
ताप्लेजुङमा तीन वर्षदेखि सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आह्वान गरिएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा आउँदो साउन २४ गतेदेखि फुङलिङमा सञ्चालन हुने उक्त गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आह्वान गरिएको लाखेजात्रा सञ्चालन समितिका सचिव टेकेन्द्र नेपालीले बताए ।
गोल्डकपमा टिकट बिक्रीका लागि इच्छा भएको कम्पनी, संस्था वा समूहहरूले सात दिनभित्र लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पर्क गर्नुपर्ने सचिव नेपालीले बताए । प्रतियोगिताको पहिलो चरणका चारवटा खेलको टिकट दर एक सय रुपैयाँ रहने र दोस्रो चरण (सेमिफाइनल) खेलको लागि टिकट दर दुई सय रुपैयाँ रहने र फाइनल खेलको टिकट दर दुई सय ५० रुपैयाँ रहने सचिव नेपालीले जानकारी दिए ।
टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समूहले कम्तीमा २० लाख रुपैयाँ बुझाउनुपर्नेछ । गोल्डकप सञ्चालनका लागि तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ भने अस्थायी प्यारापिट निर्माण कार्य सुरु गरिएको बताइएको छ ।
गत वर्ष ताप्लेजुङ गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपैयाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकै दिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन चार हजार ५६ जना दर्शकलाई दुई सय ५० दरले टिकट बिक्री गरिएको बताइन्छ । ताप्लेजुङ गोल्डकपको नामले फुटबल सञ्चालन गरिएको तीन वर्ष भयो भने लाखेजात्राको अवसरमा फुटबल प्रतियोगिता गराइँदै आएको ०२९ सालदेखि ५४ वर्ष भएको जानकारहरू बताउँछन् ।