मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
टेकराज थामी काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o८:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मितेरी सहकारी ठगी प्रकरण : अनलाइन स्क्याम गर्न ज्योतिबहादुरले बनाएका थिए नक्कली नागरिकता र राहदानी

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o८:३३:oo

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी घटनाका ‘मास्टर माइन्ड’ ज्योतिबहादुर भण्डारीले अवैध कारोबार गर्न नक्कली नागरिकता र राहदानी बनाएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई गत ४ असारमा कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनकै बयानका आधारमा सिआइबीले धादिङका सुवास खत्री र बर्दियाका सुरेश अधिकारीलाई पनि पक्राउ गरेको छ । उनले ठगीधन्दा चलाउन आफ्नै नाममा दोस्रो नागरिकता र राहदानी बनाएका थिए । 

सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले ठगीधन्दा चलाउन ज्योतिबहादुरले आफ्नै नामको अर्को नक्कली नागरिकता र राहदानी बनाएको भेटिएको बताए । ‘ज्योतिबहादुरसँग दुईवटा नागरिकता र राहदानी छ, जसमध्ये एउटा सक्कली र अर्को नक्कली हो । नक्कली नागरिकता उसले आफैँ बनाएको देखिन्छ । जुन आपराधिक क्रियाकलापमा प्रयोग भएका छन् । घटना सम्बन्धमा अनुसन्धान जारी छ । संगठित कसुरअन्तर्गत अनुसन्धान भइरहेको हुँदा निचोडमा पुग्न अझै केही समय लाग्छ,’ उनले भने ।

सिआइबीका अनुसार ज्योतिबहादुरको पुख्र्यौली घर बर्दिया बाँसगढी नगरपालिका– ७ (साबिक मोतीपुर गाविस– ६) हो । उनले पहिलो नागरिकता बर्दियाबाट लिएका थिए । नागरिकताको नम्बर १४८०३ हो । सोही नागरिकता प्रयोग गरी उनले राहदानी पनि लिएका थिए । उनले लिएको राहदानी नम्बर ११३६४६९१ हो, जुन सक्कली हो । 

त्यसबाहेक उनको नाममा कास्कीबाट पनि नागरिकता जारी भएको देखिन्छ । जसको नम्बर १५८८३ हो । सोही नागरिकताका आधारमा उनले १०५४८६८८ नम्बरको राहदानी पनि लिएका छन्, जुन नक्कली हो । सिआइबीका अनुसार ज्योतिबहादुरले ठगीमा सोही नागरिकता प्रयोग गर्ने गरेका छन् । सिआइबीका प्रवक्ता एसपी खड्काले दोस्रोपटक जारी भएको नागरिकता र राहदानी नम्बर आफैँले हालेको र प्रिन्ट गरेर प्रयोगमा ल्याएको बताए । 

‘भण्डारी ठगको मास्टरमाइन्ड हो । उसले दोस्रोपटकको नागरिकता र राहदानी नम्बर आफैँले हालेर प्रिन्ट गरेको देखिन्छ । जुन असलीजस्तै देखिन्छ । हामीले राहादानी र नागरिकतामा राखिएको दुबै नम्बर सम्बन्धित कार्यालयमा पुगेर रुजु गरी हेर्‍यौँ । दुवै नम्बर रेकर्डमा कहीँ देखिँदैन । सोधपुछ गर्दा राहदानी र नागरिकता दुवैमा उल्लेख भएको नम्बर आफैँले हालेको खुल्यो । सबै काम होसियारीपूर्वक भएको देखिन्छ,’ उनले भने ।

सिआइबीका अनुसार भण्डारीले विशेषगरी अनलाइन स्क्याममा नक्कली नागरिकता प्रयोग गर्दै आएका थिए । जुन स्क्याम उनले मितेरी सहकारीका सचिव कृष्णबहादुर रानालाई समेत गरेका थिए । उनले कृष्णबहादुरलाई ग्लोबल आइएमई बैंकको इन्द्रचोकस्थित खातामा ३३ करोड ११ लाख रुपैयाँ पठाएको भन्दै ह्वाट्सएपमा म्यासेज गरेका थिए । 

 एसपी युवराज खड्का
प्रवक्ता, सिआइबी

ज्योतिबहादुरसँग दुईवटा नागरिकता र राहदानी छ, जसमध्ये एउटा सक्कली र अर्को नक्कली हो । नक्कली नागरिकता उसले आफैँ बनाएको देखिन्छ । जुन आपराधिक क्रियाकलापमा प्रयोग भएका छन् । घटना सम्बन्धमा अनुसन्धान जारी छ । संगठित कसुरअन्तर्गत अनुसन्धान भइरहेको हुँदा निचोडमा पुग्न अझै केही समय लाग्छ ।