मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
२o८२ श्रावण ५ सोमबार o६:५१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत जाने तय

भ्रमण छोटो र सद्भावनामा सीमित हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o६:५१:oo

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण तय भएको छ । उनी आगामी ३१ भदौमा नयाँ दिल्ली जाने गरी औपचारिक कार्यतालिका तय भएको उच्च कूटनीतिक स्रोतले जनाएको छ । यद्यपि भ्रमण मितिबारे नेपाल र भारतले सार्वजनिक गर्न बाँकी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय विदेश मन्त्रालयले ओलीलाई पठाएको निमन्त्रणामा ३१ भदौदेखि १ असोजसम्म (दुई दिन) भ्रमण मिति प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीका तर्फबाट सो मितिमा भारत जान अनुकूल भएको जवाफ भारतलाई पठाइएको छ । ‘कुनै आकस्मिक परिघटना भएन भने प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौमा हुने तय भएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्रीका रुपमा ओलीको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि उनी ०७२ र ०७५ मा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा गइसकेका छन् । 

प्रधानमन्त्रीको भारत भ्रमणपूर्व परराष्ट्र मन्त्रालयको भारत हेर्ने दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी केही समयअघि दिल्ली पुगेर फर्केको जानकार अधिकारीले बताए । यसपटकको भ्रमण छोटो र सद्भावनामा सीमित हुनसक्ने देखिएको छ । एक कूटनीतिक अधिकारीका अनुसार दुई पक्षबीच गृहकार्य अघि बढाउने हो भने पञ्चेश्वर बहुउद्देश्यीय योजनाको डिपिआरमा सहमति हुन सक्छ । ‘पञ्चेश्वरको डिपिआरमा अब मिल्न नपर्ने कुरा केही पनि छैन । दुई पक्षबीच अलिकति गृहकार्य गर्ने हो भने प्रधानमन्त्रीको भ्रमणका बेला त्यसमा हस्ताक्षर गर्ने अवस्था बन्न सक्छ । पञ्चेश्वर टुंगियो भने प्रधानमन्त्री भ्रमणको सार्थकता पनि देखिन्छ,’ ती अधिकारीले भने । 

१७–२० मंसिरमा उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरे पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन सकेको थिएन । ओलीले प्रधानमन्त्री भएलगत्तै भारत भ्रमणका लागि निमन्त्रणाको प्रतिक्षा गरेका थिए, तर दिल्लीले भ्रमणलाई प्राथमिकतामा राखेको थिएन । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री ओलीको भारत भ्रमण उपयुक्त समयमा सार्वजनिक हुने बताए । 

गत ३१ असारमा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आएका थिए । प्रधानमन्त्री ओली र मोदीबीच एक वर्षमा दुईपटक भेट भएको छ । एकपटक न्युयोर्क र एकपटक बैंककमा भेट भए पनि दुई देशका विषयबारे विस्तृतमा छलफलका लागि अनुकूल भएन । प्रधानमन्त्री ओलीले गत १७–२९ मंसिरमा छिमेकी चीनको औपचारिक भ्रमण गरेर फर्केलगत्तै र पटकपटक भारत भ्रमण गर्ने उद्घोष गर्दै आएका थिए । 

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा २२ चैतमा पछिल्लो भेटवार्ता भएको थियो । दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो । स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताएका थिए । 

भारतीय  विदेशसचिव विक्रम मिश्री गत वर्ष २७ साउनमा नेपाल आएका बेला प्रधानमन्त्री ओलीले भारत भ्रमणको निमन्त्रणा अपेक्षा गरेका थिए । मोदीको निमन्त्रणा प्राप्त नभएपछि ओलीले मोदीलाई ने नेपाल भ्रमणका लागि मिश्रीमार्फत् अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमण नभए पनि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको औपचारिक भारत भ्रमण भदौमा भएको थियो ।

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई ३ भदौमा दिल्लीको ७ लोककल्याणमार्गस्थित उनको निवासमा भेटेर मोदीलाई नेपाल भ्रमणका लागि ओलीले पठाएको निमन्त्रणापत्र हस्तान्तण गरेकी थिइन् । मोदीले उपयुक्त समयमा नेपाल आउने जवाफ दिएका थिए ।  

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभा न्युयोर्कमा जाने क्रममा ७ असोजमा मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता स्मरण गराएका थिए भने मोदीले यसबारेमा नेपालस्थित भारतीय दूतावासले समन्वय गर्ने जवाफ दिएको जानकार अधिकारीहरू बताउँछन् । भारत भ्रमण तय नभएपछि प्रधानमन्त्री ओलीले चीनको भ्रमण तयारी थालेका थिए । एक जानकार अधिकारीका अनुसार सुरुमा भारत भ्रमण गर्ने ओलीको चाहना थियो, तर भारतबाट निमन्त्रणाको संकेतसमेत नआएपछि ओलीले चीन भ्रमण तय गरे । 

पछिल्लोपटक ९ वैशाखमा भारतको जम्मु कश्मिरमा भएको आतंककारी हमलाको नेपालले कडा विरोध जनाएको थियो भने भोलिपल्ट प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई फोन गरेर आतंकवादविरुद्धको कदममा ऐक्यबद्धता जनाएका थिए । प्रधानमन्त्री ओलीको उक्त कदमप्रति भारत खुसी भएको थियो ।