
सरकारी पहलबाटै ग्रिन हाइड्रोजनको उत्पादन र प्रयोग बढाउन सरोकारवालाले सुझाव दिएका छन् । ‘नेपालमा ग्रिन हाइड्रोजनको व्यवसायीकरण’सम्बन्धी कार्यशालामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पाइलट प्रोजेक्टका रूपमा अहिलेबाटै काम थाल्नुपर्ने धारणा राखेका थिए ।
मन्त्रालयमातहतको आयल निगमको आर्थिक सहयोगमा काठमाडौं विश्वविद्यालयले हाल ग्रिन हाइड्रोजन उत्पादनमा पाँच वर्षअघिदेखि अभ्यास गरिरहेको छ । काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धनबाटै चल्ने कारको विकास गरे पनि त्यसयता अनुसन्धान र उत्पादनमा ठुलो प्रगति हुन सकेको छैन । सचिव घिमिरेले सुरुवातमा पाइलट प्रोजेक्टका रूपमा ग्रिन हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणको काम थालेर क्रमश: विकास गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव शिवराज पोख्रेलले हाइड्रोजन इन्धनका लागि नीतिगत व्यवस्था भए पनि व्यवहारमा उत्पादन र प्रयोग नभइसकेको बताए । उनले पनि आयल निगमको अहिलेको संरचनाले मात्रै हाइड्रोजन इन्धनमा काम गर्न नसक्ने बताए । जल तथा ऊर्जा आयोगका सहसचिव सन्दीप देवले विश्वमा हाइड्रोजन प्रविधिको विकास सुरु भइसकेकाले नेपालले पनि छिटो अभ्यास थाल्नुपर्ने बताए ।
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले हाइड्रोजन इन्धनको उत्पादन र विकासमा हामी पहिलेदेखि नै सक्रिय र आउँदा दिनमा पनि लगानी, अनुसन्धान र विकास गर्ने कुरालाई प्राथमिकतामै राखेको जानकारी दिए । पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले हाइड्रोजन इन्धनको विकास गर्न अरूको भर पर्ने वा अन्य देशको विकासलाई कुरेर बस्न नहुने बताएका थिए ।