
सात दिनमा बनाए करिब पाँच सय मिटर तटबन्ध
कान्द्रा नदीको कटानले बस्ती जोखिममा पर्नुका साथै खेतबारी बगाएर लैजान थालेपछि कैलालीको भजनी नगरपालिका– ४, झलझलियाका स्थानीय श्रमदानबाट जैविक तटबन्ध निर्माणमा जुटेका छन् । स्थानीयले बाँस, डोरी, झारपात र बोराको प्रयोग गरेर जैविक तटबन्ध बनाइरहेका छन् । जिल्लाभरिमै भजनी बर्खायाममा कटान, डुबान र बाढीजस्ता विपत्बाट सबैभन्दा बढी प्रभावित हुने पालिका हो ।
झलझलियाका भल्मन्सा भरतप्रसाद चौलागाईंले नदीले बस्ती नै बगाएर लैजाने अवस्था आएकाले आफूहरू जैविक तटबन्ध निर्माणमा जुटेको बताए । उनका अनुसार गाउँमा रहेका करिब चार सय घरधुरीले तटबन्ध निर्माणको श्रमदानमा भाग लिइरहेका छन् । ‘सात दिनअघि काम सुरु गरेका हौँ । करिब पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरेका छौँ,’ उनले भने ।
तटबन्ध निर्माण गरेर बस्ती जोगाइदिन स्थानीय, प्रदेश र संघ सरकारसँग गुहार मागे पनि सुनुवाइ नभएपछि आफैँ जैविक तटबन्ध निर्माण गरेर कटान नियन्त्रणको प्रयास थालिएको चौलागाईंले बताए । ‘कटानले गाउँमा धेरैका खेत बगिसके । तटबन्ध बनाएन भने एक–दुई वर्षमै बस्तीसमेत नदीले लैजाने अवस्था छ,’ उनले भने, ‘तटबन्ध बनाइदिन यहाँका जनप्रतिनिधि, स्थानीय, प्रदेश र संघ सरकारलाई गुहार्यौँ । कसैले पनि सुनुवाइ नगरेपछि नदी नियन्त्रणको प्रयासमा आफैँ जुटेका हौँ ।’
स्थानीयले बाँसको बार बनाएर त्यसको छेउतिर झार राख्ने तथा बोरामा बालुवा भनेर जैविक तटबन्ध बनाइरहेका छन् । बाँस किन्न, बोरा ढुवानी गर्न तथा श्रमदानका वेला खाजा र पानीको व्यवस्थापनका लागि टोल विकास समिति परिचालन गरेर प्रतिघर एक सय रुपैयाँ उठाइएको छ । आर्थिक संकलन र श्रमदानका लागि जनपरिचालनमा गाउँमा रहेका पाँचवटा टोल विकास संस्थाले काम गरिरहेका छन् ।
स्थानीय कालिका टोल विकास संस्थाकी अध्यक्ष निर्मलादेवी देउवाले बिहान ७ बजेदेखि १०–११ बजेसम्म र दिउँसो १:३०–२ बजेदेखि बेलुकीसम्म श्रमदान सञ्चालन भइरहेको बताइन् । ‘गाउँका सबैजसो घरबाट एक–एकजना काम गर्न आइरहेका छन्,’ उनले भनिन् । बर्खायाममा बर्सेनि तीव्र रूपमा भइरहेको नदी कटानले घरै नरहला भन्ने चिन्ता देउवाले जनाइन् ।
स्थानीय टेकबहादुर रावलले केही वर्षयता कटान तीव्र भएर कान्द्रा नदी बस्तीनजिकै पुग्न थालेको बताए । कटान नियन्त्रण नगर्ने हो भने अबको दुई–तीन वर्षमा बस्ती नै नरहने चिन्तामा आफूहरू रहेको उनले बताए । ‘कटान केही रोकिएला भनेर जैविक तटबन्ध बनाउन लागेका हौँ,’ रावलले भने, ‘ठुलो बाढी आए त यसले थेग्दैन ।’
नदी खेत कटान गरेर बस्तीतिर आउन थालेको स्थानीयले बताएका छन् । कटान र बाढीको डरले कतिपय स्थानीयले धान रोप्न छोडेर खेत बाँझै छोडेका छन् ।
गाउँका कतिपय घरबाट नदी डेढ सय मिटरनजिक पुगेको वडाध्यक्ष जन्ताराम चौधरीले बताए । चौधरीका अनुसार सहकर्मी समाज नामक स्थानीय संस्थाको अग्रसरतामा स्थानीय श्रमदानमा जुटेका हुन् । श्रमदानमा समेत खटिँदै आएका उनले कटान भइरहेको क्षेत्र धेरै लामो भए पनि बढी कटान भएको ठाउँमा अहिले जैविक तटबन्ध बनाइरहेको बताए । ‘बस्ती जोखिममा परेको छ, पक्की तटबन्ध बनाइदिनुपर्यो भनेर प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाएका थियौँ,’ चौधरीले भने, ‘कान्द्रा नदी तटबन्ध भनेर केही बजेट त परेको रहेछ, तर यो ठाउँका लागि भनेर तोकेर आएन ।’
स्थानीयका अनुसार ०६५ सालमा आएको ठुलो बाढीका वेला गाउँमा ३५ घर नदी कटानमा बगेका थिए भने एकजनाको मृत्यु भएको थियो । समयमै तटबन्ध निर्माण नगरे ठुलो विपत् आउने वडाध्यक्ष चौधरीले बताए । जैविक तटबन्ध निर्माणमा स्थानीयलाई सघाउन भजनी नगरपालिकाले दुईवटा टिपर र जेसिबी खटाएको जनाएको छ । बालुवा बोक्ने तथा नदीको बाढी गाउँ पस्न नदिन ‘चेक ड्याम’ बनाउने काम डोजरले गरिरहेको वडाध्यक्ष चौधरीले बताए ।
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले अस्थायी तटबन्ध बनाउन आवश्यक बोरा नि:शुल्क उपलब्ध गराउनका लागि पनि नगरपालिकाले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीसँग समन्वय गरिदिएको बताए । नगरपालिकाको बजेटले पक्की तटबन्ध निर्माण सम्भव नभएको उनको भनाइ छ ।
‘नगरपालिकाभित्र कैयौँ बस्ती कटानको जोखिममा छन् । हाम्रो स्रोतले तटबन्ध बनाउन भ्याउँदैन,’ नगर प्रमुख चौधरीले भने, ‘बढी जोखिम भएका बस्तीमा तटबन्ध बनाइदिन संघ र प्रदेश सरकारसँग पहल गर्दै आएका छौँ ।’ संघ, प्रदेश सरकार र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले नगरपालिकाभित्र केही ठाउँमा तटबन्ध पनि बनाएका उनले बताए ।
नगर प्रमुख चौधरीले तटबन्ध बनाउन संघ र प्रदेशबाट चालू वर्षका लागि तीन करोड बजेट आएको जानकारी दिए । ‘ठाउँ तोकिएको छैन, तर कान्द्रामा तटबन्ध बनाउन भनेर बजेट आएको छ,’ उनले भने, ‘नगरपालिकाभित्र धेरै बस्तीहरू नदी कटानको जोखिममा छन् । यो बजेटले जहाँ बढी समस्या छ, त्यहाँ तटबन्ध बनाउँछौँ ।’
भजनीका कान्द्रा, मोहना, पथरैया र काँडानदीमा बर्खामा आउने बाढीले कटानसँगै बर्सेनि दर्जनौँ बस्ती डुबानमा पर्ने गर्छन् । नगर प्रमुख चौधरीका अनुसार वडा नम्बर १, २, ३, ४, ५, ७ र ९ का धेरैजसो बस्तीहरू कटान, डुकान र बाढीको जोखिममा छन् ।