मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ श्रावण ५ सोमबार २o:५४:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षिका आत्महत्या दुरुत्साहन आरोपमा यादव पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार २o:५४:oo

धनुषाको एक शिक्षिका आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने ५५ वर्षीय राजकिशोर यादवलाई पक्राउ गरेको छ।

मिथिला नगरपालिका–८, जमुनिवासकी ३४ वर्षीया विमलाकुमारी मोक्तानको शव  आफैँले अध्यापन गराउँदै आएको जनता राष्ट्रिय आधारभूत विद्यालयमा १ साउनमा झुन्डिएको अवस्थामा फेला परेको थियो। 

घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले उनको ज११प ७४९२ नम्बरको स्कुटीमा रहेको पर्सबाट सुसाइड नोट फेला परेको थियो। सुसाइड नोट र थप अनुसन्धानबाट यादवले अझै ४५ लाख रुपैयाँ बाँकी रहेको भन्दै बारम्बार मानसिक दबाब, ब्ल्याकमेल र धम्की दिएको र सोही कारण आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवको घरबाट विभिन्न व्यक्तिको नामको सक्कल र प्रतिलिपी कागजात २३ थान, जग्गाधनी प्रमाणपत्र, बैंक भौचर र विभिन्न व्यक्तिको नामको चेकसमेत बरामद भएको छ। हाल राजकिशोर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयका अनुसार विमला लामो समयदेखि मिटरब्याज (सुदखोरी) यादवको चपेटामा परेकी थिइन्। विमलाले यादवसँग दुईपटक ऋण लिएकी थिइन्। पहिलोपटक एक लाख ६० हजार रुपैयाँ र दोस्रोपटक एक लाख ५० हजार गरी तीन लाख १० हजार ऋण लिएकी थिइन्। ऋण लिएबापत विमलाले यादवलाई खाली चेक दिएकी थिइन्। 

प्रहरीका अनुसार सो खाली चेकमा यादवले आफैँ ४५ लाख रकम उल्लेख गरेर विमलालाई धाकधम्की तथा गाली बेइज्जती गर्दै मानसिक यातना दिँदै आएका थिए। विमलाले लिएको ३ लाख २० हजार ब्याजसहित तिरिसक्दा पनि यादवले थप पैसा दिन  तनाव दिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।