनको शुभकामना दिँदै कार्यकर्ताले टाँसेको पोस्टर