
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परम्पराअनुसार सभाहलमा बस्ने वार्षिक सभा प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् । त्रिविका पदाधिकारी भने बैठक विश्वविद्यालयमै बस्नुपर्ने पक्षमा छन् ।
विश्वविद्यालयको शैक्षिक स्वायत्तता र परम्पराको दृष्टिले बैठक स्थलको परिवर्तनप्रति त्रिवि पदाधिकारी असन्तुष्ट देखिएका छन् । त्रिविका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘त्रिविको वार्षिक सभा हो, त्यसैले त्रिविमै तय मितिअनुसार बस्नुपर्ने हो । तर, प्रधानमन्त्रीले समय नदिएपछि बैठक उहाँको अनुकूलतामा बालुवाटारमा सारिएको छ, यो सही अभ्यास होइन ।’
सामान्यत: बैठक २० असारमा राख्नुपर्ने थियो । प्रधानमन्त्री एवं त्रिवि कुलपतिले यसलाई २२ असारका लागि सारेका थिए । १२:४५ बजेका लागि त्रिविसभाको वार्षिक बैठक तोकिए पनि प्रधानमन्त्री ओली नआएपछि रोकिएको थियो । वार्षिक बैठक तिथि (शुक्ल नवमी)मा बस्नुपर्ने परम्परा भए पनि ओलीले उक्त नियम मिचेर बैठक बोलाएका हुन् ।
त्यस दिन ओलीले बैठक राखेनन् । बैठकले त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त गरेका विद्यार्थीको सूची पास गर्ने कार्यसूची छ । उपाधि प्राप्त ८९ हजार सात सय विद्यार्थी छन् ।
विद्यार्थीलाई बेवास्ता
त्रिवि सभामा विद्यार्थी प्रतिनिधिसमेत रहने व्यवस्था छ । तर, यसपटक भने विद्यार्थी प्रतिनिधि नियुक्ति गर्न बाँकी रहेकाले सभामा उनीहरूको सहभागिता नहुने भएको छ । विद्यार्थी प्रतिनिधि नियुक्ति गर्ने जिम्मा त्रिवि कार्यकारी परिषद्को हो । तर, हालसम्म विद्यार्थी प्रतिनिधिहरूलाई नियुक्त गरिएको छैन । त्रिवि कुलपति एवं प्रधानमन्त्री ओलीले सभामा विद्यार्थी राख्दा बढी प्रश्न उठाउने र बैठक लम्बिने भन्दै कार्यकारी परिषद्लाई विद्यार्थी प्रतिनिधि नियुक्ति नगर्न निर्देशन गरेको त्रिवि स्रोत बताउँछ ।
त्रिवि स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थी प्रतिनिधिविनै बैठक बोलाउनु विद्यार्थीको अधिकार खोसिएजस्तै रहेको बताए । उनले भने, ‘सभामा नबोलाउनु भनेको विद्यार्थी आवाज दबाउनु हो । नियुक्ति गर्न नसक्नु परिषद्को कमजोरी हो । विद्यार्थीविना सिनेट बस्न मिल्दैन । कुलपतिले स्वेच्छाचारी रूपमा सभा राख्नु विद्यार्थीको अधिकार हनन गर्नु हो ।’
त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमाले विद्यार्थीको उपस्थितिविना बैठक बस्नु न्यायोचित नहुने बताए । उनले भने, ‘सभामा विद्यार्थीको प्रतिनिधि हुँदा सिनेट थप जिम्मेवार र समावेशी देखिन्छ । विद्यार्थी पक्ष पनि असन्तुष्ट हुँदैनन् । विद्यार्थीलाई समावेश नगर्दा उनीहरूका आवाज दबाएझैँ हुन्छ । सभामा विद्यार्थी उपस्थिति हुनुपर्छ ।’
त्रिवि उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त
त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त भएका छन् । त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् । त्रिवि प्रशासनिक भवनमा माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेकाले उनले सचिवालयबाहिरको कोठामा पदभार ग्रहण गरे । उनी त्रिविका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्राज्ञसमेत हुन् ।
उपकुलपति अर्यालले त्रिविको सुधार तालाबन्दी अन्त्यबाट गर्ने बताए । ‘तालाबन्दीका कारण काम गर्न नसकिने अवस्था हुनु राम्रो होइन, तालाबन्दीको कारण पत्ता लगाएर तालाबन्दी सदाका लागि अन्त्य गर्ने मेरो पहिलो योजना हो, तालाबन्दी सबैभन्दा ठुलो समस्याको जड हो,’ उनले भने । त्रिविमा विदेशी विद्यार्थी भित्र्याउने वातावरण तय गर्ने, शैक्षिक सुधार गर्ने, त्रिविको पुनर्संरचना गर्ने, पाठ्यक्रम परिमार्जन गर्ने, क्यालेन्डर ट्र्याकमा ल्याउनेलगायत योजनालाई अर्यालले प्राथमिकतामा राखेका छन् ।