
बागमती प्रदेश सभाको बैठक बिहीबार दोस्रोपटक पनि सारिएको छ। चालू आर्थिक वर्षको बजेटमाथि छलफलका लागि बोलाइएको बैठक दलहरूबिच सहमति नजुटेपछि पुनः सारिएको हो।
यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै दिउँसो २ बजेका लागि सारिएको थियो। २ बजेका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि पुनः सारिएको हो।
अब बैठक आजै ५ बजे बस्ने बताइएको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सार्ने निर्णय भएको जनाएको छ।
यसअघि असार १२ गतेका लागि तय गरिएको बैठकसमेत स्थगित गरी पछि सारिएको थियो। प्रदेश सभामा बजेटमाथिको छलफल र सम्भावित संशोधनका विषयमा महत्त्वपूर्ण बहस हुने कार्यसूची तय गरिए पनि दलहरूबिच बजेटका विषयमा अझै सहमति बन्न सकेको छैन ।
प्रदेश सभा बैठक सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख पाठकसहित प्रमुख दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। बजेटमा देखिएको असहमति र दलहरूबिचको समन्वय अभावले बैठक पटकपटक सारिँदै आएको हो।