
काठमाडाैं महानगरपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।
शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पुँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका हुन् ।
बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गरिने महानगरले जनाएको छ । बालबालिकाको स्वास्थ, पोषण र प्रारम्भिक सिकाइको वातावरण सुनिश्चित गर्दै पोषणयुक्त आहाराको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री पूर्वाधार निर्माण तथा अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने मेयर शाहको भनाइ छ।