मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format o९:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतारले ओलम्पिक आयोजनाका लागि दाबी गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४९:oo
  • तीन वर्षअघि फिफा विश्वकप आयोजना गरेको कतारले सन् २०३६ को ग्रीष्मकालीन तथा पारा ओलम्पिक खेलकुदको दाबी गर्ने 

फिफा विश्वकप फुटबल प्रतियोगिताको सफल आयोजनापछि कतारले ओलम्पिक खेलकुदका लागि दाबी गर्ने भएको छ । कतार ओलम्पिक कमिटीले सन् २०३६ को ग्रीष्मकालीन तथा पारा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजनाका लागि दाबी गर्ने जानकारी दिएको छ । सन् २०२२ मा मध्यपूर्वी एसियाकै पहिलो राष्ट्रका रूपमा कतारले फिफा विश्वकप आयोजना गरेको थियो । कतारले सन् २०३६ को ओलम्पिक खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यको तयारी सुरु गरिसकेको छ । 

कतार ओलम्पिक कमिटीका अनुसार खेलमैदानदेखि अन्य पूर्वाधार निर्माणको कार्य ९५ प्रतिशत पूरा भइसकेको छ । कतारको यस बृहत् योजनाले सामाजिक र आर्थिक वृद्धिमा विकास हुने अपेक्षा छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)मा कतारले छिट्टै प्रस्ताव पठाउने अध्यक्ष शेख जोआन बिन हमादले बताएका छन् । 

‘अहिले ओलम्पिक प्रतियोगितामा दाबी गर्ने उद्देश्यका साथ पूर्वाधार निर्माणको कार्य ९५ प्रतिशत पूरा गरेका छौँ,’ बिन हमादले भने, ‘बाँकी पूर्वाधारका काम प्रस्ताव पठाइसकेपछि हुनेछ ।’ उनले बाँकी पूर्वाधारका लागि पूर्ण तयारी सुनिश्चित गर्ने राष्ट्रिय योजनासहित अगाडि बढ्ने जनाए । ‘कतार ओलम्पिक कमिटी सधैँ आइओसीको मुभमेन्टअनुसार चलिरहेको छ । यो कदमले ओलम्पिक र पारा ओलम्पिक आन्दोलनप्रति कतारको दृढ प्रतिबद्धता रहनेछ,’ बिन हमादले भने, ‘विश्व खेलकुदको प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने चाहनालाई स्पष्ट पारेका छौँ ।’ 

उनले ओलम्पिक आयोजनाले कतारको योजना सामाजिक, आर्थिक र वातावरणीय दिगोपनामा आधारित दीर्घकालीन दृष्टि भएको बताए । ‘ओलम्पिक आयोजनाले हजारौँले रोजगारी पाउनेछन्, साथसाथै आर्थिक अवसर सिर्जना हुने विश्वास छ,’ उनले भने । कतारको दोहालाई ओलम्पिक सहर बनाइनेछ । ‘दोहामा ओलम्पिक खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार बनिरहेका छन्,’ बिन हमादले भने, ‘सन् २०२२ देखि निर्माण कार्य थालिएको हो ।’ सन् २०२२ को विश्वकपका लागि बनेको फुटबल रंगशाला सामान्य पुनर्निर्माणले ओलम्पिकका लागि योग्य बन्ने उनले बताए । ‘विश्वकप आयोजनाले धेरै सहयोग भएको छ,’ उनले भने, ‘यसकारण हामी ओलम्पिक आयोजना गर्नतर्फ लागेका हौँ ।’ विश्वकपका लागि कतारले तीन सय बिलियन अमेरिकी डलर खर्चेको थियो । जुन रकम नयाँ मेट्रो स्टेसन, सडक, होटेल तथा रंगशाला बनाउन खर्च भएको थियो । 

अहिलेसम्म चार राष्ट्रको दाबी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)की नयाँ अध्यक्ष किस्टी कोभेन्ट्रीले अहिलेसम्म सन् २०३६ को ओलम्पिक खेलकुद आयोजना गर्न चार राष्ट्रले दाबी गरेको जानकारी दिएकी छिन् । उनले आगामी जुनमा ओलम्पिक खेलकुद आयोजना चयन प्रक्रियामा पुनरावलोकन हुने बताएकी थिइन् । आइओसी अध्यक्ष कोभेन्ट्रीको निर्णयसँगै कतारले ओलम्पिक आयोजना दाबी गर्नका लागि गृहकार्य सुरु गरेको हो । सन् २०३६ का लागि इस्तानबुल (टर्की), अहमदाबाद (भारत), नुसान्तारा (इन्डोनेसिया) र सान्तियागो (चिली)ले समेत औपचारिक दाबी घोषणा गरिसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, इटली, जर्मनी, डेनमार्क र क्यानडाले प्रतियोगिताका लागि दाबी गर्ने योजना बनाएका छन् । 

दुईपटक असफल
कतारले ओलम्पिक आयोजनाको दाबी पहिलोपटक गर्न लागेको होइन । यसअघि कतारले २०१६ र २०२० ओलम्पिकका लागि दाबी गरेको थियो । सन् २०१६ को ओलम्पिक ब्राजिलको रियो डी जेनेरियो र सन् २०२० मा जापाानको टोकियोले आयोजना गरेका थिए । 

जापानले आयोजना गरेको ओलम्पिक निर्धारित समयभन्दा एक वर्ष ढिलो भएको थियो । आइओसीले सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक अमेरिका (लस एन्जेलस) र सन् २०३२ को ओलम्पिक ब्रिस्बेन (अस्ट्रेलिया)मा हुने घोषणा गरिसकेको छ । कतारले ओलम्पिक मात्र नभएर सन् २०३० मा एसियन खेलकुद प्रतियोगिता आयोजना गर्दै छ ।