मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
Invalid date format o९:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई कार्यालयको विवादमा तानातान हुँदा झडप  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१७:oo

महोत्तरीमा दुई कार्यालयबिचको स्वामित्व विवादमा दुई पक्षबिच तानातान भई झडप हुँदा पाँचजना घाइते भएका छन्। गौशाला नगरपालिका र निगौल गाई गौशालाबिच जग्गा तथा सो जग्गामा लगाइएको बजारबापतको बट्टी रकममा विवाद हुँदा यस्तो अवस्था सिर्जना भएको हो।

सोमबार बिहान भएको झडपमा गौशाला नगरपालिका– २ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, सोही वडाका विजय यादव र सुरेन्द्र महतो छन् भने वडा नं. ४ का विपिन साह तथा सुनील साह घाइते भएका हुन् । घाइतेमध्ये वडा नं. २ का वडाध्यक्ष तथा थप दुईजना रेफर भई थप उपचारका लागि काठमाडौं पुगेका छन् । यता वडा नं. ४ का दुई घाइते दाजुभाइ रहेको र दुवैको बर्दीबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेको टाउकोमा भाटाले प्रहार भई उनीहरूको टाउको फुटेको थियो । हाल सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

गौशाला नगरपालिका– ५ स्थित कित्ता नं. ८२, ८३ र ८४ मा रहेको दुई बिघा १९ कट्ठा ११ धुर जग्गाको लालपुर्जा निगौल गाई गौशालाको नाममा रहे पनि सोही जग्गामा वर्षौँदेखि पशु हाट (गोरुबजार) लाग्दै आएको र सो जग्गामा पहिले नमुना गाउँ विकास समिति र पछि गौशाला नगरपालिकाले बजार व्यवस्थापन गर्दै आएको हो। ०७० सालमा नमुना गाउँ विकास समिति र निगौल गाई गौशाला बजार ठेक्काबाट उठेको रकमको २५ प्रतिशत गाई गौशालालाई दिने भनी आर्थिक वर्ष ०७३/७४ सम्मको सम्झौता भएकोमा सोही सम्झौताबमोजिम नमुना गाउँपालिका र पछि नगरपालिकाले समेत रकम नदिएपछि विवाद चुलिएको हो।

गाई गौशालाका प्रमुख वीरबहादुर चौधरीले सम्झौता भएको वेलादेखि हालसम्मको करिब पाँच करोड रकम गाई गौशालाले नगरपालिकाबाट पाउनुपर्नेमा हालसम्म एक सुकोसमेत नपाएको उनले बताए। उनले गाई गौशालाको स्वामित्वको जग्गामा नगरपालिकाले बजार लगाएर सोबापतको रकम नगरपालिकामै राखेर गाई गौशालाको हक नदिएपछि आफूहरूले यस वर्षदेखि आफैँ बजार अमानतमा दिएपछि नगरपालिका पक्षबाट प्रहार भएको आरोप लगाए। उनले यसपटकदेखि बजार ठेक्का नलगाउन भन्दै गौशाला नगरपालिकालाई पहिले नै पत्र पठाइसकेको कार्यालय प्रमुख चौधरीको दाबी छ। यता वर्तमान स्थितिलाई मध्यनजर गर्दै समाधान निकाल्ने र सरसल्लाहकै लागि समेत निगौल गाई गौशालाले बुधबार बिहान सर्वदलीय बैठकसमेत डाकेको छ ।

यता मंगलबार गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्रकुमार महतोले पत्रकार सम्मेलन गर्दै गाई गौशालाका कर्मचारी तथा केही गलत तत्त्वले नगरपालिकाले विधिसम्मत लगाएको बजार ठेक्कालाई प्रभावित गर्दै वडाध्यक्षसहितका व्यक्तिहरूलाई घाइते बनाएको आरोप लगाए। उनले नेपालको संविधानको अनुसूची ८ मा स्थानीय बजार व्यवस्थापन स्थानीय तहको एकल अधिकारको सूचीमा रहेको तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ मा नगरपालिकाको वित्तीय अधिकार क्षेत्रभित्रको हाटबजार ठेक्का बन्दोबस्त गर्ने व्यवस्थाबमोजिम नगरपालिकाले सो बजार ठेक्का लगाउँदै आएको बताए । उनले नगरपालिकाले संविधानबमोजिम गरेको कार्यमा हस्तक्षेप गर्दै व्यक्तिसमेतलाई घाइते बनाउनेउपर कानुनी कारबाहीको मागसमेत गरे ।