मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १२:११:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागलुङमा ७३ महिला लैंगिक हिंसाको सिकारमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:११:oo

बागलुङमा ७३ जना महिला लैंगिक हिंसाको सिकारमा परेको तथ्यांक रहेको छ। बागलुङ नगरपालिकामा सञ्चालनमा आएको अल्पकालीन महिला सेवा केन्द्र बागलुङमार्फत सेवा लिएको हिंसापीडितहरूको तथ्यांकमा ७३ जना महिला लैंगिक हिंसामा परेको उल्लेख गरिएको छ ।  केन्द्रमा सेवा लिन आएकामध्ये सबैभन्दा बढी ३६ जना दलित समुदायका छन्। अन्यको तुलनामा हिंसाको सिकार हुने दलित समुदायका महिला नै बढी देखिएका छन् । त्यसैगरी  जनजाति समुदायको १७ जना र अन्य समुदायबाट २० जना हिंसापीडितले सेवा केन्द्रबाट सेवा लिएको  बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एवं अल्पकालीन सेवा केन्द्र व्यवस्थापन समितिकी सदस्य सचिव रचना आचार्यले जानकारी दिइन् । 

आचार्यका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष हिंसापीडितको संख्या घट्दो क्रममा रहेको छ । गत आर्थिक वर्षमा ९२ जना हिंसापीडित रहेकोमा यस वर्ष ७३ जना रहेका छन् ।  सेवा लिन आउनेहरूमध्ये केही जिल्ला प्रहरी कार्यालय र धौलागिरि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत सेवा केन्द्रमा आउँछन् भने कतिपय सिधै केन्द्रमा आउने गरेका छन् । 

चालू आर्थिक वर्षमा १८ जना जिल्ला प्रहरी कार्यालयबाट सेवा केन्द्रमा पठाइएका छन् भने ५४ जना सिधै सेवा केन्द्रको सम्पर्कमा आएका छन् । एकजना अन्य माध्यमबाट सेवा केन्द्रसम्म आइपुगेका छन् । सेवा केन्द्र बागलुङ नगरपालिकामा सञ्चालित भए पनि यसले जिल्लाभर र जिल्लाबाहिरका समेतलाई सेवा दिइरहेको आचार्यले बताइन् ।  

चालू आर्थिक वर्षमा सेवा लिएकामध्ये २५ जना बागलुङ नगरपालिकाका रहेका छन् भने अन्य सेवा ग्राही जिल्लाको विभिन्न पालिकाका रहेका छन् । जैमिन नगरपालिकाका आठ, गलकोट नगरपालिकाका ६, ढोरपाटन नगरपालिकाका पाँच, काठेखोला गाउँपालिका पाँच, बडिगाड गाउँपालिकाका तीन, ताराखोला गाउँपालिकाका एक, तमानखोला गाउँपालिकाका चार, निसीखोला गाउँपालिकाका दुई, बरेङ गाउँपालिकाका चार र जिल्लाबाहिरका नाैजनाले अल्पकालीन सेवा केन्द्रबाट सेवा लिएका छन् । केन्द्रमा सेवा लिन आएकोमा शारीरिक हिंसापीडित नौजना, मानसिक हिंसापीडित १३ जना, आर्थिक हिंसापीडित आठ जना, यौनजन्य हिंसापीडित १० जना, अन्य हिंसामा परेका ३३ जना पीडितहरूले सेवा लिएका छन् ।

लैंगिक हिंसापीडित अल्पकालीन सेवा केन्द्रले बढीमा ४५ दिनसम्म आवास र खानपानको व्यवस्था गर्ने गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । मंगलबार बागलुङमा आयोजना गरेको अल्पकालीन सेवा केन्द्र सञ्चालनसम्बन्धी सरोकारवालाको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीले तथ्यांकमा घरेलु हिंसा घटे पनि समाजमा बढेको बताए । ‘यहाँ तथ्यांकमा त हिंसा घटेको भएर होला सेवा लिनेहरूको संख्या घटेको देखिन्छ,’ उनीहरूले भने, ‘वास्तवमै समाजमा जाँदा यस खालका घटनाहरू बढ्दो छ । सामाजिक असुरक्षाका कारण यस खालका घटना बाहिर आउन सकिरहेको छैन ।’ 

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अल्पकालीन सेवा केन्द्रमा गएपछि न्याय पाइन्छ भन्ने विश्वास नभएका कारण आउनेहरूको संख्या कमी भएको हुन सक्ने कुरामा ध्यान दिन आग्रह गरे । ‘तथ्यांकमा घटेको देखिए पनि यस्ता घटनाहरू समाजमा लुकेका र लुकाइएका अवस्थामा छन्,’ उनले भने, ‘हामीले गरिरहेको काममा पीडितहरूले विश्वास नगरेको पनि हुन सक्छ । त्यसप्रति गम्भीर भएर हामीले विश्वासको वातावरण सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।’ 

स्थानीय तहले बनाएको संरचनाप्रति नागरिकको विश्वास र जनचेतना जगाउने काममा लाग्नुपर्ने उनले बताए । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले शिक्षा र चेतनाले यस खालको घटनाहरूमा कमी आउने बताए । बागलुङ नगर उपप्रमुख राजु खड्काले लैंगिक हिंसाका घटनाले दिगो विकासमा नकारात्मक प्रभाव पारिरहेको बताए । ‘हामीले यो विषयलाई गम्भीरतापूर्वक उठाउने प्रयास गरिरहेका छौँ, यसमा अन्य जिल्लाका पालिकाहरूबाट पनि सहयोग होस् भन्ने हाम्रो चाहना छ,’ उनी भन्छन्, ‘तर, हामी कोही पनि यो विषयमा गम्भीर भएका छैनौँ । जसले गर्दा समस्या बढिरहेको छ ।’ 

कार्यक्रममा सहभागीले लैंगिक हिंसा न्युनीकरणको सवाल स्थानीय तहको प्राथमिकतामा नपरेकोप्रति चिन्तासमेत व्यक्त गरेका थिए । सेवा केन्द्र अन्तरपालिका समन्वय गर्न कठिनाइ कानुनी दक्षता र विज्ञताको अभावले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ थियो ।