मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ असार ३२ बुधबार o८:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभामा अगाडि बढ्यो संघीय निजामती विधेयक

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o८:३३:oo
  • विधेयकमा संशोधन राख्न सांसदहरूलाई ७२ घण्टाको समय, ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा संशोधन राखेर सच्याउने मौका

राष्ट्रिय सभाले ‘कुलिङ अफ पिरियड’को प्रावधानमा गडबडीले विवादित बनेको संघीय निजामती विधेयकमा छलफल थालेको छ । सांसदहरूले विधेयक विधायन व्यवस्थापन समितिमा लगेर कुलिङ पिरियडमा भएको छलछामलाई सच्याउनुपर्ने धारणा राखेका छन् । 

मंगलबारको राष्ट्रिय सभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गर्दै सैद्धान्तिक छलफल सकेको छ । संघीय मामिलामन्त्रीका तर्फबाट सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयकमा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव सभाबाट स्वीकृत भएसँगै विधेयकमा संशोधन राख्न सांसदहरूलाई ७२ घण्टाको समय खुला भएको छ । राष्ट्रिय सभामा सांसदहरूले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा संशोधन राखेर सच्याउने मौका आएको छ । राज्य व्यवस्था समितिले सर्वसम्मत रूपमा गडबडी सच्याउन राष्ट्रिय सभालाई औपचारिक अनुरोध गरेको छ । 

प्रतिनिधिसभाबाट १५ असारमा राज्य व्यवस्था समितिको प्रतिवेदनसहित पारित भएको विधेयकलाई सभामुख देवराज घिमिरेले १७ गते सन्देशसहित राष्ट्रिय सभा पठाएका थिए । सन्देश राष्ट्रिय सभामा १८ गते टेबुल भएको थियो । 

राज्य व्यवस्था समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि कुलिङ पिरियडको व्यवस्था निष्प्रभावी बनाइएको खुलेको थियो । मूल विधेयक दफा ८२ मा उपदफा ४ थपेर कुनै पनि राष्ट्रसेवकले राजीनामा वा अवकाशको दुई वर्षसम्म संवैधानिक र सरकारी नियुक्ति लिन नपाउने व्यवस्था गरिएको छ । जबकि यसअघि विधेयकमा भएको उपदफा चारलाई उपदफाक्रम मिलाउँदा उपदफा ५ राख्ने भनियो । पुरानो उपदफा चारमा सहसचिव, सचिव र मुख्यसचिवबाहेक र संवैधानिक र सरकार नियुक्तिबाहेक मात्र कुलिङ पिरियड लागू हुने प्रावधान थियो । राज्य व्यवस्था समितिको प्रतिवेदनमा माथि सबैलाई कुलिङ पिरियड भनियो भने तल्लो उपदफामा निष्प्रभावी हुने व्यवस्था गरेर प्रतिवेदन मात्रै पास गरिएन, प्रतिनिधिसभाबाट समेत बहुमतले विधेयक पारित गरेर राष्ट्रिय सभा पठाइयो । कुलिङ पिरियडमा गडबडी भएपछि प्रतिनिधिसभाले कांग्रेसका जीवन परियारको सभापतित्वमा सात सदस्यीय विशेष समिति बनाएर छानबिन गरिरहेको छ । 

कुलिङ पिरियडमा गरिएको छलछाम सच्याउनुपर्ने सांसदहरूको भनाइ
राष्ट्रिय सभा बैठकमा सांसद किरणबाबु श्रेष्ठले विवादित कुलिङ पिरियडमा थप छलफल गरेर संशोधन गर्नुपर्ने बताए । सांसद उदयबहादुर बोहराले विधेयकमा केही चिज विवादित देखिएको भन्दै विधायन समितिमा लगेर दफावार छलफल गरेर पूर्णता दिनुपर्ने बताए । सांसद तुलसाकुमारी दाहालले विवादित कुलिङ पिरियडमा छलफल गरेर टुंग्याउनुपर्ने बताइन् । सांसद मृगेन्द्रकुमार सिंहले विधेयकमा विवाद उठेको, प्रतिनिधिसभामा छानबिन समिति बनेको भन्दै ध्यान दिएर गहिरिएर हेर्नुपर्ने भएकाले विधायन समितिमा पठाउनुपर्ने बताए । सांसद शेखरकुमार सिंहले विधेयकमा केही दु:खद कुरो आएको भन्दै विधायन समितिमा लगेर विस्तृत छलफल गरेर सुखद बनाउनुपर्ने बताए । सांसद तुलप्रसाद विश्वकर्माले थुप्रै विवाद र असहमति उठेको, गम्भीर प्रश्न रहेको भन्दै सबैभन्दा विवादित कुलिङ पिरियडमा भएको फेरबदलको खोजी हुनुपर्ने बताए । सांसद बेदुराम भुसालले १४ महिना लगाएर कुलिङ पिरियडमा विवादित भएर आएकाले गम्भीरताका साथ छलफल गरेर परिमार्जन गर्नुपर्ने बताए ।