मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन गर्दै केपी ओली ।
२o८२ असार ३० सोमबार o९:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूरा भयो रतुवा पुल तर्ने १७ वर्षदेखिको सपना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o९:५o:oo

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने रतुवा पुल निर्माण सुरु भएको १७ वर्ष पूरा भएको छ । सुरुमा खोलाको चौडाइभन्दा पुलको लम्बाइ सानो भएपछि पुल सञ्चालन हुन सकेन । पुलको लम्बाइ २०५ मिटर थियो । पुल बने पनि १७ वर्षसम्म स्थानीयले रतुवा नदीमा हिउँदमा बाँसको पुल र बर्खामा डुंगामा जोखिमपूर्ण यात्रा गरे । त्यो पनि पैसा तिरेर । 

तर, सरकारले यो पुल पूरा गर्न १७ पुस ०७९ मा ठेक्का लगायो । देव एन्ड सायर–समता–आशिषदीप जेभीले २२ करोड १२ लाख ३७ हजारमा ठेक्का लियो । असार मसान्तमा सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले समयमै काम सक्यो । तीनवटा स्पाम थपेसँगै पुल सञ्चालनमा आएको छ । पुल निर्माण सकिएपछि आइतबार प्रधानमन्त्री केपी ओली उद्घाटन गरे । उद्घाटनसँगै रतुवाको पुलमाथिबाट हिँड्ने १७ वर्षदेखिको सपना पूरा भएको छ । 

‘हाम्रो त वारिपारि आफन्त छन् । आउने–जाने गर्नुपर्छ । पुल नहुँदा पैसा तिरेर नाउ र बाँसको पुलमा हिँड्ने गरेका थियौँ । पैसा नहुनेले हिँड्नै नपाउने अवस्था थियो,’ मोरङ रतुवामाई– ४ का सतारुलाल गणेशले भने, ‘उद्घाटन गरेसँगै हाम्रो पुलमाथि हिँड्ने सपना पूरा भएको छ ।’ पुल निर्माण सकिएसँगै अब गौरीगन्ज र रतुवामाईका स्थानीयलाई सहज भएको प्रधानमन्त्री ओलीले बताए । उनले वारिपारि गर्दा पाँच मिनेटको बाटोमा घुमेर जाँदा घण्टौँ लाग्ने बाध्यता हटेको बताए ।

 कन्काई पुल अझै पर्खाइमा
हुलाकी राजमार्गको कन्काई नदीको पुल १४ वर्षदेखि अलपत्र छ । प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको गृहजिल्ला झापामा पर्ने यो पुल अलपत्र हुँदा गौरीगन्ज र झापा गाउँपालिकामा आवतजावत गर्ने स्थानीयलाई सास्ती छ । समयमा पुल नबनेपछि स्थानीयले जोखिमपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा पैसा तिरेर यात्रा गरिरहेका छन् ।

गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल निर्माण र बर्खामा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजारमा स्थानीय ईश्वर माझीलाई ठेक्का दिएको छ । माझीले बाँसको लामो पुल बनाएका छन् । जसबापत उनले मोटरसाइकलमा यात्रा गर्नेलाई ५० रुपैयाँ र साइकलमा यात्रा गर्नेलाई ३० रुपैयाँ लिन्छन् । १४ वर्षदेखि अलपत्र यो पुलले उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई पर्खिरहेको छ । यो पुल बनेपछि झापा सदरमुकाम चन्द्रगढीबाट गौरीगन्ज आउजाउ छिटो हुन्छ ।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई माई नदीको सात सय मिटर पुल ३१ जेठ ०६८ मा पप्पु र महादेव खिम्ती जेभीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । ७२५ मिटर लम्बाइ रहेको पुल बनाउन ३४ करोड नौ लाख  रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सुरुमा पप्पुले काम गर्‍यो । तर, पुल अलपत्र बनाएपछि पछिल्लो समय निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी महादेव खिम्तीले काम अघि बढायो । तर, यो कम्पनीको पनि काम सुस्त छ । पाँचौँपटक म्याद थपिएको समय ०८० असारमै सकियो । पछि म्याद थपिएको छैन । तर, यस अवधिमा करिब ६५ प्रतिशत मात्र काम सकिएको हुलाकी सडक आयोजना कार्यालय इटहरीले जनाएको छ । 

रतुवा पुल उद्घाटनको अध्यक्षता गरेका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले झापाको कन्काई, कमला र बागमती पुलका कारण हुलाकी राजमार्ग सञ्चालनमा समस्या भएको बताए । उनले कन्काईको पुल पनि यसैगरी छिट्टै उद्घाटन हुने बताए । ‘पुल निर्माणका लागि केन्द्रित भएर लागेका छौँ । कन्काई पुलको छिट्टै यसरी नै उद्घाटन गर्नेछौँ । यसको समस्या अध्ययन गरिसकेका छौँ,’ उनले भने, ‘हामी निर्माण व्यवसायीसँग अन्तिम कुरा गर्छौँ । उहाँले त्यो पुल पूरा गर्नुहुन्छ भने समय दिन स्टेप अगाडि चालिसकेका छौँ ।’