मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १o:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सम्झौता सकिनु १ वर्षअघि नै रुम्टा खोलामा पक्की पुल

२ वर्षको ठेक्का लागेको कोइली खोला तर्ने पुल नौ महिनामै तयार

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १o:o१:oo

उदाहरणीय विकास

जैमिनी– ९ र १० सिमानाको रुम्टा खोलामा बनेको पुल

जैमिन नगरपालिका– ९ र १० वडाको सिमानामा रहेको रुम्टा खोलामा निर्माण सम्झौता सकिनु एक वर्षअघि नै पक्की पुल तयार भएको छ । कुश्मिसेरा–बरेङ शान्तिपुर सडकअन्तर्गत पर्ने रुम्टा खोलामा पुल तयार भएपछि राङखानी, बरेङ र गुल्मीको शान्तिपुरबाट सदरमुकाम बागलुङ बजार हुँदै पोखरा र काठमाडांैसम्म आवतजावत गर्ने सवारीसाधनलाई पनि सजिलो भएको छ ।

डेढ महिनाअघिबाट सञ्चालनमा आएको पुलले वैकल्पिक सडक प्रयोग गरेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता पनि हटाएको छ । पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्दप्रसाद चौधरीले आगामी १० वैशाखसम्म निर्माण अवधि भए पनि पुल तयार भएर सञ्चालनमा आएको जानकारी दिए । ‘पुल निर्माणको अधिकांश काम सकिएको छ । र, अहिले उक्त पुलबाट सवारीसाधन सञ्चालनमा आएको छ,’ उनले भने । ११ वैशाख ०८० मा सम्झौता भई निर्माण सुरु भएको उनले जानकारी दिए । पुलको दायाँ–बायाँ फाउन्डेसनको काम बर्खापछि सकिने उनले बताए ।

०५६ मा कच्ची सडक निर्माण भएपछि नियमित रूपले यातायात सञ्चालनमा आइरहेको छ, तर बर्खामा जैमनी वडा ९ पैयुँ र वडा १० राङखानीका बासिन्दा सदरमुकाम बागलुङ बजारसँग विच्छेद हुने गरेको थियो । यातायात सुचारु भएको १७ वर्षपछि उक्त स्थानमा पुल बनेपछि दक्षिणी बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको जैमिनी– १०, राङखानीका भीम श्रीषले बताए । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयले ६ करोड नौ लाख ४६ हजार तीन सय ६७ रुपैयाँमा निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन, पर्वतसँग ठेक्का सम्झौता गरेको थियो ।

२ वर्षको ठेक्का लागेको कोइली खोला तर्ने पुल नौ महिनामै तयार

वाणगंगा नगरपालिका– ९, कोइली खोलामा बनेको पुल 

कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । दुई वर्षको निर्माण सम्झौता भए पनि १५ महिनाअघि नै पुल तयार भएपछि स्थानीय हर्षित छन् ।

उक्त पुल वनगाई–मोतीपुर–भलवाड–डोहोटे सडकखण्डअन्तर्गत पर्छ, यहाँ वर्षायाममा कोइली खोला तर्न जोखिमपूर्ण थियो । तर, पुल बनेपछि वर्षायाममा आवतजावत गर्न कुनै कठिनाइ नहुने वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बताए । ‘पुल नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो । अहिले पुल निर्माण सम्पन्न भएपछि यात्रा हुने भएको छ ।’

पुलसँगै जोडिएको बाटोले पूर्व–पश्चिम राजमार्गलाई वाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोड्ने गरेको छ । जसकारण क्षेत्रीय यातायात सुधार र व्यापारिक सञ्जाललाई पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा सम्झौता भएको पुल निर्माणको काम फट्टाफुट भएकाले समयअगावै सकिएको निर्माण कम्पनी श्रेष्ठ एन्ड एनबी जेभी, बुटवलका कन्स्ट्रक्सन प्रमुख नारायणप्रसाद भट्टले बताए । पुलको लम्बाइ ७३.५ मिटर र चौडाइ १० मिटर रहेको छ । 

पूर्वपट्टिको कोइली खोला (क)मा भने यसअघि नै पुल निर्माण भइसकेको थियो । कोइली (ख)मा पनि पुल निर्माण भएपछि सो क्षेत्रको सडक सञ्जाल थप मजबुत भएको वडा नम्बर ९ का अध्यक्ष कमल पौडेलले बताए ।