
सन् २०२३ देखि पुनर्निर्माण भइरहेको बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउको दर्शक क्षमता एक लाख पाँच हजार रहेको छ
बार्सिलोनाका खेलाडीले यसपटकको नयाँ सिजनमा पनि घरेलु मैदान क्याम्प नोउ प्रयोग गर्न नपाउने भएका छन् । सन् २०२३ देखि रंगशालाको पुनर्निर्माण भइरहेको छ । दुई वर्षमा पुनर्निर्माणका लागि एक अर्ब २५ करोड पाउन्ड खर्च भइसकेको छ । तैपनि रंगशालाले पूर्णता पाउन नसक्दा खेलाडी तथा व्यवस्थापन पक्ष असन्तुष्ट छन् । पुनर्निर्माणपछि रंगशाला एक लाख पाँच हजार दर्शक क्षमताको हुनेछ ।
यसअघि रंगशाला ९९ हजार दर्शक क्षमताको थियो । क्याम्प नोउ पूरै बनिसक्दा युरोपकै सर्वाधिक दर्शक अटाउने रंगशालाका रूपमा दर्ता हुनेछ । ठेक्का पाएको कम्पनीले गत नोभेम्बरमा क्याम्प नोउ हस्तान्तरण गरिने भनिएको थियो । प्राविधिक तथा आर्थिक समस्याका कारण अर्को महिना मात्र यहाँ खेल हुन सक्ने कम्पनीले जनाएको छ । बार्सिलोनाले यसमा आशंका व्यक्त गरेको छ ।
बार्सिलोनाले लगातार दुई वर्ष लुइस कम्पनी ओलम्पिक रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ । जहाँ दैनिक स्पेनको राष्ट्रिय महिला तथा युवा टोलीले अभ्यास गरिरहेका छन् । यसले पनि बार्सिलोनाका खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छैनन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार बार्सिलोनाले यसै साता जाआन गाम्पेर ट्रफी प्रतियोगिता क्याम्प नोउमा गर्ने भनेको थियो । तर, यो प्रतियोगिता जोसेफ रंगशालामा हुनेछ ।
स्पेनको प्रमुख पत्रिका मार्काले क्याम्प नोउ रंगशाला अर्को महिना पनि पूरा नहुने दाबी गरेको छ । ‘अहिलेको प्रगतिअनुसार यो रंगशाला अर्को महिना पनि सकिँदैन,’ मार्काले उल्लेख गरेको छ, ‘ठेक्का पाएको कम्पनीले सुस्त गतिमा काम गरिरहेको छ ।’ बार्सिलोना १४ सेप्टेम्बरमा भ्यालेन्सियासँग हुने स्पेनिस ला लिगाको खेल खेल्ने योजनामा छ । रंगशालामा अझै सिट राख्ने काम बाँकी छ ।