१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार ११:२३:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

देशभित्र लोकप्रियता र पश्चिमाको विश्वास घुमाउँदै राष्ट्रपति लुला 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार ११:२३:oo

संयुक्त राज्य अमेरिकाले इरानी आणविक स्थलमा विशाल ‘बंकर–बस्टर’ बम प्रहार गरेको केही घण्टापछि जुन २२ मा ब्राजिलको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा अमेरिकी आक्रमणको ‘कडा निन्दा’ गरिएको थियो र हमला ‘इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ भएको उल्लेख थियो । यस्तो भाषा शक्तिले ब्राजिललाई अन्य पश्चिमी लोकतन्त्रभन्दा फरक देखायो, जसले या त सो हमलालाई समर्थन गरेका थिए वा चिन्ता जाहेर गरेका थिए ।

जुलाई ६ र ७ मा ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिकासहित ११ उदीयमान अर्थतन्त्रको समूह ‘ब्रिक्स’को शिखर सम्मेलन रियो दि जेनेरियोमा आयोजना हुदैँछ । सन् २०२४ मा ब्रिक्सको सदस्य बनेको इरानले सम्मेलनमा प्रतिनिधिमण्डल पठाउने अपेक्षा गरिएको छ । समूहको अध्यक्षता हाल ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले गरिरहेका छन् । मूल रूपमा, सदस्य भएको कारणले ब्रिक्सले ब्राजिललाई विश्वव्यापी प्रभाव पार्ने प्लेटफर्म प्रदान गरेको थियो । 

तर, समुहमा संलग्न भएका कारण ब्राजिल पश्चिम विरोधी देखिदैं पनि गएको छ । ‘चीनले ब्रिक्सलाई आफ्नो विदेश नीतिको औजारको रूपमा जति धेरै रूपान्तरण गर्छ र युक्रेनमा आफ्नो युद्धलाई वैधानिक बनाउन रुसले ब्रिक्सलाई जति धेरै प्रयोग गर्छ, ब्राजिललाई आफू असंलग्न भएको भन्न त्यति नै गाह्रो हुनेछ,’ साओ पाउलोको विश्वविद्यालय फन्डाकाओ गेटुलियो वर्गासका माटियास स्पेक्टर भन्छन् ।

ब्राजिलका कूटनीतिज्ञले शिखर सम्मेलनलाई सामान्य  विषयमा केन्द्रित गरेर समस्या समाधान गर्न खोजिरहेका छन् । खोप र स्वास्थ्य सेवामा सहयोग, हरित–ऊर्जा संक्रमण र अन्तर्राष्ट्रिय व्यापारको आधारको रूपमा सबैभन्दा मनपर्ने राष्ट्रको स्थिति कायम राख्नु, जहाँ देशहरूले विश्व व्यापार संगठनका सबै सदस्यलाई समान रूपमा व्यवहार गर्छन् । उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नरुचाउने विषयाई पन्छाउन चाहिरहेका छन् । यसमा धेरैको नजर छ– डलरको सट्टा स्थानीय मुद्रामा व्यापार गर्ने ब्रिक्स–नेतृत्वको प्रयासमाथि । 

सायद ब्राजिलका कूटनीतिज्ञहरू इरानी प्रतिनिधिमण्डल सम्मेलनमा मौन रहुन् भन्ने चाहन्छन् । ‘हामी अहिले क्षति न्युनिकरणको क्षणमा छौँ,’ एक वरिष्ठ ब्राजिलियन कूटनीतिज्ञ भन्छन् । प्राय धेरै अधिनायकवादी–शासन भएका देश सदस्य रहेको ब्रिक्समा ब्राजिलको भूमिका लुलाको बढ्दो असंगत विदेश नीति झल्किन्छ । 

डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि लुलाले अमेरिकासँग सम्बन्ध स्थापित गर्न प्रयास गरेका छैनन् । दुईजना व्यक्तिले कहिल्यै व्यक्तिगत रूपमा भेटेको रेकर्ड छैन । अर्थात्, ब्राजिललाई सबैभन्दा ठुलो अर्थतन्त्र बनाएका नेता लुलाले अमेरिकाका राष्ट्रपतिसँग हात मिलाएका छैनन् । बरु लुला चीनप्रति नरम देखिन्छन् । उनले गत वर्ष दुईपटक चीनका राष्ट्रपति सी जिनपिङलाई भेटे ।

सायद लुला व्यापार साझेदारको रूपमा अमेरिकामाथि विश्वको विश्वास गुमेको अवस्थाको फाइदा उठाउने प्रयास गर्दैछन् । उनले युरोपसँग घुलमिल भएर व्यापार सम्बन्ध विस्तार गरेका छन् । मार्च महिनामा उनले जापानको भ्रमण गरे । जापानले आफ्नो देशमा प्रयोग हुने अधिकांश गाईको मासु संयुक्त राज्य अमेरिकाबाट आयात गर्छ । भ्रमणका क्रममा उनले ब्राजिलियन मासुलाई विकल्पको रूपमा पेस गरे । उनका मन्त्रीहरूले ब्राजिलियन कृषि आयात बढाउने तरिकाबारे छलफल गर्न चिनियाँ अधिकारीसँग भेट गरिरहेका छन् ।

तर, यी भेट यस्तो भव्यताका साथ आएको छ, जुन विश्व मञ्चमा ब्राजिलको ‘वेट’सँग मेल नखाने खालको छ । मे महिनामा लुला दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मस्कोले आयोजना गरेको महत्वपूर्ण स्मरण सभामा उपस्थित हुने ठुला लोकतन्त्रका एक मात्र नेता थिए । भ्रमणका क्रममा उनले पुटिनलाई युक्रेनमा युद्धको अन्त्यका लागि मध्यस्थताको प्रयास गर्ने संकेत गरे । तर, उनको कुरालाई न पुटिन सुने न अन्य नेताले नै ।

छिमेकी देशसँग पनि ब्राजिलको व्यावहारिक संलग्नता घटेको छ । वैचारिक भिन्नताका कारण लुलाले आफ्ना अर्जेन्टिनी समकक्षी जेभियर मिलेसँग कुरा गर्दैनन् । सन् २०२३ मा तेस्रोपटक पदभार ग्रहण गर्दा उनले भेनेजुएलाका निरंकुश शासक निकोलस मादुरोलाई अँगालो हाले (मादुरोले गत वर्ष अर्को चुनावमा धाँधली गरी सत्ता हत्याएपछि मात्र सम्बन्धमा चिसोपन आएको छ ।) 

सन् २०१० मा भूकम्पले देशलाई तहसनहस पारेपछि हैटीलाई स्थिर बनाउने संयुक्त राष्ट्र संघको अभियानको नेतृत्व ब्राजिल गरेको थियो । अहिले सो देशप्रति उ मौन छ । अहिले हैटीमा कुनै दलभन्दा गुन्डा समूहको बढि प्रभाव देखिन्छ । ट्रम्पको आप्रवासी निर्वासन र शुल्क युद्धविरुद्ध ब्राजिल ल्याटिन अमेरिकी राष्ट्रलाई एकजुट गर्न अनिच्छुक वा असमर्थ देखिन्छन् ।

विश्व मञ्चमा कमजोर लुलाको स्वदेशमा पनि लोकप्रियतामा र्‍हास आएको छ । राष्ट्रपतिको रूपमा पहिलो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म उनी विश्वका सबैभन्दा लोकप्रिय नेतामध्ये एक थिए । घरेलु लोकप्रियताको शक्तिले लुलालाई विदेशमा विश्वसनीयता प्रदान गर्‍यो । धेरैले उनलाई द्रुत–विकासशील अर्थतन्त्रका लागि एक प्रमुख व्यक्तित्वको रूपमा देखे ।

तर, अब लुला ब्राजिलमा बढ्दो रूपमा अलोकप्रिय छन् । धेरै ब्राजिलियनले उनको वर्कर्स पार्टीलाई भ्रष्टाचारसँग जोड्छन् । एक काण्डका कारण उनी एक वर्षभन्दा बढी समय कारागारमा बस्न बाध्य भए । पछि उनको सजाय रद्द भएको थियो । ट्रेड युनियन, सामाजिक कल्याणकारी सोच भएका क्याथोलिकहरू र सरकारी सहायता पाउने विपन्र्नहरूको समर्थनमा उनले पार्टी निर्माण गरेका थिए । तर, आज ब्राजिल एउटा यस्तो देश हो, जहाँ कट्टर इसाई धर्म फस्टाउँदै छ । त्यस्तै, कृषिमा रोजगारी र अर्थतन्त्र द्रुत गतिमा बढिरहेको छ ।

लुलाको व्यक्तिगत स्वीकृति मूल्यांकन ४० प्रतिशतआसपास छ, जुन उनको तीन कार्यकालको अवधिको कुनै पनि बिन्दुको सबैभन्दा कम हो । ब्राजिलका २८ प्रतिशत जनताले मात्र उनको सरकारलाई अनुमोदन गरेको बताएका छन् । जुन २५ मा नयाँ कर बढाउनेसम्बन्धि उनको कार्यकारी आदेशलाई अस्वीकार गरेर कंग्रेसले एक हिसाबले उनलाई अपमानित गर्‍यो । ३० वर्षभन्दा बढी समयपछि पहिलोपटक सांसदहरूले कार्यकारी आदेशलाई उल्ट्याएका हुन् । यसले अर्को वर्षको आमचुनावअघि खर्च गर्न सरकारलाई कम वित्तीय स्थान दिनेछ ।

ब्राजिलको कट्टर दक्षिणपन्थी अभियान ट्रम्पको ‘अमेरिकालाई फेरि महान् बनाउने (मागा)’ आन्दोलनसँग मिल्दोजुल्दो छ । ब्राजिलको कट्टर दक्षिणपन्थी अभियानको नेतृत्व पूर्वराष्ट्रपति जैर बोल्सोनारोले गरेका छन् । कतिपयले उनलाई ब्राजिलका डोनाल्ड ट्रम्पसमेत भन्ने गर्छन् । सन् २०२२ मा चुनाव हारेपछि सत्तामा रहनका लागि कुको षड्यन्त्र रचेको आरोपमा बोल्सोनारोमाथि मुद्दा चलिरहेको छ । त्यस मुद्दामा उनलाई चाँडै जेल सजाय हुने सम्भावना छ । उनले दक्षिणपन्थी नेतृत्वका लागि उत्तराधिकारी नियुक्त गरेका छैनन् । यदि उनले उत्तराधिकार नियुक्ति गरे र २०२६ मा हुने चुनावअघि दक्षिणपन्थीले ती व्यक्तिलाई समर्थन जनाए पनि राष्ट्रपति पद उनीहरूको हुनेछ ।

ट्रम्पले लुलाजस्ता नेताकोभन्दा आफूसँग मित्रवत् रहने नेताहरूको बढि आलोचना गर्छन् । उनले जनवरीमा पदभार ग्रहण गरेदेखि ब्राजिलबारे लगभग केही भनेका छैनन् । संयुक्त राज्य अमेरिकासँग ब्राजिलको भारी व्यापार घाटा छ (प्रतिवर्ष ४३० अर्ब) । ट्रम्पलाई अन्य देशले संयुक्त राज्य अमेरिकाबाट बढी किनेको पक्कै पनि मन पर्छ । तर, उनको मौनताको कारण ब्राजिल, अपेक्षाकृत रूपमा टाढा र भूराजनीतिक रूपमा निष्क्रिय भएकाले पनि हुन सक्छ । युक्रेन वा मध्य पूर्वमा युद्धको प्रश्नहरूमा उसले त्यति फरक पार्दैन । लुलाले निष्क्रय भएको बहाना गर्न बन्द गर्नुपर्छ र आफ्ना छिमेकी देशमा भइरहेका मामिलामा ध्यान केन्द्रित गर्नुपर्छ ।

–इकोनोमिस्टबाट