१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
अलपत्र परेको हुलाकी राजमार्गको पुल । तस्बिर : नयाँ पत्रिका 
२o८२ असार २० शुक्रबार १o:o९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१४ वर्षदेखि अलपत्र कन्काई पुल

ठेक्का तोड्ने तयारीपछि काम गर्ने प्रतिबद्धता, तर वर्षभरि ७ प्रतिशत मात्र प्रगति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १o:o९:oo

हुलाकी राजमार्गअन्तर्गतको कन्काई पुल निर्माणको जिम्मा पाएको कम्पनीले १४ वर्षदेखि अलपत्र पारेपछि गत माघमा सरकारले ठेक्का तोड्ने तयारी गर्‍यो । ठेक्का तोड्ने तयारी गरेको थाहा पाएपछि पुल निर्माणको जिम्मा पाएको पप्पु र महादेव खिम्ती जेभीले काम गर्ने प्रतिबद्धता जनाए । ठेकेदारले प्रतिबद्धता जनाएपछि सरकार ठेक्का तोड्नबाट पछि हट्यो । तर, कामको गति भने अझै सुस्त छ । काम गर्ने समय बर्खाअघि पुल निर्माणको प्रगति करिब ७ प्रतिशत मात्र रहेको हुलाकी सडक राजमार्ग आयोजना कार्यालय इटहरीले जनाएको छ । यो एक वर्षभित्रको काम हो । जेठ लागेपछि पुल निर्माणको काम रोकिएको छ । बर्खामा काम गर्न गाह्रो भएकाले काम रोकिएको आयोजनाले जनाएको छ ।  

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका र झापा गाउँपालिका जोड्ने कन्काई माई नदीको सात सय मिटर लामो पुल ३१ जेठ ०६८ मा पप्पु र महादेव खिम्ती जेभीले २९ जेठ ०७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेका थिए । सात सय २५ मिटर लम्बाइ रहेको पुल बनाउन ३४ करोड नौ लाख रुपैयाँमा सम्झौता भएको थियो । सुरुमा पप्पुले काम गर्‍यो । तर, पुल अलपत्र बनाएपछि पछिल्लो समय निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी महादेव खिम्तीले काम अघि बढायो । तर, यो कम्पनीको पनि काम सुस्त छ । पाँचौँपटक थपिएको म्याद ०८० असारमै सकिएपछि म्याद थपिएको छैन । यो अवधिमा करिब ६२ प्रतिशत मात्र काम सकिएको हुलाकी सडक आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए । 

गत माघमा झापामा भएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ठेक्का तोड्ने तयारी गरेपछि पुरानै निर्माण कम्पनीले काम थालेको बताएका थिए । उसले सरकारलाई काम भइरहेको देखाउन काम गर्ने समय अवधिभरि कामदार मात्र त्यहाँ राखेको थियो । ‘हिउँददेखि नै चार–पाँचजना काम गर्ने मान्छे राखेका थिए । त्यहाँभन्दा धेरै कहिल्यै कामदार ल्याएका छैनन् । यहाँ मन्त्रीदेखि नेतासम्म आएर हेरेपछि काम भइरहेको छ भन्ने देखाउनलाई चार–पाँचजना मान्छे ल्याएका हुन् । तर, कामचाहिँ गर्दैनन्,’ गौरीगन्ज– १ का स्थानीय चैतलाल कोच भन्छन्, ‘यो हामी जनताको आँखामा छारो हाल्ने कामबाहेक केही पनि हैन । यस्तो तरिकाले त काम सक्नलाई अझै २० वर्ष लाग्छ ।’

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षण गर्दा पुलमा भएको काममा प्राविधिक त्रुटि देखाएको थियो । आयोजनाले पुल्चोक क्याम्पसको विज्ञ टोली लगेर अध्ययन गरेको थियो । निर्माण व्यवसायीले त्यो प्रतिवेदनका आधारमा सच्याउने काम गरेको आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए । ‘प्रतिवेदनका आधारमा त्यसलाई सच्याउने काम भएको छ । दुई स्ल्यापको ढलान पनि भएकोे छ । यो वर्ष करिब ७ प्रतिशत काम भएको छ,’ उनले भने, ‘बर्खा लागेपछि त्यहाँ काम गर्न सम्भव भएन । गाडी जान सकेन । तसर्थ, जेठदेखि काम रोकिएको छ ।’ अब बर्खा सकिएपछि पनि काम तीव्र गतिमा अघि बढेन भने ठेक्का तोड्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए ।  

प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको गृहजिल्लामा पर्ने यो पुल वर्षौँदेखि अलपत्र हुँदा पनि निर्माण व्यवसायीसामु सरकार निरीह छ । काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्न सक्दैन । समयमा कन्काई पुल नबनेपछि स्थानीयले जोखिपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गरिरहेका छन्, त्यो पनि पैसा तिरेर । गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल निर्माण र बर्खामा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजारमा स्थानीय ईश्वर माझीलाई ठेक्का दिएको छ । माझीले हिउँदमा बाँसको लामो पुल बनाएका थिए । जसबापत उनले मोटरसाइकलमा यात्रा गर्नेलाई ५० रुपैयाँ र साइकलमा यात्रा गर्नेलाई ३० रुपैयाँ लिन्छन् । बर्खा लागेपछि डुंगा चलाएका छन् । उनले डुंगामा मोटसाइकल तारेको १५०, साइकल मान्छेको ५० रुपैयाँ र मान्छेको ३० देखि ५० रुपैयाँ लिँदै आएका छन् । ‘यहाँ दैनिक दुई सयभन्दा धेरै मान्छे हिँड्छन् । तर, पुलको काम कहिल्यै सकिँदैन । यसपटक चार–पाँचजना मान्छे ल्याएर गरेका थिए,’ पुलछेउमा पसल गर्दै आएका बाङ्ठु महतो भन्छन् ।’