
आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरूका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णीत विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।
विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रूपमा हटाउने तयारी गरेको छ ।
विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रूप दिनेछ ।