
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै हातपात गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रण गरेको छ । सरकारी कागजात नष्ट गर्ने घटनामा संलग्न व्यक्तिमध्ये एक अभियुक्त पक्राउ परेका हुन् ।
कार्यालयमा असार २२ गते दिउँसो ४ बजेको समयमा कार्यालय प्रमुखमाथि विप्लव नेतृत्वकाे नेकपा माओवादी केन्द्रकाे युवा संघले हातपात गरेको थियोे । डिभिजन वन कार्यालयमा कार्यरत जिल्ला वन अधिकृत अमरप्रसाद साहमाथि कार्यालयभित्रै हातपात गरिएको थियो ।
सोही क्रममा केही व्यक्तिहरूले अनधिकृत रूपमा प्रवेश गरी सरकारी कागजातहरू छरपस्ट पारेका थिए । केही फाइलहरू कुल्चेर नष्टसमेत गरेका थिए। घटनापछि फरार रहेका ती व्यक्तिहरूमध्ये भेरी नगरपालिका– ७ का विराजन शाहीलाई नलगाड नगरपालिका– १०, रावतगाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी नायब निरीक्षक हरि डाँगीले जानकारी दिए। ‘पक्राउ परेका शाहीलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ,’ सूचना अधिकारी डाँगीले भने, ‘अन्य संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य पनि तीव्र पारिएको छ।’ उनका अनुसार पक्राउ परेका व्यक्तिमाथि प्रारम्भिक सोधपुछ सुरु गरिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ। घटनापछि सरकारी कार्यालयहरूमा सुरक्षा सतर्कतासमेत बढाइएको छ।