
गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरिएदेखि अल्पसंख्यक समुदायमाथिको हमलामा वृद्धि भइरहेको छ
अप्रिलमा अल्पसंख्यक समुदायको एक संगठनका सदस्य तथा नेताको क्रूर हत्या । मे महिनामा महिलाका लागि प्रस्तावित कानुनी सुधारविरुद्ध व्यापक विरोध प्रदर्शन । जुन महिनामा अल्पसंख्यक समुदायको प्रमुख पूजास्थल तोडफोड । जुन महिनाकै सोही सातामा ‘ईश्वर निन्दा’को आरोपमा अल्पसंख्यक समुदायका अर्का सदस्यमाथि क्रूर आक्रमण ।
यो आइएस (इस्लामिक स्टेट) को भूमिबाट सीधै भएको हमलाजस्तो देखिन्छ । तर, दु:खको कुरा यी शृंखलाबद्ध हमला छिमेकी बंगलादेशमा भइरहेको छ । हिन्दुहरूमाथिको आक्रमण सानो हिन्दु समुदायका सदस्यविरुद्ध थियो, जुन अहिले बंगलादेशको जनसंख्याको केवल आठ प्रतिशत हो । गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरिएदेखि यस्तो हमलामा धेरै वृद्धि भइरहेको छ । त्यसवेलादेखि चटगाउँ पहाडी क्षेत्रका बौद्धजस्ता अन्य अल्पसंख्यक समुदायविरुद्धको हिंसा पनि बढेको छ ।
विडम्बनाको कुरा नोबेल पुरस्कार विजेता युनुस मोहम्मदको निगरानीमा बंगलादेश भ्रष्ट इस्लामवादीतर्फ धकेलिएको छ । युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको सबैभन्दा पछिल्लो कार्य भनेको जमात–ए–इस्लामी बंगलादेश (जेआइबी) लाई राजनीतिक दलको रूपमा दर्ता गर्नु थियो । यसको अर्थ अब यसले बंगलादेशमा चुनाव लड्न सक्छ । बंगलादेशको राजनीतिक जीवनमा यस संगठनको पुनस्र्थापना हिन्दुहरूका लागि मात्र नभई देशको मुस्लिम बहुमतका लागि पनि अशुभ संकेत हो ।
जमातको उत्पत्ति
यस संस्थाको जटिल इतिहास छ । सन् १९४१ मा भारतमा जन्मिएको जमातको मध्यपूर्वको मुस्लिम ब्रदरहुडसँग घनिष्ठ सम्बन्ध थियो । सैयद अबुल अला मवदुदीद्वारा स्थापित यो समूहले भारतमा इस्लामिक सरिया राज्य स्थापनाको वकालत गर्यो । सन् १९४७ को विभाजनको विरोध गर्ने मवदुदी केवल एक भागमा मात्र नभई सम्पूर्ण उपमहाद्वीपमा सरिया स्थापित भएको हेर्न चाहन्थे । विभाजनको समयमा उनी पाकिस्तान सरे र पछि जेइआई पाकिस्तानको नेतृत्व गरे, जहाँबाट पछि बंगलादेश जमातको उदय भयो ।
आफ्नो लक्ष्यमा प्रतिबद्ध बंगलादेश जमातले १९७१ को मुक्ति युद्धको समयमा पाकिस्तानी सेनासँग नजिकबाट सहकार्य गर्दै महत्वपूर्ण भूमिकामा रह्यो । समूहका धेरै नेतालाई पछि युद्ध अपराधको आरोपमा जेल हालियो र मृत्युदण्डसमेत दिइयो । धेरै बंगलादेशीहरू, विशेषगरी पुरानो पुस्ता यसबाट सतर्क छन् । तैपनि, जमात बंगलादेशको समाज र राजनीति दुवैमा एक शक्तिशाली पकड रह्यो । प्राय: देशको प्रमुख राजनीतिक शक्ति बंगलादेश राष्ट्रवादी पार्टीसँग आफूलाई पंक्तिबद्ध गथ्र्यो । वास्तवमा यसको विद्यार्थी समूह बंगलादेश छात्र शिविर विरोध प्रदर्शनको अग्रपंक्तिमा थियो र त्यसपछि भएको हिंसाले गत वर्ष हसिनालाई पदच्युत गर्यो ।
हेफाजत–ए–इस्लामको उदय
सन् २०१३ मा अदालतको फैसलाले राजनीतिक दलको रूपमा जमातको दर्ता खारेज गर्यो । तर, चाँडै नै हेफाजत–ए–इस्लामजस्ता अन्य समूह मोर्चाको रूपमा देखा परे । सन् २०१० मा तत्कालीन सत्तारुढ दल अबामी लिगबाट ‘इस्लामको रक्षा’ गर्न सुरु गरिएको हेफाजत महिलालाई समान अधिकार प्रदान गर्ने कार्यमा उत्प्रेरित भयो । सन् २०२१ मा प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती र यसका संस्थापक शेख मुजिबुर रहमानको जन्मशताब्दी मनाउन भ्रमण गर्दा हेफाजतले नै विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनका कारण विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको थियो ।
गत वर्ष हसिना सरकारले उनीविरुद्धको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा जमातलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि, सत्तामा आएको एक महिनाभित्र ढाकाको नयाँ अन्तरिम सरकारले प्रतिबन्ध हटायो । हालै, महिलाका लागि कानुनी सुधारको विधेयकविरुद्धमा जमात राष्ट्रव्यापी विरोध प्रदर्शनको अग्रपंक्तिमा थियो ।
यस पृष्ठभूमिमा ‘बंगलादेशको तालिबानीकरण’का लागि सबै दोष युनुसको थाप्लोमा थोपर्न सजिलो हुन सक्छ । तर, त्यो पूर्णतया सही नहुन सक्छ । सत्य यो हो कि यो परिवर्तन बंगलादेशमा लामो समयदेखि चलिरहेको छ र भारतकी ‘महान् मित्र’ हसिनाको शासनकालमा देखिन्थ्यो । तर, परिवर्तनलाई बेवास्ता गरिएको थियो ।
दण्डहीनतालाई प्रश्रय
धेरै बंगलादेशीका लागि सम्झना र भावनामा सबैभन्दा बढी स्मरणमा आएको घटना सन् १९४७ को भारत विभाजन होइन, बरु देशको पश्चिमी भाग रहेको पाकिस्तानसँग १९७१ को युद्ध हो । आफ्ना सहधर्मवादीको हातबाट क्रूर र नरसंहारको सामना गरेपछि सन् १९७१ को मुक्ति संग्रामले बंगलादेशलाई धर्मनिरपेक्ष बहुल राज्यको रूपमा परिकल्पना गरेको थियो । तैपनि, स्वतन्त्र बंगलादेशमा हिन्दुमाथि पहिलो आक्रमण सन् १९७२ मा भएको थियो, जसमा बंगाली हिन्दुका लागि महत्वपूर्ण पर्व दुर्गापूजा उत्सवलाई लक्षित गरिएको थियो ।
वर्षौंसम्म यस्तो उत्पीडन जारी रह्यो र देशमा हिन्दुको संख्या २० प्रतिशतबाट घटेर आठ प्रतिशत पुग्यो । दण्डहीनताले आक्रमणका अपराधीलाई हौसला प्रदान गर्यो, जसमा मन्दिरहरूको तोडफोड, आगजनी र लुटपाटका घटना समावेश थिए ।
इस्लामवादको संस्थागतीकरणको विकास नि:सन्देह जनरल जियाउर रहमानले गरेका थिए, जसले एक सैन्य घोषणामार्फत सन् १९७२ को संविधान संशोधन गरे र प्रस्तावनामा ‘बिस्मिल्लाह–अर–रहमान–अर–रहिम’ (‘अल्लाहको नाममा परोपकारी’) सम्मिलित गरे । धर्मनिरपेक्षताको सिद्धान्तलाई पाँचौँ संशोधनमार्फत सन् १९७७ मा संविधानबाट हटाइयो । सन् १९८८ मा इस्लामलाई राज्य धर्म घोषित गरियो ।
इस्लामवादलाई बलियो बनाउने केही प्रमुख कारक इरानी क्रान्ति र अरब खाडीमा तेलको खोज थिए । पछिल्लोले धेरैलाई कामको खोजीमा बंगलादेशबाट खाडीमा बसाइँ सर्न बाध्य तुल्यायो, जहाँ वैचारिक शिक्षा सुरु भयो । स्वदेश फर्किएपछि यी कामदारले आफ्नो घर र समुदायमा समान नियम लागू गरे । एकैसाथ धेरै खाडी देशले इरानको सिया धर्मतन्त्रको सामना गर्न वहाबीवाद निर्यात गर्न थाले । बंगलादेश ठुलो मुस्लिम संसारमा भइरहेको यी परिवर्तनबाट अछुतो रहेन ।
तालिबानको उदयले इस्लामबादलाई प्रोत्साहन
अफगानिस्तानमा तालिबानको उदयले बंगलादेशमा इस्लामबादलाई अर्को प्रोत्साहन दियो । सोभियत–अफगान युद्ध वा अफगान जिहादको समयमा धेरै बंगलादेशी सोभियतसँग लड्न अफगानिस्तान गएका थिए । ‘आमरा होबो तालिबान/बंगला होबे अफगान’ अर्थात् ‘हामी तालिबान हुनेछौँ, बंगला (देश) अफगानिस्तान हुनेछ’ भन्ने नारा १९९० को दशकमा बंगलादेशमा लोकप्रिय बन्यो । उदाहरणका लागि तालिबानका संस्थापक नेता मुल्लाह उमरका व्यक्तिगत सुरक्षाकर्मीमध्ये बंगलादेशबाट २०० जना भर्ती भएको भनिएको थियो । युद्धपछि यी धेरै कट्टर जिहादी बंगलादेश फर्किए र आफ्नो कट्टरपन्थी विचारधारा फैलाउन मद्दत गरे ।
वास्तवमा, अर्को महिना बंगलादेशले अगस्ट १७, २००५ मा राष्ट्रव्यापी बम विस्फोटको २०औँ वार्षिकोत्सव मनाउनेछ, जसले बंगलादेशका ६४ जिल्लामध्ये ६३ लाई लक्षित गरेको थियो । विस्फोटमा सरकारी भवन, रेलवे स्टेसन, अदालत, आदिलाई निसाना बनाइएको थियो । ३०० स्थानमा ५०० भन्दा बढी बम विस्फोट भएका आक्रमणमा जमात–उल–मुजाहिद्दिन बंगलादेश (जेएमबी) को हात थियो, जसका संस्थापक र आध्यात्मिक नेता शेख अब्दुर रहमानले सोभियत–अफगान युद्धमा भाग लिएका थिए ।
मताधिकारबाट वञ्चित
यतिका वर्ष बंगलादेशमा अल्पसंख्यक समूह मताधिकारबाट वञ्चित छन् । उनीहरूको अधिकारको रक्षा गर्न कुनै आयोग गठन गरिएको छैन । बंगलादेशको इतिहासको धेरै समयसम्म सत्तामा रहेको अबामी लिगले पनि अल्पसंख्यकको अधिकारका लागि खासै पहल गरेन । बंगलादेशमा हिन्दुविरुद्ध पहिलो ठुलो हिंसा सन् १९९२ मा भारतमा बाबरी मस्जिद भत्काइएपछि भएको थियो, जतिवेला खालिदा जियाको नेतृत्वमा बिएनपी सरकार सत्तामा थियो । सन् २००१ सम्ममा जब उनको सरकार पुन: निर्वाचित भयो, बंगलादेशमा हिन्दुविरुद्ध आक्रमण चरम सीमामा पुगेको थियो ।
हसिनाको शासनकालमा पनि स्थितिमा सुधार भएन । अबामी लिगले जेएमबीजस्ता आतंकवादी समूहमाथि कारबाही गर्दा अल कायदाको बंगलादेश शाखा भनिने अन्सार उल इस्लामजस्ता अन्य संगठन र आइएसआइएसले महिला, हिन्दु, धर्मनिरपेक्ष समूह, एलजिबिटी समूहका सदस्य, लेखकहरू, कलाकारहरूविरुद्ध आक्रमण तीव्र पारे । धेरै बंगलादेशी (केही अवस्थामा सम्पूर्ण परिवार पनि) सिरिया र इराकमा २०१४–२०१७ सम्म छोटो अवधिका लागि स्थापित इस्लामिक स्टेट खलिफामा बसाइँ सरेका थिए ।
लेखक भादुरी पत्रकार तथा राजनीतिक विश्लेषक हुन्
–एनडिटिभीबाट