१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १४:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जगदम्बा स्टिल्सको भट्टी पड्किँदा एकजना घाइते, अफवाह नफैलाउन उद्योगको अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका– २ स्थित जगदम्बा स्टिल्स लिमिटेडको स्टिल उत्पादन प्लान्टमा बुधबार राति अचानक भट्टी पड्किँदा एकजना कामदार घाइते भएका छन्। घटनाबारे विस्तृत जानकारीअनुसार बुधबार राति करिब ९:१५ बजे सिसिएम प्लान्टमा कच्चा फलाम पगाल्ने क्रममा ३० टन क्षमताको भट्टी अचानक पड्किएको हो । सो क्रममा भारतको बिहार राज्य, समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाइते भएका हुन्। उनी हाल वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचाररत छन् ।

भट्टी पड्किएसँगै प्लान्टभित्र आगलागी भएको र त्यसबाट ठुलो मात्रामा भौतिक क्षति पुगेको बताइएको छ । यद्यपि, अन्य मानवीय क्षति भने नभएको स्पष्ट गरिएको छ । घटनापछि तत्कालै सुरक्षाकर्मी, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थल पुगेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले समेत घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरेका थिए । उनले घटनामा एकजना मात्रै घाइते भएको पुष्टि गर्दै अन्य कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारे।

अफवाहप्रति गम्भीर आपत्ति
घटनापछि विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अफवाहपूर्ण र अपुष्ट खबरहरू प्रकाशित–प्रसारित भइरहेकोप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण गराएको छ । जगदम्बा स्टिल्स लिमिटेडले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आधिकारिक पुष्टि नगरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मी, सञ्चार संस्था र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति हार्दिक अपिल गरेको छ । कम्पनीले संवेदनशील विषयमा अफवाह फैलाउँदा उद्योग र स्थानीय वातावरण दुवैमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

उद्योग विस्थापनको चिन्ता
कम्पनीले विगतमा पनि सञ्चारमाध्यममा निराधार खबरहरू प्रसारण हुँदा पथलैया–वीरगन्ज करिडोर क्षेत्रमा रहेका उद्योग विस्थापित हुने अवस्था आएको उल्लेख गरेको छ । ‘एकातर्फ यहाँ उद्योग विस्थापित भइरहेका छन् भने अर्कातर्फ भैरहवा–बुटवल क्षेत्रमा भने उद्योग थपिँदै गएका छन्,’ एक अधिकारीले भने, ‘यस क्षेत्रको औद्योगिक भविष्य र लगानीमैत्री वातावरणमा नकारात्मक असर पुग्ने खालका समाचार प्रकाशन गर्नु दुर्भाग्यपूर्ण छ।’

उद्योगहरूमाथि नकारात्मक प्रभाव पर्ने खालका समाचारहरू फैलिँदा यस क्षेत्रका लाखौँ मजदुर रोजगारी गुमाउने खतरा रहेको बताएका छन् । उनीहरूको भनाइमा साना व्यवसाय, पसल र दैनिक श्रममा आश्रित जनताको जीवनमा समेत असर पर्ने खतरा छ ।

अनुसन्धान जारी
कम्पनी र स्थानीय प्रशासन दुवैले घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।  घटनाको यथार्थ विवरण आउन बाँकी रहेकाले पुष्टि नभएका सूचनामा विश्वास नगर्न सबैलाई आग्रह गरिएको छ। प्रशासन र कम्पनीले पुष्टि नभएका सूचना वा अफवाहमा विश्वास नगर्न र आधिकारिक जानकारी प्राप्त गर्न अपिल गरेका छन् ।