
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका अधिकारीहरूले ३३ वर्षीय जोहरान ममदानी न्युयोर्क सहरको मेयर पदका लागि हुने निर्वाचनमा डेमोक्र्याट उम्मेदवार बनेपछि उनको अमेरिकी नागरिकता खारेज गर्ने विचार प्रवाहित गरे । त्यस्तै, राष्ट्रपति ट्रम्पले उनको ‘सिग्नेचर’ विधेयक ‘बिग एन्ड ब्युटिफुल बिल’लाई लिएर टाढिएका आफ्ना पूर्वमित्र एलन मस्कलाई पनि देश निकाला गर्ने चेतावनी दिएका छन् । ट्रम्पका अनुसार मस्कले (अमेरिकाको) ‘व्यापार बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने’ अवस्था आउन सक्छ । तर, ट्रम्प प्रशासनले साँच्चै विदेशमा जन्मिएका ममदानी र मस्कको अमेरिकी अंगीकृत नागरिकता खारेज गर्न सक्छ त ?
के हो ममदानी र मस्कको आप्रवासन हैसियत ?
गुजराती मुस्लिम बाबु र पन्जाबी हिन्दु आमाका सन्तान ममदानी युगान्डाको राजधानी कम्पालामा जन्मिएका थिए । ममदानी सात वर्ष हुँदा उनको परिवार न्युयोर्क बसाई सरेको थियो । त्यही पढे हुर्केका ममदानी सन् २०१८ मा अंगीकृत अमेरिकी नागरिक बने । उता मस्कको जन्म भने सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा क्यानेडियन आमा र दक्षिण अफ्रिकी बुबाको घरमा भएको थियो । १७ वर्षको उमेरमा उनी क्यानडा सरे, जहाँ उनको आमाको नामबाट वंशजको नागरिकता छ । अध्ययनको क्रममा सन् १९९२ मा मात्र उनी अमेरिका पुगेका थिए । पेन्सिलभेनिया विश्वविद्यालय पढेका मस्कले सन् २००२ मा अमेरिकाको अंगीकृत नागरिकता हासिल गरेको पत्रकार वाल्टर आइज्याकसनले लेखेको मस्कको जीवनी–पुस्तकमा उल्लेख छ ।
अक्टोबर २०२४ मा ‘द वासिङ्टन पोस्ट’ले एक खोज रिपोर्ट छाप्दै मस्कले उचित श्रम अनुमति नलिईकनै अमेरिकामा आफ्नो करियर सुरु गरेको दावी गर्यो । तर मस्कले समाचार छापिएलगत्तै यसको खण्डन गरेका थिए । ‘ म जे–१ भिसामा थिएँ, जसलाई मैले एच–१बी मा परिवर्तन गरेँ’ मस्कले वासिङ्टन पोस्ट सार्वजनिक भएकै दिन समाजिक सञ्जाल ‘एक्स’मा खण्डन गर्दै लेखेका थिए ।
जे–१ भिसा अमेरिकामा रहेका विदेशी विद्यार्थीहरूलाई दिइने अस्थायी भिसा हो भने एच–१बी अस्थायी रूपमा काम गर्न अनुमति दिने भिसा हो । अमेरिकाको अंगीकृत नागरिक हासिल गर्न भने केही सर्त पूरा गर्नुपर्छ । जस्तो, व्यक्ति १८ वर्षभन्दा माथिको हुनुपर्छ । पाँच वर्षसम्म ग्रिनकार्ड धारकको रूपमा अमेरिकामा निरन्तर बसेको हुनुपर्छ । अथवा अर्को तरिकाबाट अमेरिकी नागरिकसँग विवाहित रहेको तीन वर्ष भएका व्यक्तिले पनि अंगीकृत नागरिकता पाउन सक्छन् ।
ट्रम्प प्रशासनले ममदानीबारेमा के भनेको छ ?
टेनेसी राज्यका रिपब्लिकन सांसद(तल्लो सदन) एन्डी ओगल्सले जुन २६ मा महान्यायाधिवक्ता पाम बोन्डीलाई पत्र लेख्दै न्याय मन्त्रालयले ममदानीको नागरिकता खोस्ने प्रक्रियाका लागि अनुसन्धान सुरु गर्न आग्रह गरेका थिए । ममदानीले नागरिकता हासिल गर्ने वेलामा ‘आतंकवादलाई सहयोग गरेको तथ्य जानाजान वा गलत प्रमाणमार्फत ढाकछोप गरेको सम्भावना रहेको’ ओगल्सको आरोप छ । ओगल्सले ‘न्युयोर्क पोस्ट’ नामक ट्याबलोइडमा प्रकाशित एक लेखलाई उद्धृत गर्दै ‘ममदानीले अमेरिकी नागरिक बन्नुअघि आतंकवादी ठहरिएका व्यक्तिहरू’प्रति ऐक्यबद्धता व्यक्त गरेको बताएका छन् ।
यसको प्रमाणको रूपमा उनले ममदानीले गाएको एक र्याप गीतको अंशसमेत उल्लेख गरेका छन् । पूर्वर्यापारसमेत रहेका ममदानीले गाएको एउटा गीतको एक ठाउँमा ‘फ्री द होली ल्यान्ड फाइभ/माई गाइज (पवित्र भूमि स्वतन्त्र गर/मेरा मित्र)’ भन्ने लाइन छ ।
‘ममदानीले संकेत गरेको ‘होली ल्यान्ड फाउन्डेसन’लाई सन् २००८ मा अमेरिकाद्वारा आतंकवादी संगठन घोषित हमासलाई भौतिक सहयोग प्रदान गरेकोमा दोषी ठहराइएको थियो । ममदानीले फाउन्डेसनका नेतृत्वलाई ‘मेरा मित्र’ भनेर सार्वजनिक रूपमा भनेका छन् । यसले संगठनसँग उनको कुनै सम्बद्धता वा सहानुभूति थियो कि भनेर गम्भीर प्रश्न खडा गर्छ । यो कुरा उनले नागरिकता प्राप्तिको प्रक्रियाको क्रममा खुलासा गरेका छैनन्,’ ओगल्सले महान्यायाधिवक्ता बोन्डीलाई लेखेको पत्रमा उल्लेख छ, ‘यसबाहेक, ममदानीले हालै ‘इन्तिफादाको विश्वव्यापीकरण गरौँ’ भन्ने आतंकवादीहरूको नाराप्रति दुरी देखाउन अस्वीकार गरे । जबकि यो नारा संयुक्त राज्य अमेरिका र विश्वभरका नागरिकहरूमाथि हिंसात्मक आक्रमणको आह्वान हो,’ ओगल्सले लेखेका छन् ।
ममदानीले आफू मेयर भएमा न्युयोर्क सहरमा मास्क लगाएर आप्रवासी खोज्दै हिँड्ने अध्यागमन तथा भन्सार प्रवर्तनसम्बन्धी निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसिई)’का एजेन्टहरूलाई रोक्ने वाचा पनि गरेका छन् । यस विषयमा पत्रकारहरूले गरेको जवाफ दिने क्रममा ट्रम्पले ‘यदि ममदानीले आइपर्स एजेन्टहरूलाई अवैध आप्रवासी पक्राउ गर्न र निर्वासन गर्न रोकेमा ममदानीलाई पक्राउ गर्ने’ बताए । अझ उनले अगाडि भने, ‘हामीलाई यो देशमा कम्युनिस्ट चाहिँदैन । हामीमाझ कोही कम्युनिस्ट छ भने म राष्ट्रको तर्फबाट निगरानी राख्नेछु ।’
आफूलाई प्रजातान्त्रिक समाजवादी भन्ने ममदानीलाई बारम्बार ट्रम्पले ‘कम्युनिस्ट’ भन्दै आएका छन् । ट्रम्पले न्युयोर्कको मेयर चुनावमा वर्तमान मेयर एरिक एडम्सलाई समर्थन जनाएका छन् ।
नागरिकता खोस्ने मागप्रति ममदानीको प्रतिक्रिया
ट्रम्पले आफूविरुद्ध दिएको टिप्पणीको जवाफ ममदानीले समाजिक सञ्जाल ‘एक्स’मार्फत दिएका छन्, ‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले मलाई पक्राउ गर्ने, मेरो नागरिकता खोस्ने, हिरासत शिविरमा राख्ने र देश निकाला गर्ने धम्की दिएका छन् । यो धम्की मैले कुनै कानुन तोडेको कारणले होइन, बरु आइसिईलाई हाम्रो सहरलाई आतंकित बनाउन दिन्न भनेकाले आएको छ ।’
ममदानीले ट्रम्पको एडम्सप्रतिको समर्थन स्वाभाविक भएको भन्दै थपे : ‘मागा रिपब्लिकनहरूले सामाजिक सुरक्षा मास्दै लाखौँ न्युयोर्कवासीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र श्रमजीवी परिवारको खर्च कटाएर आफ्ना अर्बपति दाताहरूलाई समृद्ध बनाउने प्रयास गरिरहेका छन् । यस्तोमा एरिक एडम्समा राष्ट्रपति (ट्रम्प)को विभाजन र घृणालाई प्रतिध्वनित हुनु स्वाभाविक हो । मतदाताहरूले नोभेम्बर(को मेयर चुनाव)मा यसलाई तीव्र रूपमा अस्वीकार गर्नेछन् ।’
एलन मस्कबारे के भन्यो ट्रम्प प्रशासनले ?
गत वर्षको राष्ट्रपतीय चुनावमा ट्रम्पको चुनावी अभियानका प्रमुख चन्दादाता मस्क केही समयअघिसम्म ट्रम्पका प्रमुख सहयोगी थिए । तर, ‘बिग ब्युटिफुल बिल’ नामक विधेयकलाई लिएर दुई जनाबिच सार्वजनिक दरार सिर्जना भयो । टेस्ला र स्पेसएक्सका खर्बपति मालिक मस्कले बारम्बार सो विशाल विधेयकको निन्दा गरिरहेको देखिन्छ । विधेयक पारित भएमा आफूले अलग राजनीतिक दल गठन गर्ने धम्की दिएका मस्कले जुलाई ५ मा ‘अमेरिका पार्टी’ नामक दल गठनको घोषणा गरिसके ।
जुलाई ४ मा ट्रम्पले हस्ताक्षर गरेको सो विधेयकले मस्कलाई आर्थिक रूपमा प्रभावित पार्ने देखिएको छ । विधेयकको एक प्रावधानले सेप्टेम्बर ३० देखि विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले पाउने गरेको ७,५०० डलरसम्मको कर छुट समाप्त गर्दै छ । ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्,‘ अनुदानविना, एलाले सम्भवत: आफ्नो व्यवसाय बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ । न त रकेट प्रक्षेपण, न उपग्रह वा न नै विद्युतीय कार उत्पादन । यसले हाम्रो देशको ठुलो धन बचत गर्नेछ ।’
‘सायद डजलाई राम्रो नजर राख्न लगाउनुपर्छ । ठुलो रकम बचत हुनेछ !’ ट्रम्पले अर्को पोस्टमा लेखेका छन् । ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’को छोटो रूप ‘डज’ ट्रम्पको दोस्रो प्रशासनको सुरुवातमा मस्कले नै गठन गरेको सस्था हो । सरकारको फजुल खर्च कटौती गर्न गठन भएको यो संस्थाको नेतृत्व मे ३० सम्म मस्कले नै गरेका थिए । पुन: अर्को समय पत्रकारले ट्रम्पलाई मस्कलाई देश निकाला गर्नेबारेमा विचार गरिरहेको हो भन्ने प्रश्न गर्दा ट्रम्पले भने, ‘हामीले त्यसमाथि पनि ध्यान दिनुपर्छ । हामीले एलनलाई डज प्रयोग गर्नुपर्ने हुन सक्छ ।’
के मस्क वा ममदानीका नागरिकता खोस्न सजिलो छ ?
विज्ञहरूका अनुसार यी दुई व्यक्तिका नागरिकता खोस्न सम्भव भने देखिँदैन । ‘थोरै अवस्थामा मात्र अंगीकृत नागरिकता खोसिएको पाइन्छ । यसका लागि अधिकारीहरूले उनीहरूको मूल आवेदनमा झुटो प्रमाण पेस गरेको प्रमाणित गर्नुपर्छ,’ लस भेगासमा रहेको नेभाडा विश्वविद्यालयका कानुनका प्राध्यापक माइकल कागनले भने, ‘मस्क वा ममदानी दुवैको हकमा त्यस्तो नरहेको कारण तिनको नागरिकता खोस्न असम्भव देखिन्छ । अहिलेका लागि यो विरोधीलाई धम्की दिन प्रयोगमा ल्याइएको गैरजिम्मेवारपूर्ण बयानबाजीजस्तो मात्र देखिन्छ ।’
२०औँ शताब्दीका दुई विश्वयुद्धबिचको समय र त्यसपछि सोभियत संघसँगको शीतयुद्धको समयमा अन्धाधुन्ध र शंकाकै भरमा अंगीकृत नागरिकको नागरिकता खोसिने प्रवृत्ति तीव्र थियो । सन् २०१७ मा प्रकाशित ‘द सोभरेन सिटिजन’का लेखक राजनीतिशास्त्री प्याट्रिक बेइलका अनुसार सन् १९२६ र १९४० को दशकको बिचसम्म, हरेक वर्ष सयौँ अंगीकृत नागरिकताधारीको नागरिक खोसिएको थियो । तर सन् १९६७ को एक अदालती फैसलापछि नागरिकता खोस्ने कार्यमा उलेख्य गिरावट आयो । सो वर्ष सर्वोच्च अदालतले झुटा प्रमाण पेस गरेर अंगीकृत नागरिकता लिएका वा गम्भीर प्रकृतिका अपराध गरेको नदेखिएसम्म कसैलाई नागरिकताबाट वञ्चित गर्न नसकिने निर्णय गरेको थियो ।
अंगीकृत नागरिकतावाहक अमेरिकी नागरिकहरूले आफ्नो नागरिकको हैसियत गुमाउन सक्ने गम्भीर प्रकृतिका अपराधमा आतंकवाद तथा युद्ध अपराधमा संलग्नता, मानव अधिकारको उल्लंघन, यौन अपराधजस्ता पर्छ । त्यस्तै, अंगीकृत नागरिकता पाएको व्यक्तिले अमेरिकाविरुद्ध देशद्रोहको कार्य गरेमा वा अर्कै देशको सार्वजनिक पदको उम्मेदवारी दिए वा विदेशी सेनामा सामेल भएमा पनि आफ्नो नागरिकता गुमाउन सक्छन् ।
(नर्थवेस्टर्न युनिभर्सिटीको कतार शाखाकी पत्रकारिताकी विद्यार्थी समिम वातावरण, सहरी विकास, एसियाली राजनीतिबारे लेख्छिन् )
अलजजिराबाट