
पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु. एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा भएको बैठकमा रजिस्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष ०८२/८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो ।
यस्तै, उपकुलपति प्राडा विजकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।
प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।