
पूर्वका उद्योगीले स्थानीय उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम निर्माण गरी शिक्षा प्रदान गर्नुपर्ने र त्यसरी उत्पादन भएका दक्ष प्राविधिक जनशक्तिलाई स्वदेशमै टिकाउने स्पष्ट योजना ल्याउन सुझाव दिएका छन्।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले प्राविधिक जनशक्ति उत्पादनका लागि स्थापना भएको विराटनगरको ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लगायतका संस्थाले यसको नेतृत्व लिनुपर्ने पनि बताए। विश्वविद्यालयले उद्योगीसँग गरेको अन्तर्क्रियामा दक्ष प्राविधिक जनशक्ति उत्पादन नहुँदा उत्पादनमूलक र सेवा क्षेत्रका उद्योग आत्मनिर्भर बन्न नसकेको उनीहरूले बताए।
अन्तर्क्रियामा विराट मेडिकल टिचिङ अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले प्राविधिक शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको बताए। ‘उद्योगसँगको सहकार्यविना पाठ्यक्रम निर्माण हुनु र रोजगारसम्बन्धी विषयमा संयुक्त कार्यदल नबनाउँदा शिक्षण संस्था र उद्योगबिच दूरी कायम छ,’ उनले भने। स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले दक्षता भएका स्वदेशी जनशक्ति नै प्राथमिकतामा रहेको बताए।
अरिहन्त मल्टिफाइबर्सका प्रबन्धक नारायण लामिछानेले पनि विदेशबाटै दक्ष प्राविधिक ल्याएर उद्योग चलाइरहेको बताए। ‘स्वदेशमै दक्ष प्राविधिक उत्पादन भए हामी एक हजारजनासम्मलाई रोजगारी दिन तयार छौँ,’ उनले भने।
पशुपति आइरन उद्योगका प्रबन्धक केके ठाकुरले ज्ञानसहितको सिपयुक्त जनशक्ति मात्र उद्योगका लागि योग्य हुने बताउँदै अदक्ष जनशक्तिमा निर्भर रहँदा उद्योगमा जोखिम बढ्ने बताए। उनले पनि उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम निर्माण हुनुपर्नेमा जोड दिए।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परम्परागत सिप र अनुभव मात्र पर्याप्त नरहेकाले प्राविधिक विश्वविद्यालयले उद्योगकै आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नुपर्ने बताए। ‘मनमोहनलगायतका शिक्षण संस्थाले उद्योगसँग सहकार्य गरी संयुक्त कार्यदल बनाएर पाठ्यक्रम निर्माण गरून्। विदेशबाट जनशक्ति ल्याउने हाम्रो बाध्यता पनि हट्नेछ,’ उनले भने।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले उद्योगसँग सहकार्य गरी दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमै दिगो रोजगारी सिर्जना गर्न विश्वविद्यालय तयार रहेको बताए। ‘हजारौँ शिक्षित जनशक्तिलाई रोजगारी दिन उद्योगी तयार हुनु सकारात्मक पक्ष हो। कार्यदलको विश्लेषणका आधारमा पाठ्यक्रम निर्माण गरी सरकार र उद्योगीसँग त्रिपक्षीय सम्झौता गर्न हामी तयार छौँ,’ उनले भने।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सीमित बजेटका बाबजुद विश्वविद्यालयले तीव्र गतिमा काम गरिरहेको बताए। विश्वविद्यालयको प्रस्तावअनुसार दिगो रोजगारीका लागि त्रिपक्षीय सम्झौता गर्न तयार रहेको पनि उनले जानकारी दिए। ‘स्वदेशी दक्ष जनशक्तिले उद्योगमा स्थायित्व ल्याएर राष्ट्रिय पुँजीको विकास गर्छन्। त्यसैले दक्ष जनशक्ति उत्पादन र स्वदेशमै टिकाइराख्ने ठोस योजनासहित काम गर्नेछौँ,’ मन्त्री राईले भने।