मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Wednesday, 16 July, 2025
२o८२ असार २६ बिहीबार ११:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार वर्षपछि टेस्टमा फर्कंदै फास्ट बलर आर्चर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार ११:४७:oo
  • सन् २०२१ पछि इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले भारतविरुद्धको लड्र्स टेस्टमा प्रतिस्पर्धा गर्ने 

इंग्ल्यान्ड र भारतबिच तेस्रो टेस्ट लड्र्स बिहीबारदेखि सुरु हुँदै छ । पाँच खेलको टेस्ट सिरिज अहिले १–१ को बराबरीमा छ । इंग्ल्यान्डले पहिलो तथा भारतले दोस्रो टेस्टमा जित निकालेका थिए । तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्यान्ड बलिङ पक्षमा बलियो देखिने सम्भावना छ । कुनै समय मुख्य स्ट्राइक बलर मानिने जोफ्रा आर्चरले लड्र्स टेस्टबाट पुनरागमन गर्दै छन् । उनी चार वर्षपछि टेस्ट खेलमा फर्कन लागेका हुन् । 

इंग्ल्यान्डले भारतविरुद्धको टेस्टका लागि घोषणा गरेको खेलाडीमा आर्चरले आफ्नो स्थान सुरक्षित गरेका छन् । ‘आर्चर टोलीमा फर्कंदा हामी बलियो हुन्छौँ, लड्र्स मैदानमा भारतविरुद्ध उनले प्रतिस्पर्धा गर्नेछन्,’ इसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२१ मा चोट लागेपछि आर्चर राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका थिए । टोलीमा स्थान बनाउन उनले निकै कोसिस गरेका थिए । तर, यो कोसिसले पूर्णता पाउन चार वर्ष लाग्यो । उनको यो करिअरको १४औँ टेस्ट हो । 

संयोग कस्तो रह्यो भने आर्चरले अन्तिमपटक खेलेको टेस्ट नै भारतविरुद्ध थियो । अहमदाबाद टेस्टमा भारत १० विकेटले विजयी भएको थियो । ३० वर्षीय फास्ट बलर पछिल्लो समय ढाडको समस्याले ग्रस्त थिए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले आर्चरको आगमनले टोलीमा खुसी छाएको बताए । ‘आर्चरको पुनरागमन समय लामो रह्यो । उनको आगमनले फास्ट बलिङ पक्ष बलियो देखिएको छ,’ बेनले भने ‘लड्र्सको पिचको प्रकृति फरक छ । त्यहाँ उनले राम्रो बलिङ स्पेल फ्याँक्ने अपेक्षा छ ।’ 

परिवारका कारण बर्मिंघम टेस्ट गुमाए
बर्मिंघम टेस्टमै आर्चरले खेल्ने सम्भावना थियो । तर, आर्चरले परिवारको समस्या देखाउँदै बर्मिंघम टेस्ट नखेल्ने जनाए । यद्यपि, इंग्ल्यान्डले पाँच टेस्टका लागि खेलाडी घोषणा गर्दा उनी टोलीमा थिएनन् । भारतसँग दोस्रो टेस्टमा बलिङ कमजोर भएपछि इसिबीले आर्चरलाई बोलाएको हो । यो दुई साताभित्र उनले फिटनेस लेभल पास गर्न मिहिनेत गरेका थिए । उनले काउन्टी क्रिकेट पनि खेले । जहाँ उनले १८ ओभरमा ३२ रन खर्चेर एक विकेट हात पारेका थिए । सन् २०१९ मा आर्चरले टेस्टमा डेब्यु गरेका थिए । 

गिललाई रेकर्ड बनाउने मौका
भारतीय कप्तान शुभमन गिलले उत्कृष्ट फर्ममा ब्याटिङ गरिरहेका छन् । दुई टेस्टमा उनले तीन शतकीय इनिङ्सको सहयोगमा ५८५ रन बनाएका छन् । 

आगामी तीन टेस्टमा थप ४९० रन बनाउँदा एकै टेस्टमा सर्वाधिक रन बनाउने रेकर्ड उनको नाममा हुनेछ । टेस्ट इतिहासमा एकै टेस्टमा सर्वाधिक रनको रेकर्ड अस्ट्रेलियाका सर डान ब्राडम्यानको नाममा छ ।