मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o७:o३:oo
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्यालाई एमालेमा ‘प्रतिबन्ध’

भण्डारीको पक्षमा पदाधिकारीसहित तीन दर्जनको मत 

Read Time : > 9 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o३:oo
  • पार्टी विधान, संवैधानिक मूल्य–मान्यता, नैतिक मानक र विगतका नजिर देखाउँदै विद्याको सक्रिय राजनीतिमा बार, ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाएर तेस्रो कार्यकाल अध्यक्ष बन्न ओलीका लागि बाटो भने खुला 

आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिने योजनासहित सक्रिय राजनीतिको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टी राजनीतिमा ‘प्रतिबन्ध’ लगाएको छ । मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मानक र विगतका नजिरहरूका आधारमा भण्डारीको पुन: प्रवेशमा प्रतिबन्ध लगाएको हो । सो निर्णयसँगै उनको पार्टी सदस्यता स्वत: रद्द भएको छ । 

बैठकको समापन सत्रमा अध्यक्ष केपी ओलीले उक्त निर्णय सार्वजनिक गर्दै पूर्वराष्ट्रपतिले अब राजनीतिक भूमिकाबाट अलग रहनुपर्ने पार्टीको औपचारिक धारणा प्रस्तुत गरेका थिए । तर, यो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन् । साथै, उनीहरूले बैठकमै ‘नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका छन् । एमालेको पछिल्लो निर्णयले आन्तरिक बहस र शक्तिसंघर्ष थप चर्काउन सक्ने कतिपय नेताको बुझाइ छ ।

अर्कोतर्फ ओलीले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाएर तेस्रो कार्यकालका लागि आफू अध्यक्ष बन्ने बाटो भने खुला गरेका छन् । विधान अधिवेशनबाट यसलाई अनुमोदन गराउने ओलीको रणनीति छ । 

बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन पार्टी विधान र मर्यादाले नदिने भन्दै पार्टी सदस्यता नवीकरणमा रोक लगाउन गरेको अध्यक्ष ओलीको प्रस्ताव पारित गरेको हो । ‘पूर्वराष्ट्रपति विद्या भण्डारी राज्यको सर्वोच्च पदमा पुगेको सम्मानित अभिभावक हुनुहुन्छ । त्यस्तो व्यक्तिलाई पार्टीमा फर्काएर कार्यकर्तामा सीमित गर्दा उहाँको मात्र होइन, गणतन्त्रको र पार्टीकै अपमान हुन्छ,’ ओलीले निर्णयार्थ पेस गरेको प्रस्ताव उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने, ‘उहाँको सदस्यता नवीकरण गर्नु भनेको पार्टी नेता बनाउनु हो, अध्यक्ष बनाउन खोज्नु हो । त्यसैले उहाँलाई सम्मानित रूपमा पार्टीबाहिर राख्दा नै हाम्रो प्रणालीको, पार्टीको र उहाँ स्वयंको हित हुने भएकाले प्रस्ताव पारित गरिदिन आग्रह गर्दछु ।’

बैठक समापनमा ओलीले पूर्वराष्ट्रपतिको महत्वाकांक्षा र राजनीतिमा फर्किने सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए । ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै पूर्वराष्ट्रपति भण्डारीको कडा आलोचना र निन्दासमेत गरेका छन् ।

ओलीले संगठन विभागले दुई वर्षपहिले नै गरेको सदस्यता नवीकरण अमान्य हुने सुनाएका थिए । ‘उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन,’ ओलीको भनाइ थियो, ‘उहाँले सदस्यता त्यागिसकेको अवस्था हो । त्यसैले पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ । पार्टी विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ ।’

करिब दुई घण्टा सम्बोधन गरेर लामो पृष्ठभूमिसहित भण्डारीलाई रोक्न गरेको प्रस्तावमाथि नेताहरूले प्रतिवाद गरेपछि केहीबेर होहल्लाले तनाव भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । ओलीले प्रस्ताव गर्नेबित्तिकै उपाध्यक्ष पाण्डेले तत्कालै प्रतिवाद गर्दै आवेग र उत्तेजनामा आएर पार्टीलाई क्षति पुर्‍याउने प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्न ध्यानाकर्षण गराएका थिए । साथै, उनले समय लिएर केन्द्रीय सचिवालयमा थप आवश्यक छलफल गरेर मात्र निर्णय लिन उपयुक्त हुने बताएका थिए ।

पाण्डेको त्यस्तो प्रस्तावबाट आक्रोशित ओलीले पाण्डेलाई बिचमै रोक्न खोजेपछि केहीबेर उनीहरूबिच नोकझोक चलेको थियो । ‘तपाईं के भन्न खोज्नुहुँदै छ ? छलफलबाट के निष्कर्ष आएको छ ? यसले पार्टीको हित गर्दैन भनेर के भन्न खोजेको ?’ ओलीले भनेका थिए ।

जवाफमा पाण्डेले सम्हालिएर मात्र निर्णय गर्नुपर्ने भन्दै ‘थप छलफल गरौँ, यसले तलैसम्म पार्टीलाई क्षति पुर्‍याउन सक्छ भन्ने पक्षलाई हेक्का राखौँ’ भनेका थिए । पाण्डेले जस्तै ज्ञवालीले पनि थप छलफल गरेर पछि निर्णय गर्न प्रस्ताव गरेका थिए । त्यसअघि ओलीले बैठक समापन गर्नेक्रममा बोल्न सुरु गर्ने तयारी गरेलगत्तै स्थायी समिति सदस्य कर्णबहादुर थापाले बोल्ने समय माग गर्दा पनि ओलीले अब पुग्यो भन्दै बिचैमा रोकेका थिए ।

सुझबुझविनै आवेगमा गरेको त्यस्तो प्रस्तावले एमालेलाई क्षति पुर्‍याउन सक्ने भन्दै उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले गरेको प्रतिवाद र होहल्लाबिच ओलीको प्रस्ताव बहुमतले पारित गरेको हो । पाण्डे र ज्ञवालीसहित स्थायी समिति सदस्य थापाले निर्णयप्रति घोषित रूपमै असहमति राखेका छन् ।

ओलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विधानको धारा ८ र ९ मा सदस्यता त्याग र प्राप्तिको सन्दर्भमा भण्डारीको प्रक्रिया नै नमिलेको र आवश्यक परामर्श पनि नभएको भन्दै पार्टी सदस्यता नवीकरण गर्ने कुराले गणतन्त्र गौरवका रूपमा सम्मानित उनकै व्यक्तित्वको समेत अपमान हुने तर्क गरेका थिए । ‘सबै पार्टी बोलाएर उहाँलाई गणतन्त्र गौरवले सम्मान गरेको पनि राजनीतिक दलको राजनीतिभन्दा माथि हो भनेरै हो,’ उनले भने, ‘राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ । पार्टीले उहाँलाई सम्मान गर्छ ।’

बैठकको निर्णय सुनाउँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने–

हामीले दुईपटक बनाएको राष्ट्रपतिलाई पलपल धेरै सम्मान गरिरहेका छौँ भने त्यस्तो व्यक्ति दलमा आएर कार्यकर्ता हुने कुरा गम्भीर प्रकृतिको नयाँ अभ्यास हुने भो । यो व्यक्तिको कुरा होइन, प्रणाली र संविधानको कुरासमेत भएकाले ती सबै बहुआयामिक पक्षलाई ध्यान दिएर पार्टीमा नफर्काउने निष्कर्ष निकालिएको हो ।

केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको प्रचार विभाग राजेन्द्र गौतमले बताए । ‘उहाँअघिका पूर्वराष्ट्रपतिहरू पूर्वराष्ट्रपतिकै हैसियतमै बस्नुभएको छ । हामीले दुईपटक बनाएको राष्ट्रपतिलाई पलपल धेरै सम्मान गरिरहेका छौँ भने त्यस्तो व्यक्ति दलमा आएर कार्यकर्ता हुने कुरा गम्भीर प्रकृतिको नयाँ अभ्यास हुने भो । यो व्यक्तिको कुरा होइन, प्रणाली, संविधानको कुरासमेत भएकाले ती सबै बहुआयामिक पक्षलाई ध्यान दिएर पार्टीमा नफर्काउने निष्कर्ष निकालिएको हो,’ गौतमले भने । उनका अनुसार बैठकमा अध्यक्ष ओलीले राष्ट्राध्यक्षको हैसियतमा पुगेको व्यक्तित्वको सम्मानका लागि पार्टीमा नफर्काउने निर्णय गर्नु उपयुक्त हुने भनेर प्रस्ताव राखेका थिए ।

आगामी २० देखि २२ भदौसम्म हुने विधान महाधिवेशन तयारीका लागि बोलाइएको सचिवालय बैठकअगावै सार्वजनिक अन्तर्वार्तामार्फत भण्डारीलाई कुनै हालतमा राजनीतिमा नफर्काउने अभिव्यक्ति दिएका ओलीले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा पनि त्यस्तै अभिव्यक्ति दोहोर्‍याएका थिए । उनले पार्टीका पोलिटब्युरो र केन्द्रीय सदस्यहरूलाई भण्डारीको पक्षमा खुले अनुशासनको कारबाही हुने चेतावनी नै दिएर बैठकस्थलमै नेताहरूमाथि दबाब सिर्जना गरेका थिए । बैठक चलिरहेकै बिचमा पार्टीका प्रदेश इन्चार्जमार्फत सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यहरूको अलग–अलग भेला राखेर भण्डारीको पुनरागमनको विपक्षमा मत जाहेर गर्न निर्देशन नै जारी गराएका थिए ।

बैठकमा दबाब सिर्जना गरिएपछि करिब दुईतिहाइ केन्द्रीय सदस्यले एघारौँ महाधिवेशनबाट ओली पुन: अध्यक्ष बन्न बाटो खुल्ने गरी प्रस्ताव गरिएको ७० वर्षे उमेरहद हटाउने र दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने विधान संशोधन प्रस्तावको पक्षमा धारणा राखेका थिए । यद्यपि, बैठकमा करिब तीन दर्जनजति केन्द्रीय सदस्यले मुखर र मझधारमा बसेर पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्न नहुने पक्षमा धारणा राखेका थिए ।

‘नेपालको संविधानको भाग ६ र धारा ६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ । धारा ६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुनेछ भनिएको छ । धारा ६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘यस हिसाबले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग २८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टीविशेषको विषय होइन । राजनीतिक विषय हो ।’

भण्डारीको पक्षमा पदाधिकारीसहित तीन दर्जनको मत 
एमालेको सचिवालय बैठक हुँदै केन्द्रीय कमिटीसम्म करिब तीन दर्जन नेताहरूले राजनीतिमा भण्डारीको पुनरागमनको पक्षमा मत जाहेर गरेका छन् । अध्यक्ष केपी ओलीले नै भण्डारीको पुनरागमनबारे जथाभावी नबोल्न सचेत गराउँदै कारबाहीको चेतावनी दिँदादिँदै पनि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा उनीहरूले राजनीति दाउमै राखेर पनि खुलेका छन् । बैठकमा बोल्नेमध्ये कतिपयले उनको पक्षमा मुखर ढंगले वकालत गरे भने कतिपयले संवाद र समझदारीमा जोड दिँदै सदस्यता रोक्न नहुने धारणा राखे ।

सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अवरोध गर्न नहुने भन्दै मुखर रूपमा प्रस्तुत भएका थिए । अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई र गोकर्ण विष्टले मझदारमा बसेर भण्डारीलाई सहयोग पुग्ने गरी अभिव्यक्ति राखे । उनीहरू नोट अफ डिसेन्ट लेख्नसमेत तयार थिए, तर अध्यक्ष ओलीले खुला छलफल गराउने र भण्डारीसँग पनि छलफल गरेपछि मात्र निर्णयमा पुग्ने भन्दै रोकेपछि समझदारीमै सचिवालयबाट उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको थियो । बैठकमा सचिव लेखराज भट्टले तटस्थताको नीति समाएर बोलेका थिए । 

पोलिटब्युरोमा नेताहरू गोकुल बाँस्कोटा, आनन्दप्रसाद पोखरेल, कर्णबहादुर थापा, अरुण नेपाल, कृष्णबहादुर राई, जगत विश्वकर्मा, थममाया थापा, सीता पौडेल, परशुमेघी गुरुङ, भीम आचार्य, पुरुषोत्तम पौडेल, मुकुन्द न्यौपानेले भण्डारीको पक्षमा सहयोग पुग्ने गरी मत राखेका थिए । केन्द्रीय कमिटीमा सोमबारको बैठकमा दिवाकार देवकोटा, इन्द्रलाल सापकोटा, रमेश पौडेल, रवीन्द्र अधिकारी, रचना खड्का, अरविन्द सिंह, कृष्ण पौडेल, कृष्ण थापाले पनि भण्डारीको पक्षमा बोले । मंगलबारको बैठकमा माधव ढुंगेल, कैलाश ढुंगेलले पनि मझदारबाट भण्डारीकै पक्षमा वकालत गरे । दुवैले अध्यक्ष ओलीले भण्डारीसँग परामर्श गरेर सदस्यता टुंग्याउनुपर्ने मत राखे ।

त्यस्तै, केन्द्रीय सदस्यहरू मञ्जु भण्डारी, युवराज बाँस्कोटा, केदार न्यौपाने, रामलाल साह, सिर्जना राई, शिव सुवेदी, पार्वती रावल, उषाकिरण तिमल्सिनालगायतले पनि पक्षमै मत जाहेर गरे । तिमल्सिनाले अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरण गर्नुपर्ने मत राखेकी थिइन् । भण्डारीकै पक्षमा खुल्ने तयारीमा रहेका पोलिटब्युरो सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य विद्या भट्टराई भने बैठकमा उपस्थित भए पनि बिसन्चोका कारण नबोली फर्किका थिए ।

तीन नेताको नोट अफ डिसेन्ट
विद्यालाई रोक्ने निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापाले असहमति जनाएका छन् । साथै, उनीहरूले बैठकमै ‘नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका छन् । बैठकमा पाण्डेले भनेका थिए, ‘आवेग र उत्तेजनामा आएर पार्टीलाई क्षति पुर्‍याउने काम नगरौँ । समय लिऔँ र केन्द्रीय सचिवालयमा थप आवश्यक छलफल गरेर मात्र निर्णय गरौँ ।’ पाण्डेको प्रस्तावबाट आक्रोशित ओलीले पाण्डेलाई बिचमै रोक्न खोजेपछि केहीबेर उनीहरूबिच नोकझोक चलेको थियो । ‘तपाईं के भन्न खोज्नुहुँदै छ ? छलफलबाट के निष्कर्ष आएको छ ? यसले पार्टीको हित गर्दैन भनेर के भन्न खोजेको ?’ ओलीले भनेका थिए । जवाफमा पाण्डेले सम्हालिएर मात्र निर्णय गर्नुपर्ने भन्दै ‘थप छलफल गरौँ, यसले तलैसम्म पार्टीलाई क्षति पुर्‍याउन सक्छ भन्ने पक्षलाई हेक्का राखौँ’ भनेका थिए । पाण्डेले जस्तै ज्ञवालीले पनि थप छलफल गरेर पछि निर्णय गर्न प्रस्ताव गरेका थिए । 

अब के गर्छिन् विद्या ?
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आवश्यक परामर्शपछि मात्र आगामी कदमबारे पूर्वराष्ट्रपति भण्डारी निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘थप सल्लाह लिनुहुन्छ, त्यसपछि मात्र उहाँ अगाडि बढ्नुहुनेछ ।’ उनीनिकट कतिपय नेताहरूले भने पूर्वराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन संविधानले अवरोध नगरेका कारण कानुनी उपचारको बाटो खोज्न सकिने बताए । भण्डारीले आफूलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेतृत्वका लागि अगाडि सार्ने विकल्प पनि खोज्न सक्छिन् ।

मंगलबार दिउँसो मात्रै विद्याले भनेकी थिइन्–चुप लागेर बस्दिनँ, माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

एमाले केन्द्रीय कार्यालय च्यासलमा मूलत: विधान महाधिवेशनकेन्द्रित एजेन्डामा छलफल चलिरहँदा पूर्वराष्ट्रपति विद्या भण्डारीले भंगालस्थित निजी निवासमा मंगलबार अचानक ‘मिडिया ब्रिफिङ’ गरिन् । पार्टी अध्यक्ष केपी ओली र उनको समूहले भण्डारीको सक्रिय राजनीति रोक्न सम्पूर्ण शक्ति लगाइरहेका वेला उनले च्यासललाई फेरि आफ्नो ‘कमब्याक’ योजनाको प्रस्ट सन्देश दिएकी छिन् । 

करिब दुई घण्टा लामो संवादमा उनले एमालेभित्रको शक्तिसंघर्ष, आफ्नो भूमिकामाथि उठेका शंका र अध्यक्ष ओलीको रणनीतिविरुद्ध मुखर रूपमा धारणा राखिन् । उनले ‘माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ भनेर ओली अवरोधसँग आवश्यक संघर्षको नीति पनि सार्वजनिक गरिन् । यी सबै घटनाक्रमले ओलीसँग लामो सम्पर्क र संवादमै रहेकी भण्डारी बैठक चलिरहेकै बिचमा किन मुखर रूपमा प्रस्तुत भइन् ? भन्ने प्रश्न जन्माएको छ । 

आगामी २०–२२ भदौसम्म डाकिएको विधान महाधिवेशनको तयारीका लागि एक सातादेखि सचिवालय, पोलिटब्युरो हुँदै दुई दिनदेखि केन्द्रीय कमिटी बैठक जारी छ । यही सेरोफेरोमा ओली र भण्डारी समूहबिच शीतयुद्ध चलेको छ । च्यासलको बैठकमै हलचल मच्चिने गरी भण्डारीले पोखेको पीडाले आगामी दिनमा एमालेभित्रको शक्तिसंघर्ष थप पेचिलो हुने जनाउ दिएको छ ।

मंगलबार पौने १ देखि करिब साढे दुई बजेसम्मको लामो कुराकानीमा भण्डारीले राष्ट्रपतिबाट अवकाशपछिका घटनाक्रम, एमालेमा पुनरागमनका लागि लिइएको निर्णय र त्यसपछिको क्रिया–प्रतिक्रियाबारे शृंखलाबद्ध ब्रिफिङ गरिन् । ओलीसँग च्यासल कार्यालयमा भएको पछिल्लो भेटवार्ता, बैठकहरूमा ओलीको प्रस्तुति र उनको योजनाबारे सुरुमै सञ्चारकर्मीहरूले पृष्ठभूमिसहित जिज्ञासा राखेपछि भण्डारीले कालो चिया पिउँदै ब्रिफिङ सुरु गरेकी थिइन् । 

उपस्थित सञ्चारकर्मीहरूका अनुसार राष्ट्रपति बन्ने आफ्नो योजना नभए पनि ओलीको आग्रह र पार्टीको हितलाई समेत मध्यनजर राखेर रोजाइभन्दा पनि बाध्यताले पद सम्हाल्न पुगेको विषयबाट उनले ब्रिफिङ सुरु गरेकी थिइन् । ‘राष्ट्रपति बन्ने मेरो योजना थिएन, तर पार्टीको आग्रह र परिस्थितिको बाध्यतामा पद सम्हालेकी हुँ,’ उनले भनिन् । राष्ट्रपतिमा रहँदा पार्टी नीतिको सम्मान गर्दै इमानदारीपूर्वक भूमिका निभाएको दाबी गर्दै उनले थपिन्, ‘त्यति वेला नेताहरूले मलाई प्रतिस्पर्धी ठानेर आँखाको कसिंगर बनाएका थिए ।’

भण्डारीको थप भनाइ थियो, ‘एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको महिला अध्यक्ष भएर इतिहास बनाउने मौका थियो नि त्यो । तर, मैले पार्टीको आवश्यकता र नेताहरूको सहजतालाई बुझ्नुपथ्र्यो । मैले त्यही हिसाबले निर्णय लिएकी हुँ ।’ 

उनले शुभेच्छुक नेता–कार्यकर्ताले मात्र होइन परिवारका सदस्यहरूले समेत जननेता मदन भण्डारीको सपना साकार पार्नका लागि पनि राष्ट्रपति पदभन्दा पनि सक्रिय राजनीतिमै रहन सुझाव दिँदादिँदै ओलीको सुझाव ग्रहण गर्दै राष्ट्रपति बनेको प्रसंग सुनाइन् । ‘जननेता मदन भण्डारीको सपना साकार पार्नका लागि पनि तपाईंले पार्टीकै नेतृत्व गर्नुपर्छ, अहिले सक्रिय राजनीति छोड्ने उमेर र समय दुवै होइन भनेर छोरीहरूले पनि सुझाव दिएका थिए । तर, मैले पार्टी निर्णयलाई शिरोपर गरेर अन्तत : राष्ट्रपति बन्ने निर्णय लिएँ,’ उनको ब्रिफिङ थियो । 

आफ्नो ब्रिफिङमा भण्डारीले राष्ट्रपतिको कार्यकालपछि राज्यबाट प्राप्त कुनै सेवा–सुविधा नलिएको र ओलीकै जानकारीमा दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरेको सुनाइन् । तर, पछिल्ला घटनाक्रमले ओली सशंकित भएको उनले जनाइन् । पार्टी सदस्यता नवीकरणसँगै आफ्नो देश दौडाह, नयाँ वर्षको शुभकामना सन्देशपछि भने ओली सशंकित बनेको आशयसहित उनले ब्रिफिङ सुनाइन् । 

पोलिटब्युरो बैठक चलिरहेकै बिचमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमबाट आफ्नो सदस्यता ‘पेन्डिङ’मै रहेको तथा पार्टी विधानले नयाँ सदस्यता लिनुपर्ने व्यवस्था गरेको ब्रिफिङ गरेपछि आश्चर्यचकित भएर तत्काल अध्यक्षसँग टेलिफोन संवाद गर्ने प्रयास गरेको उनको भनाइ थियो । ‘अध्यक्षसँग सम्पर्क भएन, पछि उहाँसँग कुराकानी भएपछि उहाँले बालुवाटारमै बोलाउनुभएको थियो । तर, मैले पार्टी कार्यालय नआएको लामै समय भयो, त्यहीँ भेटौँ भनेपछि उहाँ पनि राजी हुनुभयो,’ भण्डारीको ओलीसँग च्यासलमा भएको भेटको पृष्ठभूमि सुनाइन् । 

त्यसपछि भण्डारीले ओलीको गतिविधिको प्रतिवाद मात्रै गरिनन्, आफू पछि नहट्ने गरी एमालेको राजनीतिमा फर्किएको सन्देश दिँदै जवाफ पनि फर्काइन् । र, आफ्नो भावी रणनीतिबारे सुनाइन्– ‘जुनसुकै परिस्थितिमा पनि खुट्टा कमाउँदिनँ ।’ 

भण्डारीले ओलीसँगको सम्बन्धमा कहाँबाट दरार आयो भन्ने पनि खुलासा गरिन् । उनका अनुसार नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिएदेखि बिस्तारै सम्बन्ध टाढिँदै गएको उनले बताइन् । ‘म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि एमालेका नेताहरू निवासमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए, म पनि सक्रिय राजनीतिमा फर्कने योजनामा थिएँ,’ भण्डारीले भनिन्, ‘नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो । त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुँ ।’ पछिल्लो घोषणा ओलीको जानकारीमै भएको उनले बताइन् । 

भण्डारीले ओलीले जननेता मदन भण्डारीको हीरकजयन्ती कार्यक्रमलाई समेत अवरोध गरेको आरोप लगाइन् । ‘वरिष्ठ उपाध्यक्ष (ईश्वर पोखरेल) लाई हीरकजयन्ती कार्यक्रमको संयोजक बनाउनुपर्‍यो भनियो, तर अध्यक्षजीले पदाधिकारीको पार्टीमै काम हुन्छ, अन्य काममा लगाउन हुन्न भन्ने जवाफ दिनुभयो । त्यसपछि डोरमणि पौडेलको नेतृत्वमा समिति बनाइएको हो । उहाँले जनसंगठनका मानिस पनि हीरकजयन्ती मनाउने समितिमा बस्न हुँदैन भन्नुभयो,’ भण्डारीले भनिन् ।

भण्डारीले ओलीको नेतृत्वशैलीप्रति गम्भीर आपत्ति जनाइन् । ‘पार्टीमा अब अरूले केही चलाउन सक्दैनन् भन्ने भ्रम उहाँमा छ । अरू सबै केटाकेटीजस्ता लाग्न थालेको छ,’ उनले भनिन् । उनले दुई कार्यकाल र ७० वर्षे सीमा आफैँले ल्याएर अहिले त्यही सीमालाई लत्याउने प्रवृत्ति देखिएको आरोप लगाइन् । ‘पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेरहद उहाँले पहिला लोकतान्त्रिक हिसाबले प्रस्तावका रूपमा ल्याउनुभयो, तर नेतृत्वमा पुगेपछि आफ्नै विचार बिर्सिनुभयो,’ भण्डारीले भनिन् । 

भण्डारीले सक्रिय राजनीतिमा फर्कने निर्णय पहिल्यै ओलीसँगको समन्वयमा लिएको जनाइन् । आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने भन्नेबारे यसअघि नै पटक–पटक अध्यक्ष ओलीसँग कुरा भए पनि अहिले आएर उहाँले दिएका प्रतिक्रियाप्रति अचम्म लागेको उनले सुनाइन् । उनले १४ असारमा पनि राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणबारे सार्वजनिक रूपमा बोल्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नेबारे भन्दै छु भन्नेसमेत जानकारी गराएको बताइन् । ‘त्यो वेला उहाँले हुन्न भन्नुभएन । नकारात्मक कुरा गर्नुभएन । ठिकै छ, भन्नुभएको हो,’ उनले भनिन् । 

जबजको मर्म र भावनाअनुसार पार्टी नचलेको बताउँदै वडादेखि प्रदेश, केन्द्र र मन्त्री एवं राजदूतसम्म पुग्नेले जबजको भावनाअनुसार काम गर्नुपर्ने धारणा राखिन् । उनले विचारलाई बलियो बनाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरिन् । ‘सफ्ट पावर भनेकै विचार हो । कुनै हुरी, बतास उडेर आउँदा पनि उभिने भनेको विचारले हो,’ भण्डारीले भनिन्, ‘विचार भनेको त बन्दुकको नालले पनि ढल्दैन । हामीले कार्यकर्तालाई विचारले सुसज्जित गर्दै जानुपर्छ ।’ विधानले गरेको व्यवस्थालाई संशोधन गरेको बारेमा भण्डारीले सबै नेताहरू ७० वर्षे उमेरनजिक पुगेकाले उनीहरू चुप लागेको बताइन् । 

संवादको समापनमा एमाले विचार र जबजको मर्मबाट विचलित हुँदै पद र पैसाको बाँडफाँटमा सीमित भएको सुनाइन् । र, भनिन्, ‘पद र पैसा बाँडेर कतिन्जेल पार्टी चल्छ ? विचार गुमेपछि पार्टी पनि गुम्छ । म अब चुप लागेर बस्दिनँ । म राजनीतिमा अघि बढेँ, माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ । ’