मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
श्रीलंकन खेलाडीसँग बलका लागि संघर्ष गर्दै नेपालकी मीना देउवा (नीलो)
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३२ बुधबार o८:o४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप : मीनाको ह्याट्रिकमा श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o८:o४:oo

नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७–० को फराकिलो जित निकालेको छ । नेपालको सानदार जितमा मीना देउवाले ह्याट्रिक गरेकी थिइन् । भारी वर्षाका कारण वसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी नेपाल र श्रीलंकाबिच भएको थियो । श्रीलंकाको पोस्टमा पूर्णिमा राईले दुई गोल गरिन् । प्रतियोगितामा उनले तीन खेलबाट ६ गोल गरिसकेकी छिन् । 

यसैगरी, समीक्षा मगर र सरिता कुमारीले समान एक गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको नेपालले मध्यान्तरपछि दुई गोल मात्र थप्यो । श्रीलंकाले नेपालसँगको प्रतिस्पर्धामा कमजोर डिफेन्स प्रदर्शन गरेको थियो । नेपालको पहिलो तथा दोस्रो गोलमा श्रीलंकन डिफेन्सकै कमजोरी थियो । श्रीलंकाका मिडफिल्ड र फिनिसिङका खेलाडीबिच तालमेल मिलेको थिएन । उत्कृष्ट फर्ममा रहेको नेपालले श्रीलंकाको पोस्टमा बारम्बार पोस्ट चार्ज गरेको थियो । 

नेपाली खेलाडीले पनि कमजोर प्रतिद्वन्द्वीविरुद्ध प्राप्त सहज अवसरमा समेत गोल गर्न चुकेका थिए । वर्षाका कारण मैदान निकै हिलाम्मे थियो । दुवै पक्षका खेलाडीले बलमाथि नियन्त्रण लिन कसरत गरेका देखिन्थे । प्रतियोगितामा घरेलु टोली बंगलादेशले तीन खेलमा नौ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको बंगलादेश अपराजित छ । दोस्रो स्थानमा रहेको नेपालको ३ खेलमा ६ अंक छ । 

नेपाल बंगलादेशसँग अघिल्लो खेलमा ३–२ ले पराजित भएको थियो । तेस्रो स्थानमा रहेको भुटानको तीन अंक छ । प्रतियोगितामा सहभागी श्रीलंकाले तीनवटै खेल गुमाएको छ । श्रीलंकाले विपक्षीको पोस्टमा एक गोल मात्र गरेको छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउन्ड रोबिन फम्र्याटमा खेलाइएको छ । धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

पहिलो हाफमा पाँच गोल 
नेपालले श्रीलंकाको कमजोर डिफेन्सको फाइदा लिँदै मध्यान्तरअघि नै ५–० को अग्रता लिएको थियो । भारी वर्षाका कारण वसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालले खेलको आठौँ मिनेटमै १–० को अग्रता लियो । मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । खेलको १३औेँ मिनेटमा समीक्षाले नेपाललाई २–० को स्थितिमा राखिन् । 

खेलको ४२औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालले दुई गोल गर्दा ५–० ले अग्रता लियो । पहिलो खेलमा भुटानविरुद्ध ह्याट्रिक गरेकी पूर्णिमाले नै दुई गोल गरेकी हुन् । श्रीलंकाले नेपालविरुद्ध खासै मुभ बनाउन सकेन । नेपालले बल पोसेसन उत्कृष्ट बनाए पनि धेरै अवसर खेर फालेको थियो । नेपालले छैटौँ गोल गर्न २५ मिनेट प्रतिक्षा गर्नुपरेको थियो । खेलको ७०औँ मिनेटमा समीक्षाको प्रहार श्रीलंकाली डिफेन्डरले बिफल बनाइन् । 

नियमित गोलरक्षक सुजता बेन्चमा
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले कमजोर प्रतिद्वन्द्वी श्रीलंकासँगको प्रतिस्पर्धामा नियमित गोलरक्षक सुजता तामाङलाई बेन्चमा राखेका थिए । सुजताको स्थानमा दोस्रो वैकल्पिक गोलरक्षक लीला जैशीले श्रीलंकाविरुद्धको खेलमा सुरुवाती ११ मै स्थान बनाइन् । उनले नै कप्तानी जिम्मेवारीसमेत पाइन् । सुजताले भुटानविरुद्धको ६–१ को जित र बंगलादेशविरुद्धको ३–२ को हारमा गोलरक्षक पोस्ट सम्हालेकी थिइन् । उनले दुई खेलमा चार व्यहोरेकी छिन् । नेपालले तेस्रो खेलमा अट्याकिङ मिडफिल्डर सेनु परियारलाई पनि बेन्चमा राखेको थियो । उनको स्थानमा वर्षा ओलीले पहिलो रोजाइमै मौका पाइन् । 

बंगलादेशको अपराजित यात्रा
साबिक विजेता बंगलादेशले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । वसुन्धरा किङ्स एरेनामा मंगलबार आफ्नो तेस्रो खेलमा बंगलादेशले भुटानलाई ४–१ ले हरायो । जितसँगै शीर्ष स्थानमा रहेको बंगलादेशले तीन खेलबाट नौ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–१ को जित र दोस्रो खेलमा नेपाललाई तीन–दुईले पाखा लगाएको थियो । 

एन्फाले माग्यो मुख्य प्रशिक्षक वाइल्डसँग घटना विवरण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा घटना विवरण मागेको छ । उज्वेकिस्तानमा भएको छनोटका क्रममा कप्तान छनोटको विषयमा प्रशिक्षक र एन्फा अफिसियलबिच विवाद भएको थियो । 

सोही विवादको वास्तविकता जानकारी पठाउन एन्फाले पत्राचार गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । ‘एसियन कप छनोटका दौरान भएको घटना विवरण के हो ? वास्ताविकता के हो ?’ शाहले भने, ’टिम व्यवस्थापन र प्रशिक्षकको भनाइ फरक–फरक आएपछि हामीले प्रशिक्षकबाटै वास्ताविकता बुझ्न खोजेका हौँ ।’ 

उज्वेकिस्तानबाट घर बेल्जियम फर्केका वाइल्डले अहिलेसम्म एन्फासँग सम्पर्क गरेका छैनन् । नेपाल फर्किएपछि टिम व्यवस्थापनले प्रशिक्षकका कारण कप्तानको विषयमा विवाद भएको दाबी गरेको थियो । प्रशिक्षकले घटनाको विषयमा जानकारी दिएपछि उनको सम्झौताको विषयमा एन्फाले निर्णय गर्नेछ । वाइल्ड नेपाली एक वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त भएका थिए ।