मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छाउगोठमा सुतेकी कमला दमाईंको करेत सर्पले डस्दा अकालमै ज्यान गयो

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

महिनावारी भएपछि छाउगोठमा सुतेकी कञ्चनपुरकी एक महिलाले अकालमै ज्यान गुमाएकी छिन् । छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका– १, निगालीकी २८ वर्षीया कमला दमाईंले ज्यान गुमाएकी हुन् । 

शुक्रबार मिन्स भएपछि कमला खाना खाएर छाउगोठमा सुतेकी थिइन् । छाउगोठमा सुतेकी कमलालाई करेत सर्पले गर्धनमै डस्दा उपचारका क्रममा कमलाको सेती प्रादेशिक अस्पतालमा  मृत्यु भएको छिमेकी गाउँलेले जनाएका छन् । 

मृतक दमाईंका छिमेकी कृष्णपुरका युवा नेतासमेत रहेका सुुचित्र शाहले छाउ भएपछि कच्ची छाउगोठमा सुतेकी कमलालाई सर्पले  डसेको बताए । ‘कमलालाई सर्पले डोकेपछि हामीले अटो खोजेर  उपचारका लागि अस्पताल पठायौँ,’ उनले भने, ‘उपचारका क्रममा गएराति निधन भयो ।’ कलिला तीन सन्तानकी आमा कमलाको निधनसँगै बालबालिका टुहुरा भएका छन् । ‘कमलाको घर पक्की छ, तर मिन्स भएपछि उनी कच्ची छाउगोठमा बस्दै आएकी रहिछिन्,’ उनले भने, ‘कच्ची गोठमा सहजै सर्प पसेपछि डस्यो ।’ 

कमलाको शव  अहिले सेती प्रादेशिक अस्पतालमै राखिएको छ । रोजगारीका  लागि भारतमा रहेका श्रीमान् पुरन दमाईं फर्किएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ । 
छाउगोठमा सुतेकी कमलाको ज्यान गएपछि सुदूरपश्चिममा रहेकोे छाउपडी प्रथा अझै उन्मूलन नभएको सरोकारवाला बताउँछन् । 

कृष्णपुर नगरपालिका– १ का वडाध्यक्ष मोहन बस्नेतले गाउँमा रहेका छाउगोठ भत्काउनेदेखि सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्दा गर्दै छाउगोठमै रहेकी कमलको ज्यान  गएको घटनाले थप चिन्तित बनाएको बताए । ‘हामीले निरन्तर गाउँमा छाउगोठ भत्काउने, महिला, धामीझाँग्रीसँग पनि निरन्तर छलफल सचेतना कार्यक्रम सञ्चालन  गर्‍याैँ,’ उनले भने, ‘अहिले यो दुःखद घटना घट्यो, स्थानीय सरकारले अब थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्छ ।’ कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले छाउगोठमा सुतेकी कमलाको  सर्पले डसेर मृत्यु भएकोे घटनाले अझै पनि समाज अघि बढ्नुको साटो पछाडि परिरहेको बताए । उनले छाउगोठ भत्काएर मात्रै नहुने, हरेक मानिसको मानसिकतामा सकारात्मक सोच, विचार, भावनाको विकास  गराउनुपर्ने सुझाव दिए । 

कञ्चनपुरका नागरिक अगुवा प्रभुनिधि पन्तले २१औँ शताब्दीको अन्तिम उत्तरार्धमा आइपुग्दा सुदूरपश्चिममा हुने  यस्ता घटना अत्यन्तै दुःखद हुने बताए । उनले स्थानीय सरकारले वास्तविक नागरिकको सामाजिक सुरक्षाका लागि यसतर्फ योजना ल्याएर प्रभावकारी कार्यान्वयनमा  सुझाव दिए  ।

‘देश संघीयतामा  गइसक्यो, गाउँठाउँका समस्या स्थानीय, प्रदेश सरकारलाई थाहै छ, जहाँ लगानी लगाउनुपर्ने हो, त्यहाँ केही छैन,’ उनले भने, ‘यस्तो मानवीय सुुरक्षामा  लगाउनुपर्ने लगानी अन्यन्तै हुँदा सामाजिक घटना घट्नुको साटो बढिरहेका छन् ।’ केही वर्षअघि कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न  छाउगोठ भत्काएको थियो । प्रहरी प्रवक्ता सागर बोहराले घटनालाई जिप्रका कञ्चनपुरले गम्भीर रूपमा लिएको भन्दै अबउपरान्त यस्ता घटना दोहोरिन नदिन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताए ।