मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o८:१५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्त आज : नेपाल र बंगलादेश आमने–सामने

राउन्ड रोबिन लिगको अन्तिम खेल बाँकी रहँदा बंगलादेश ३ अंकले अगाडि छ । सोमबारको खेलमा आफ्नो पक्षमा नतिजा निकाले नेपालले १५ अंकसहित बंगलादेशसँग बराबरी गर्छ । गोलअन्तरका आधारमा नेपाल विजेता हुनेछ ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o८:१५:oo

साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा नेपालले सोमबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । ढाकाको बसुन्धारा स्पोर्टस् एरिनामा हुने खेलको विजेता च्याम्पियन बन्नेछ । नेपाललाई बराबरीमा रोक्दा पनि साबिक विजेता बंगलादेश विजेता बन्नेछ । बंगलादेशले पाँचमध्ये चार संस्करणको ट्रफी जितिसकेको छ । नेपाल एकपटकको उपविजेता हो । यसपटक प्रतियोगितामा सहभागी नभएको भारतले एकपटक उपाधि हात पारेको छ । 

दोहोरो राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहन नेपाललाई स्पष्ट ३ अंक आवश्यक छ । नेपालको जितले दुवै टोलीको समान १५ अंक हुनेछ । यस्तो अवस्थामा डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रतियोगिताको उपाधिको छिनोफानो गोलअन्तरमा हुनेछ । गोलअन्तरमा नेपाल ६ गोलले अगाडि छ । यसकारण नेपाललाई उपाधि हात पार्नका लागि जित आवश्यक छ । हारले नेपाल पुनः उपविजेतामै सीमित हुनेछ । 

नेपालले अहिलेसम्म बंगलादेशलाई यू–२० फम्र्याटमा हराउन सकेको छैन । सन् २०१८ देखि आयोजना भएको प्रतियोगितामा बंगलादेश हाबी हुँदै आएको छ । बंगलादेशविरुद्ध अहिलेसम्म नौपटक भएको भिडन्तमा नेपालले एक खेल मात्रै बराबरी निकालेको छ । अन्य आठ खेलमा बंगलादेश विजयी भएको छ । 

नेपाललाई पहिलो चरणको हारको बदला लिने अवसर छ । बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाल एक समय २–० ले पछि परेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरामगन गर्दै निर्धारित ९० मिनेटसम्म २–२ को बराबरीमा रोेकेको थियो । ‘हाम्रा लागि यो ठूलो अवसर हो । पहिलो खेलमा आफ्नै गल्तीले गोल व्यहोर्‍यौँ,’ नेपालका प्रशिक्षक यम गुरुङले भने, ‘निर्णायक खेलमा सम्हालिएर खेल्दै उपाधि भित्र्याउनेछौँ ।’

खेलाडीको मनोबल उच्च 
नेपाली स्ट्राइकर मीना देउवा फाइनलजस्तै मानिएको खेलमा बंगलादेशलाई हराउने योजनाका साथ खेल्ने बताउँछिन् । ‘पछिल्लो खेलमा हामीले निकै राम्रो गरौँ । खेलाडीको मनोबल उच्च छ,’ देउवाले भनिन्, ‘पहिलो चरणमा सामान्य गल्तीका कारण बंगलादेशसँग अन्तिम सेकेन्डमा पराजित भयौँ ।’ राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–२ ले नतिजा सुम्पिएको थियो ।

खेल सकिन केही सेकेन्ड बाँकी रहँदा नेपाली डिफेन्सको कमजोर प्रदर्शनमा बंगलादेशले खेल ३–२ ले बाजी मारेको थियो । ‘अघिल्लो खेलमा जस्तो गल्ती यसपटक हुँदैन,’ देउवाले भनिन्, ‘बंगलादेशविरुद्धको खेलमा जितका सबै रणनीति अपनाइनेछ ।’ इंग्ल्यान्डका अनुभवी प्रशिक्षक जेम्स पिटर बटलरको प्रशिक्षणमा रहेको बंगलादेश अपराजित यात्रासहित उपाधि रक्षा गर्ने दाउमा छ ।

बंगलादेशको सिनियर टोलीलाई पहिलोपटक एसियन कपमा छनोट गराएका उनले सोही टोलीका आधा दर्जन खेलाडी यू–२० मा समावेश गरेका छन् । चालू प्रतियोगितामा बलियो राष्ट्र भारत, पाकिस्तान र माल्दिभ्सले सहभागिता जनाएनन् । अन्तिम खेलअघि बंगलादेशले अपराजित रहँदै १५ अंक जोडेको छ । नेपालले १२ अंक बटुलेको छ । बंगलादेश र नेपालले समान चार गोल व्यहोरेका छन् ।

नेपालले विपक्षी पोस्टमा ३० तथा बंगलादेशले २४ गोल गरेको छ । उपाधि दौडबाट बाहिरिएको भुटानले एक मात्रै खेलमा श्रीलंकालाई हराएको थियो । अन्तिम खेलमा पनि उसले श्रीलंकासँग खेल्दै छ । पुछारमा रहेको श्रीलंका पाँचै खेलमा पराजित भएको छ । श्रीलंकाले एक मात्रै गोल गर्दा ३३ गोल व्यहोरेको छ । 

उमेर समूहमा बंगलादेश बलियो
बंगलादेश नेपालविरुद्धको खेलमा दबदबा कायम राख्ने पक्षमा छ । बंगलादेशले पछिल्लो समय उमेर समूहमा ठुलो लगानी गरेको छ । बंगलादेशको उमेर तथा सिनियर टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो नतिजा निकालेका छन् । यसकारण बंगलादेश तुलनात्मक रूपमा नेपालभन्दा बलियो देखिएको हो । दक्षिण एसियाली फुटबल (साफ) महासंघले युथ समूहको प्रतियोगितालाई यू–१८ र यू–१९ को फम्र्याटमा सञ्चालन गरिरहेको छ । 

गोलकर्ताको दौडमा नेपाली खेलाडी अगाडि
प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने दौडमा नेपाली खेलाडीको बाहुल्य छ । नेपालकी स्ट्राइकर पूर्णिमा राईले सर्वाधिक १० गोल गरिकी छिन् । उनले पाँच खेलमा दुई ह्याट्रिक गरेकी हुन् । अर्की स्ट्राइकर मीनाले चार खेलमा सात गोल गरेकी छिन् । मीना पनि दुई ह्याट्रिक गर्न सफल भएकी छिन् । नेपाली डिफेन्डर सिमरन राईसँग मैदानमा झगडा गरेपछि तीन खेल निलम्बनमा परेकी बंगलादेशकी स्ट्राइकर सागोरिका, शान्ति मार्दी र श्रीमोती तृष्णा रानीले समान चार गोल गरेका छन् ।